१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

स्वदेशी कम्पनीमा मात्र पुनर्बिमा गर्नुपर्ने निर्देशनको विरोध

काठमाडौं — जोखिम एकै स्थान र क्षेत्रमा केन्द्रित गर्न नहुने बिमाको सिद्धान्तविपरीत स्वदेशी कम्पनीमा मात्र पुनर्बिमा गर्नुपर्ने बिमा समितिको निर्देशन व्यावहारिक नभएको सरोकारवालाहरूले बताएका छन्  । यस विषयमा निजी क्षेत्रका संघसंगठन, बिमा कम्पनी र बिमा विज्ञहरूले विरोध गर्दै आएका छन्  ।

स्वदेशी कम्पनीमा मात्र पुनर्बिमा गर्नुपर्ने निर्देशनको विरोध

पछिल्लो निर्देशन खुला बजार अर्थतन्त्र र बिमाको विश्वव्यापी सिद्धान्तविपरीत भएको उनीहरूको धारणा छ । जीवन बिमा कम्पनी र निर्जीबन बिमा कम्पनीका संघहरूले छुट्टाछुट्टै बैठक बसेर उक्त विषयमा नियामक निकायसमक्ष आफ्नो धारणा राख्ने निर्णयसमेत गरेका छन् ।

‘कुनै पनि पक्षबाट यो निर्देशन व्यावहारिक छैन, स्वदेशी पुनर्बिमा कम्पनीले मात्र जोखिम वहन गर्न सक्दैनन्, ती कम्पनीलाई विदेशी पुनर्बिमा कम्पनीले विश्वास गर्दैनन् । त्यसैले विविध कारणले समितिको निर्देशन उपयुक्त छैन,’ बैठकमा सहभागी एक कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, ‘समितिले सम्भावित जोखिम र व्यावहारिक पक्षको बेवास्ता गर्दै उक्त निर्देशन जारी गरेको देखिन्छ । यस विषयमा बिमक संघहरूले समितिमा लिखित रूपमा विरोध जनाउने निर्णय भएको छ ।’ नेपालका पनि केही ठूला ग्राहकले आयोजनाहरूको बिमा गर्दा ए ग्रेडको रेटिङ पाएका कम्पनीमा मात्र पुनर्बिमा भएको हुनुपर्ने भन्ने तोकिएको हुन्छ । तर हाम्रा पुनर्बिमा कम्पनीहरूको रेटिङ नै नभएकाले अन्तर्राष्ट्रिय जगत्मा राम्रो छवि बन्न नसकेको अर्का एक प्रमुख कार्यकारी अधिकृतले बताए ।

समितिले गत साता निर्देशन जारी गरेर स्वदेशी कम्पनीमा मात्र पुनर्बिमा गर्नुपर्ने व्यवस्था गरेको छ । ‘प्रत्यक्ष हिस्सास्वरुप प्रदान गरिएको पुनर्बिमाबाहेक बाँकी हुन आउने सबै पुनर्बिमा व्यवसाय स्वदेशी पुनर्बिमकहरूलाई प्रदान गर्ने,’ निर्देशनमा भनिएको छ । निर्देशनअनुसार अब बिमा कम्पनीहरूले नेपालमा रहेका पुनर्बिमा कम्पनीमा मात्र पुनर्बिमा गर्नुपर्नेछ । स्वदेशी पुनर्बिमा कम्पनीले अस्वीकार गरेको अवस्थामा मात्र कम्पनीहरूले विदेशी कम्पनीमा पुनर्बिमा गर्न पाउनेछन् ।

‘स्वदेशी पुनर्बिमा कम्पनीले पुनर्बिमा अस्वीकार गरेको खण्डमा त्यसरी अस्वीकार गरेको अंशको पुनर्बिमा ‘पुनर्बिमा निर्देशिका २०७८’ मा उल्लेख भएबमोजिमको योग्यता पुगेको विदेशी कम्पनीसँग गर्न पाउने,’ निर्देशनमा उल्लेख छ । यो बाध्यात्मक व्यवस्था हो । कम्पनीहरूले आपसी समझदारीमा व्यवसाय नगरेपछि हस्तक्षेप गर्नुपरेको बिमा समितिको दाबी छ । ‘स्वदेशको पैसा देशभित्रै रहोस भन्न यो निर्देशन जारी गरिएको हो,’ बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘पुनर्बिमा कम्पनीले पनि अर्को पुनर्बिमासँग बिमा गर्नुपर्ने भएकाले जोखिम स्थातान्तरण नहुने भन्ने हुँदैन ।’

हाल नेपाल पुनर्बिमा र हिमालयन पुनर्बिमा गरी दुईवटा कम्पनी सञ्चालनमा छन् । ती कम्पनीको व्यापार सुरक्षित गरिदिन विदेशी कम्पनीसँग पुनर्बिमा गर्न नपाइने निर्देशन बिमा समितिबाट आएको कम्पनीहरूको आरोप छ ।

हाल बिमा कम्पनीहरूले आफूले आर्जन गरेको बिमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष हिस्साअन्तर्गत नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमा गर्नुपर्ने अनिवार्य व्यवस्था छ । पछिल्लो निर्देशनमा बिमा समितिले उक्त व्यवस्था यथावत् राखेको छ । विदेशी पुनर्बिमा कम्पनीलाई भुक्तानी गर्न समितिसँग पुनर्बिमा सापटी सिफारिस माग गर्दा स्वदेशी पुनर्बिमा कम्पनीले पुनर्बिमा अस्वीकार गरेको प्रमाण पेस गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ ।

हवाई बिमाजस्ता प्राविधिक ज्ञान धेरै हुनुपर्ने क्षेत्रमा स्वदेशी पुनर्बिमा कम्पनीहरूको विशेषज्ञता कम हुने भएकाले पनि उल्लिखित निर्देशन अव्यावहारिक भएको जानकारहरू बताउँछन् ।

प्रकाशित : मंसिर १३, २०७८ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?