चाँडै अनलाइनहरूले सरकारी विज्ञापन पाउँछन् : अर्थमन्त्री शर्मा- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

चाँडै अनलाइनहरूले सरकारी विज्ञापन पाउँछन् : अर्थमन्त्री शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । 

मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मूल्यांकन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडी बढ्ने बताए । उनले त्यसको लागि प्रेस सेन्टरले पनि थप पहल गर्दा अझ चाँडै प्रक्रिया अगाडी बढ्न सक्ने बताए ।

मन्त्री शर्माले भने,‘सरकारले अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ । त्यो हुादा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरुले सरकारी विज्ञापन पाउने छन्। कार्यविधि र मूल्यांकनको काम अगाडी बढाउन प्रेस सेन्टरले वातावरण बनाउनु पर्छ । यो कामको सुरुवात गर्न प्रसे सेन्टरलाई आग्रह छ । अन्य पत्रकारहरुको क्षमता अभिवृद्धि, तालिमहरुको लागि सरकार सहकार्य गरी सहयोग गर्न तयार रहेको छ ।’

प्रकाशित : मंसिर १३, २०७८ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्

'एउटा गीत गाउनै बाँकी छ, विधिको शासन ल्याउनै बाँकी छ'

जर्ज अरवेल लिखित 'एनिमल फार्म' नाटकको रुपमा मञ्‍चन हुँदै
रीना मोक्तान

काठमाडौँ — 'म तपाईंहरूसँग झुटो बोल्दिनँ । जनावरको जीवन दु:ख र गुलामीमै बित्छ । हामी जन्मन्छौं, हामीलाई जीवित राख्नका लागि मात्र खाना दिइन्छ । नमरुञ्जेल बलजफ्ती अरुको सेवामा खटाइन्छ । आँखा झिमिक्क गर्न नपाउँदै मारिन्छ । के यो प्रकृतिको आदेश हो ? प्रकृतिले त यस्तो भेदभाव गर्दैन । त्यसोभए हामी किन यो दयनीय अवस्थामा बाँचिरहेका छौँ त ? यसको जवाफ हो- मानिस ।'

एकदिन फार्ममा भएका अन्य जनावर साथीहरूलाई बुढो मेजर (सुँगुर)ले 'मानिस नै जनावरको दुश्मन' रहेको बताउँदै क्रान्ति गर्न हौसाउँछ । मानिसको तानाशाही व्यवस्थाबाट स्वतन्त्र हुँदा आत्मसम्मान, अधिकार र सुखको जीवन पाउने सोचमा फार्मका जनावर विद्रोह गर्न तयार हुन्छन् । एकजुट भएर फार्मका मालिकलाई निकालिदिन्छन् ।

त्यसपछि सुँगुर कमरेडहरू एसबी र केपोलियनले जनावरको नेतृत्व गर्छन् । जनावरमैत्री नियमहरू बनाइन्छ । एसबी र केपोलियनको नेतृत्वमा जनावहरूले क्रान्तिको वास्तविक उपलब्धि उपभोग गर्न पाउलान् ? मानिसलाई फार्मबाट मिल्काइदिएसँगै हेपिएको, दबिएको, भोकमरीको जीवनबाट जनावरहरूको जीवन उकासिएला ? जर्ज अरवेल लिखित उपन्यास 'एनिमल फार्म'ले विद्रोही जनावरहरूको संघर्षको कथामार्फत शक्तिमा पुगेका नेतृत्वहरूको अहम, भ्रष्टता र शक्तिहीनहरूको कमजोरी बोल्छ ।

गलत नेतृत्व चयनले निम्त्याउने दु:ख र भीडको पछाडि दौडनेहरूको कथा बोल्ने 'एनिमल फार्म' नाटक कौसी थियटरमा मञ्चन हुनु र नेतृत्व चयन(एमाले र कांग्रेसको महाधिवेशन)को चरण सुरु हुन संयोग मात्र हो ।

मञ्चनको अन्तिम तयारीमा रहेको नाटकले शक्तिमा रहेकाहरूले शक्तिको दुरुपयोग गरेर शक्तिहीनहरूलाई दबाउन खोज्ने अहिलेको राजनैतिक माहोलमाथि कटाक्ष बोल्छ । पढ्न सक्ने क्षमता देखाउँदै सुँगुरहरूले नेतृत्वको घोषणा गर्छन् । फार्मका अन्य जनावर आँखा चिम्लेर उनीहरूकै पछि लाग्छन् । न उनीहरू असहमति जनाउँछन् सक्छन् न त प्रश्न गर्न नै । असहमति जनाउने आवाजलाई पनि त्यहाँ दबाइन्छ ।

शक्तिको आडमा केपोलियनले एसबीलाई फार्मबाट हटाउँदा फार्मका जनावरहरू सत्यता देख्न सक्दैनन् । देख्नेहरूले पनि बोल्न सक्दैनन् । अझ शक्तिशाली समूहले नै उनीहरूका सपना निर्धारण गरिदिन्छन् ।

'एनिमल फार्म' जनावरहरूको कथा हो । यो कथाका पात्रहरू पनि जनावर नै हुन् । तर, मञ्चमा जनावरको भूमिका मानिसले निर्वाह गर्दैछन् । यसले समग्र समाज, शक्ति संरचना र उत्पीडनमा परेकाहरूको प्रतिबिम्व गर्छ । फार्मका हरेक जनावरमा हाम्रै समाजका प्रतिनिधि पात्र देख्न सकिन्छ । भक्त घोडा नामजस्तै भक्त भएरै केपोलियनलाई महान् सम्झन्छन् । भेडा पात्र छन् जो प्रश्न गर्न खोज्छन् तर अर्धज्ञानकै कारण चुप रहन बाध्य छन् । मालती घोडिनी, गाई, कुखरा, हाँस, मुसा, कागलगायतका पात्रहरू त हामी समाजमै देख्न सक्छौं । कमरेड चाप्लुस् सुँगुरजस्तै पात्रसँग कुनै न कुनै बेला ठोक्किएकै हुन्छौं । आफूलाई ठूला वर्णका ठान्ने अनि साना ठान्ने पात्रहरूकै कारण जनावरहरूको कथामा हामी मानव संसार भेट्टाउँछौं ।

यो नाटकले शक्तिको पछि दौडिरहने केपोलियन र भीडको पछाडि दौडिनेहरूलाई व्यंग्य गर्छ । अरवेलले सन् १९४३ तिर लेखेको एनिमल फार्मको उपन्यासलाई प्रशान्त नायरले नाट्य रूपान्तरण गरेका हुन् । निर्देशक आकांक्षा कार्कीले नाटकलाई अहिलेको समयसँग जोडेकी छन् ।

कोभिड महामारीले फार्म अछुतो रहँदैन । जनावरहरूलाई आइसोलेसनका लागि ठाउँको अभाव हुन्छ । मानिसले बनाइदिएको अस्पताल जानु फार्मको नियमविपरीत छ । जनावरहरू स्वंय रोगसँग लड्न बाध्य छन् । आफूलाई ठूला र शिक्षित ठान्ने नेता केपोलियन उनीहरूलाई 'हाच्छयुँ' गरेरै रोगसँग लड्न सल्लाह दिन्छन् । महामारीका दौरान जनताप्रति राज्य कति लापरबाही र असंवेदनशील बन्यो भन्ने कुरालाई पनि एकपटक नाटकले सम्झाउनेछ ।

नेतृत्वमा पुगेकाहरूले शक्तिको मोहमा क्रान्तिलाई कसरी बिर्सिए भन्नेतर्फ पनि नाटकले प्रश्न छेडेको छ । देशमा १० वर्षे जनयुद्ध भयो । हजारौं सहिद भए । क्रान्तिकै बुई चढेर सत्तामा पुगेकाहरूले जनताका लागि के गरे त ? क्रान्तिमा होमिएका सर्वाहारा वर्गको अवस्था सुध्रियो ? यसमाथि पनि नाटकले आवाज उठाउँछ । पात्रहरू गाउँछन् -

'नाकाको नथि फ्याँकेर, आँखाको पट्टी उघारेर

निरंकुशताको यो पहाडलाई उखेलि अब फ्याँक्नुछ

एउटा गीत गाउनै बाँकी छ, विधिको शासन ल्याउनै बाँकी छ ।'

नाटकमा आफूलाई उच्च समूहका ठान्नेहरूले कसरी होचा वर्ग, वर्ण, जातलाई थिचोमिचोमा पारेर फाइदा उठाउँछन् भन्ने पनि देखाइएको छ ।

अरवेलकै कथामा अनुवादित नाटक 'एनिमल फार्म'ले लेखकै पितृसतात्मक सोचमाथि पनि प्रहार गरेको छ । अरवेलले कथामा नेतृत्वसम्म पुगेकी एसबीलाई केपोलियनले षड्यन्त्र गरेर फार्मबाट लखेटिएको देखाइएको छ । त्यसपछि दोहोरिएर उनी मञ्चमा देख्दिनन् । महिला पात्र भेडालाई प्रश्न गर्न खोज्ने तर दबाइएको पात्रको रुपमा प्रस्तुत गरिएको छ । महिलाहरूलाई कमजोर, निर्बल देख्ने अनि लेखनमा त्यही झल्काउने जर्जजस्ता संकुचित विचारधारालाई पनि व्यंग्य गर्छ नाटकले ।

'अरबेलको लागि केवल म कमजोर प्रतिनिधि पात्र हुँ । उहाँले भए जति विवेक प्रयोग गरे पनि अन्तिममा माथिल्लो वर्गको खोक्रो पात्रको प्रतिनिधि गर्न किन म महिला नै छनोट गर्नु पर्‍यो । जसको दिमाग छैन, नैतिकता छैन, विचार छैन । किनभने त्यतिबेला पनि उहाँले के सोच्नुभयो भने गञ्जागोल अवस्थामा प्राय महिला भने घाँडो मात्र हो,' अरवेलले महिलालाई हेर्ने दृष्टिकोणप्रति सिर्जनात्मक चालखी अपनाउँदै एक घोडीमार्फत आक्रोश पोखिएको छ ।

भक्त घोडालाई गाडीमा लगिँदै गरेको दृश्यलाई निकै रोचक अनि मनछुने तरिकाले देखाइएको छ । जनावरका भेषमा पात्रहरूले जनावरकै आवाज नक्कल गर्दा वास्तविक फार्ममै पुगेझैं लाग्छ । युद्धको समयमा लेखिएको अरवेलको कथा अहिले पनि नेपाली समाज, राजनीतिअघि सान्दर्भिक लाग्छ ।

शक्तिशाली समूहले गरिरहेको अत्याचारी शासनविरुद्ध आवाज उठाउन प्रेरित गर्ने यो नाटक मंसिर १४ देखि पुस ३ सम्म कौसी थियटरमा मञ्चनमा हुँदैछ । नाटकका थुप्रै कलाकारले अभिनय गरेका छन् । प्रयोग गरिएका प्रप्स कलात्मक देखिन्छन् । कथालाई न्यारेट गरिरहेझैं लाग्ने संगीत यो नाटकको बलियो पक्ष हो ।

प्रकाशित : मंसिर १३, २०७८ १८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×