१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दुर्गम ८ स्थानमा टेलिकमले विस्तार गर्‍यो टुजी र फोरजी सेवा

काठमाडौँ — नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी चालु आर्थिक वर्षमा दुर्गम र विकट थप ८ स्थानमा जीएसएम टुजी र फोजी सेवा प्रवाह गरेको जानकारी दिएको छ ।

दुर्गम ८ स्थानमा टेलिकमले विस्तार गर्‍यो टुजी र फोरजी सेवा

सोलुखुम्बुको लुक्ला, स्याङ्बोचे (एयरपोर्ट), नाम्चे बजार र ताक्सिन्दु, गोरखाको छेकम्पार, बिही (गर्ज्याङ डाँडा) र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्टमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यी टावरबाट सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिका–२ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्ग लगायत क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको छ । स्याङ्बोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का वस्ती र नाम्चे बजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लो लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको कम्पनीले जनाएको छ । टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।

गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका–४ का छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रमा पनि सेवा उपलब्ध भएको टेलिकमको भनाइ छ । गोरखाकै बिही (गर्ज्याङ डाँडा) नयाँ साइटबाट सोही गाउँपालिकाका क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रुट क्षेत्र र न्याक साइटबाट न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रुट क्षेत्रमा सेवा उपलब्ध भएको छ ।

मनाङको ओडार भ्यु प्वइन्ट साइटबाट न्यासो गाउँपालिकाका ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । अन्य ३ दुर्गम र विकट स्थानमा पनि हेलिकप्टरबाटै सामान ढुवानी गरी चाँडै नै टुजी र फोजी सेवा सञ्चालन गर्ने तयारी भइरहेको टेलिकमले जनाएको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ र नाचिपाङ तथा दार्चुलाको व्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गरिने कम्पनीको भनाइ छ ।

हाल यी स्थानमा संरचना निर्माण भइरहेको र छिट्टै टुजी र फोजी सेवा सञ्चालनमा आउने भनिएको छ । ‘त्यसपश्चात् यी क्षेत्रका सेवाग्राहीले गुणस्तरीय भ्वाइस तथा डाटा सेवा प्रयोग गरी लाभ लिन सक्नेछन्,’ टेलिकमको विज्ञप्तिमा भनिएको छ, ‘तुलनात्मक रूपमा लगानी बढी हुने तर व्यवसायिक रूपले प्रतिफल प्राप्त नहुने यस्ता अति दुर्गम र विकट स्थानमासमेत टेलिकमले दूरसञ्चार सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।’


प्रकाशित : मंसिर १३, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?