विश्वका ठूला टेक कम्पनी हाँक्दै भारतीय मूलका सीईओ

काठमाडौँ — विश्वका ठूला टेक्नोलोजी कम्पनीहरूको शीर्ष पदमा भारतीय मूलका अधिकारीहरूको सूची लम्बिँदै गएको छ । गुगल, माइक्रोसफ्ट, एडोबी, आईबीएम, पाल अल्टो नेटवर्कस् पछि अब अर्काे टेक जायन्ट ट्वीटरमा पनि भारतीय मूलकै युवाले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा नेतृत्व सम्हाल्ने भएका छन् । 

विश्वका ठूला टेक कम्पनी हाँक्दै भारतीय मूलका सीईओ

मंगलबार ट्वीटरका सीईओ ज्याक डोर्सीले पदबाट राजीनामा दिँदै नयाँ सीईओका रूपमा पराग अग्रवालको प्रशंसा र स्वागत गरेका थिए । ‘यो कम्पनीलाई अघि बढाउने हरेक महत्वपूर्ण निर्णयका पछाडि परागको हात छ,’ ट्वीटरलाई पठाएको इमेलमा डोर्सीले लेखेका छन्, ‘उनी जिज्ञाशु, उत्सुक, तार्किक, रचनात्मक, सचेत र नम्र छन् । उनी मन र आत्माले नेतृत्व गर्छन्, मैले उनीबाट प्रत्येक दिन सिकेको छु ।’

परागको नियुक्तिसँगै सिलिकन भ्यालीका अन्य ठूला टेक्नोलोजी फर्ममा रहेका भारतीय मूलका उच्च पदस्थहरूको चर्चा शुरु भएको छ । हाल माइक्रोसफ्टमा सत्य नडेला, गुगलमा सुन्दर पिचाई, आईबीएममा अर्विन्द कृष्ण, एडोबीमा सान्तनु नारायण, पाल अल्टोमा निकेश अरोरा र भीएमवेरमा रघुराम सीईओ छन् ।

पराग अग्रवाल बने ट्विटरका नयाँ सीईओ

‘भारतीय प्रतिभाबाट संयूक्त राज्य अमेरिकाले धेरै फाइदा उठाइरहेको छ,’ स्पेस–एक्सका संस्थापक एवम् टेस्लाका सीईओ एलन मस्कले मंगलबार ट्वीट गरी यस्तो जवाफ दिएका थिए । आइरिस–अमेरिकी फिनटेक कम्पनी स्ट्राइपका सीईओ प्याट्रिक कोलिसनले मंगलबार प्रविधि क्षेत्रमा भारतीयहरूको सफलताप्रति खुसी जनाउँदै ट्वीट गरेका थिए । उद्योगी आनन्द महिन्द्राले त्यसमा जवाफ दिँदै ‘भारतीय सीईओ भाइरस’ बताएका थिए ।

‘यो एक महामारी हो जुन भारतमा उत्पत्ति भएकोमा हामी खुसी र गौरवान्वित छौं,’ महिन्द्राले लेखेका छन्, ‘यो भारतीय सीईओ भाइरस हो यसविरुद्ध कुनै खोपको आवश्यकता छैन ।’

अन्य देशका प्रतिभा यसरी शीर्ष पदमा पुग्नुलाई कतिपयले अमेरिकाले आप्रवासीलाई प्रदान गरेको अवसरका रूपमा अथ्र्याएका छन् भने केहीले भारतीयहरू विदेशमा ‘टेक स्लेभ’ भइरहेको भन्दै आलोचना गरेका छन् । विश्वका ठूला कम्पनीहरू भारतीय युवाले हाँक्नुलाई सूचना प्रविधि क्षेत्रमा भारतले मारेको ठूलो फड्कोका रूपमा पनि हेरिएको छ ।


प्रकाशित : मंसिर १४, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?