‘विदेशी मुद्रा सञ्चिति घटेकाले स्वदेशी कम्पनीमै पुनर्बीमाको बाध्यकारी व्यवस्था’ - अर्थ / वाणिज्य - कान्तिपुर समाचार

‘विदेशी मुद्रा सञ्चिति घटेकाले स्वदेशी कम्पनीमै पुनर्बीमाको बाध्यकारी व्यवस्था’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — बीमा समितिले स्वदेशमै पुनर्बीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिनुको कारणबारे स्पष्ट पारेको छ । समितिले सोमबार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै वैदेशिक मुद्रा सञ्चितिमा योगदान गर्न यो व्यवस्था गरिएको स्पष्ट पारेको छ ।

पत्रमा भनिएको छ ‘हाल मुलुकमा वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको तर पुनर्बीमावापत ठूलो रकम विदेशिने गरेकाले वैदेशिक मुद्रा सञ्चितिमा योगदान पुऱ्याउनुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको जानकारी गराउन चाहन्छौं ।’ स्वदेशी पुनर्बीमा कम्पनीले अस्वीकार गरेमा मात्रै विदेशमा पुनर्बीमा गर्न पाउने व्यवस्था समितिले गरेको छ ।

‘स्वदेशको पैसा देशभित्रै रहोस भन्न यो निर्देशन जारी गरिएको हो,’ समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘पुनर्बीमा कम्पनीले पनि अर्को पुनर्बीमासँग बीमा गर्नुपर्ने भएकाले जोखिम स्थातान्तरण नहुने भन्ने हुँदैन ।’

उता बीमा कम्पनीहरुले भने स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने बाध्यकारी व्यवस्थाले जोखिम विविधीकरण हुन नसक्ने भन्दै विरोध जनाएका छन् । बीमा कम्पनीहरुले एकै क्षेत्रमा जोखिम केन्द्रित गर्नु अर्थतन्त्र र बीमाको विश्वव्यापी सिद्धान्तविपरित भएको भन्दै सच्याउन माग गरेका छन् ।

‘कुनै पनि पक्षबाट यो निर्देशन व्यवहारिक छैन, स्वदेशी पुनर्बिमा कम्पनीले मात्र जोखिम वहन गर्न सक्दैनन्, ती कम्पनीलाई विदेशी पुनर्बिमा कम्पनीले विश्वास गर्दैनन्  । त्यसैले विविध कारणले समितिको निर्देशन उपयुक्त छैन,’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने । हाल स्वदेशमा दुई पुनर्बीमा कम्पनी मात्रै संचालनमा छन् । यस्तोमा यी कम्पनीको एकाधिकार समेत हुने बीमा कम्पनीको दावी छ ।


प्रकाशित : मंसिर १३, २०७८ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्

अस्ट्रेलियाद्वारा अन्तर्राष्ट्रिय सिमाना खोल्ने निर्णय रद्द, विदेशी विद्यार्थी तत्काल आउन नपाउने

यो निर्णयसँगै यही बुधबारदेखि अस्ट्रेलिया आउनका लागि तयारी अवस्थामा बसेका सयौं नेपाली विद्यार्थी समेत प्रत्यक्ष प्रभावित बनेका छन् ।
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले यही बुधबारदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन बारे थप जानकारी लिनुपर्ने भन्दै अस्ट्रेलियाले दुई साता सीमानाका बन्द गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री स्कट मरिसनले केहीदिनअघि यही बुधबारदेखि विदेशी विद्यार्थीसहित दक्ष कामदारलाई अस्ट्रेलिया भित्र्न दिने निर्णय गरेका थिए । 

सरकारले अफ्रिकी मुलकबाट भित्रिएको ओमिक्रोन भेरियन्टका बारेमा थप जानकारी लिनका लागि यो निर्णय लिइएको जनाएको छ । सरकारको यो निर्णयसँगै यही बुधबारदेखि अस्ट्रेलिया आउनका लागि तयारी अवस्थामा बसेका सयौं नेपाली विद्यार्थी समेत प्रत्यक्ष प्रभावित बनेका छन् । डिसेम्बर १ तारिखदेखि सीमा खोल्ने निर्णय भएसँगै टिकट काटेर बसेका विद्यार्थीले अहिलेको सरकारको निर्णय अनुसार कम्तिमा पनि डिसेम्बर १५ तारिखसम्म अस्ट्रेलिया प्रवेश पाउने छैनन् ।

सरकारको यो निर्णय अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका विदेशी नागरिकलाई लागू भएपनि अस्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा, उनीहरुका नजिकका नातेदार लगायतलाई भने लागू नहुने समाचारमा जनाइएको छ ।

अस्ट्रेलियाले आफ्नो योग्य जनसंख्याको ८५ प्रतिशतभन्दा धेरैले दोहोरो खोप लगाएपछि बुधबारदेखि विभिन्न २८ किसिमका अस्ट्रेलियाली भिसा भएका र मान्यता प्राप्त दोस्रो खोप लगाइसकेका विदेशीलाई अस्ट्रेलिया आउन दिने निर्णय गरेको थियो । जसमा विद्यार्थीका साथै दक्ष कामदार, शरणार्थी, वर्किङ होलिडे लगायतका थिए । तर, सोमबार बसेको राष्ट्रिय सुरक्षा कमिटीको बैठकले यो निर्णयलाई तत्कालका लागि रोक्ने निर्णय गरेको हो । यस समयभित्रमा नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा जानकारी लिनुका साथै खोपको प्रभावकारीता, यस भाइरबाट हुनसक्ने प्रभाव र संक्रमणको दर लगायतका बारेमा अध्ययन गरिने उल्लेख गरिएको छ ।

अस्ट्रेलियामा रहेका नेपाली व्यवसायीले नेपालबाट आउनका लागि टिकट लिइसकेका विद्यार्थीलाई सरकारको आदेशको पालना गर्न सुझाव दिएका छन् । उनीहरुले नेपालबाट अस्ट्रेलिया आउनका लागि सयौं विद्यार्थीले टिकट लिइसकेको भएपनि यहाँस्थित सरकारको निर्णय र नेपालमा रहेको अस्ट्रेलियाली दूतावासको सूचनालाई आधिकारिक मानेर निर्णय गर्न समेत सुझाएका छन् । सिड्नीका व्यवसायी अर्जुन थपलियाले अस्ट्रेलिया आउनका लागि हत्तारिनुभन्दा पनि सरकारको निर्णय र सर्तलाई पालना गरेर अस्ट्रेलिया आउन आग्रह गरे । ‘हो धेरै विद्यार्थीले टिकट लिइसक्नुभएको छ तरपनि अहिलेको परिस्थितीमा कम्तिमा पनि दुई साता अस्ट्रेलिया आउन सम्भव छैन भन्ने बुझ्न आवश्यक छ, ’ उनले कान्तिपुरसँग भने ।

प्रकाशित : मंसिर १३, २०७८ १८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×