१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

‘विदेशी मुद्रा स्वदेशमै राख्न पुनर्बिमामा बाध्यात्मक नीति’

सञ्चारमाध्यम र बिमक संघका केही पदाधिकारीबाट आएका धारणाप्रति बिमा समितिको ध्यानाकर्षण

काठमाडौँ — जोखिम एकै स्थान र क्षेत्रमा केन्द्रित गर्न नहुने बिमाको सिद्धान्तविपरीत स्वदेशी कम्पनीमा मात्र पुनर्बिमा गर्नुपर्ने निर्देशनको बिमा समितिले बचाउ गरेको छ । उक्त निर्देशनको चौतर्फी विरोध भएपछि समितिले सोमबार ध्यानाकर्षणपत्र जारी गर्दै विदेशी मुद्रा स्वदेशमै राख्न बाध्यात्मक नीति जारी गर्नुपरेको प्रस्ट्याएको हो ।

‘विदेशी मुद्रा स्वदेशमै राख्न पुनर्बिमामा बाध्यात्मक नीति’

यस विषयमा निजी क्षेत्रका संघसंगठन, बिमा कम्पनी र बिमा विज्ञहरूले विरोध गर्दै आएका छन् । जीवन बिमा कम्पनी र निर्जीबन बिमा कम्पनीका संघहरूले आइतबार छुट्टाछुट्टै बैठक बसेर उक्त विषयमा नियामक निकायसमक्ष आफ्नो धारणा राख्ने निर्णयसमेत गरेका छन् ।

समितिले पुनर्बिमाका सम्बन्धमा हालै बिमा कम्पनीहरूलाई दिएको निर्देशनलाई लिएर विभिन्न सञ्चार माध्यम र बिमक संघका केही पदाधिकारीबाट आएका धारणाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । आफ्नो निर्देशनलाई एकतर्फी रूपमा आफूखुसी रूपमा व्याख्या गरी जनमानस र सिंगो बिमाक्षेत्रलाई नै दिग्भ्रमित पार्ने काम भएको भन्दै यस्तो कदमलाई यथार्थहीन र भ्रमपूर्ण जानकारी भन्दै खेद प्रकट गरेको छ ।

‘देशमा हाल पुनर्बिमा व्यवसायको एकाधिकार अन्त्य भई दुईवटा पुनर्बिमा कम्पनी सञ्चालनमा रहेका कारण प्रतिस्पर्धी रूपमा पुनर्बिमा व्यवसाय गर्न सकिने अवस्था सिर्जना भएको र हाल मुलुकमा वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको तर पुनर्बिमाबापत ठूलो रकम बिदेसिने गरेकाले वैदेशिक मुदा सञ्चितिमा समेत योगदान पुर्‍याउनुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको हो,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।

बिमा ऐन, २०४९ र बिमा नियमावली, २०४९ मा भएका व्यवस्थाबमोजिम समितिले बिमकले आफूले आर्जन गरेको बिमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष हिस्साका सम्बन्धमा हालको व्यवस्था कायम राखी प्रत्यक्ष हिस्सास्वरुप प्रदान गरिएको पुनर्बिमाबाहेक बाँकी हुन आउने सबै पुनर्बिमा व्यवसाय स्वदेशी पुनर्बिमकहरूलाई प्रदान गर्ने व्यवस्था गरिएको छ ।

‘कुनै स्वदेशी पुनर्बिमकले न्यून आर्थिक क्षमताका कारण पुनर्बिमा गर्न नसकेको खण्डमा त्यसरी नसकेको अंशको पुनर्बिमा ‘पुनर्बिमा निर्देशिका, २०७८’ मा भएको व्यवस्थाबमोजिम योग्यता पुगेका विदेशी पुनर्बिमा कम्पनीसँग गर्न पाइने व्यवस्थासमेत गरिएको छ,’ पत्रमा भनिएको छ, ‘स्वदेशी पुनर्बिमा कम्पनीलाई उनीहरूको आर्थिक क्षमताले नधान्ने पुनर्बिमा व्यवसाय पनि जबर्जस्ती उनीहरूलाई नै दिनुपर्ने बाध्यात्मक व्यवस्था बिमा समितिको निर्देशनबाट सिर्जना भएको भन्ने विभिन्न सञ्चार माध्यममार्फत व्यक्त धारणा कुत्सित मनसायका साथ आम जनमानसमा भ्रम सिर्जना गर्ने र बिमा एवं पुनर्बिमा व्यवसायको विकासलाई अवरुद्ध गर्ने नियोजित उद्देश्यका साथ आएका हुन् ।’

समितिले गत साता निर्देशन जारी गरेर स्वदेशी कम्पनीमा मात्र पुनर्बिमा गर्नुपर्ने व्यवस्था गरेको छ । ‘प्रत्यक्ष हिस्सास्वरूप प्रदान गरिएको पुनर्बिमाबाहेक बाँकी हुन आउने सबै पुनर्बिमा व्यवसाय स्वदेशी पुनर्बिमकहरूलाई प्रदान गर्ने,’ निर्देशनमा भनिएको छ । निर्देशनअनुसार अब बिमा कम्पनीहरूले नेपालमा रहेका पुनर्बिमा कम्पनीमा मात्र पुनर्बिमा गर्नुपर्नेछ । स्वदेशी पुनर्बिमा कम्पनीले अस्वीकार गरेको अवस्थामा मात्र कम्पनीहरूले विदेशी कम्पनीमा पुनर्बिमा गर्न पाउनेछन् ।

हाल नेपाल पुनर्बिमा र हिमालयन पुनर्बिमा गरी दुई कम्पनी सञ्चालनमा छन् । ती कम्पनीको व्यापार सुरक्षित गरिदिन विदेशी कम्पनीसँग पुनर्बिमा गर्न नपाइने निर्देशन बिमा समितिबाट आएको कम्पनीहरूको आरोप छ ।

प्रकाशित : मंसिर १४, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?