२० महिनापछि सान्जेनको काममा फर्किंदै चिनियाँ ठेकेदार

जनताको जलविद्युत् कार्यक्रममा राखिएका रसुवागढी र माथिल्लो सान्जेन कस्तो अवस्थामा छन् ?

काठमाडौँ — सान्जेन जलविद्युत् कम्पनी लिमिटेडअन्तर्गतका दुई आयोजनाको काम छाडेर गएको चिनियाँ ठेकेदार कम्पनी डेढ वर्षपछि फर्किने भएको छ । कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैतमा लकडाउन जारी भएयता माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजनामा इलेक्ट्रोमेकालिकलतर्फको काम गरिरहेको चिनियाँ कम्पनी डोङफाङ इलेक्ट्रिक इन्टरनेसनल काममा फर्किएको थिएन ।

२० महिनापछि सान्जेनको काममा फर्किंदै चिनियाँ ठेकेदार


ठेकेदार कम्पनी लामो समयसम्म काममा नफर्किंदा आयोजनाको काम पर धकेलिँदै आएको थियो । काम छाडेर गएको २० महिनापछि ठेकेदार कम्पनी आयोजनामा फर्किएको सान्जेन जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार ढुंगेलले जानकारी दिए । ‘ठेकेदारले यही साता नेपाल आएर काम सुरु गर्ने भनेको छ । काम थालेको ६ महिनाभित्रमा इलेक्ट्रोमेकानिकलतर्फका काम सकिन्छन्,’ ढुंगेलले भने । लामो समयसम्म भन्सार नाकामा अड्किएका इलेक्ट्रोमेकानिकलतर्फका उपकरण आयोजना निर्माणस्थलमा ल्याइपुर्‍याइएको पनि उनले बताए । डोङफाङ इलेक्ट्रिक इन्टरनेसनलले आयोजनामा काम गर्न केही कामदार, विज्ञ तथा इन्जिनियर चीनबाटै ल्याएर काम गरिरहेको थियो ।

रसुवा जिल्लामा निर्माणाधीन अवस्थामा रहेका रसुवागढी, सान्जेन र माथिल्लो सान्जेनलगायत आयोजनाबाट उत्पादित विद्युत् चिलिमे-त्रिशूली थ्रीबी हब प्रसारण लाइन तथा सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी छ । तर प्रसारण लाइन समयमै नबन्ने हो भने आगामी असारसम्म व्यावसायिक उत्पादन थाल्ने तयारीमा रहेका रसुवागढी र माथिल्लो सान्जेनबाट उत्पादित विद्युत् खेर जाने देखिएको छ । यी आयोजनामा विद्युत् उत्पादन भइसक्दासम्म पनि प्रसारण लाइन निर्माण नसकिने सम्भावना देखिएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण आयोजनाको स्थलगत अनुगमन गरेका छन् ।

आमाछोदिङमो गाउँपालिका–१ हाकुका बासिन्दाले बाहिरबाट कामदार ल्याएर काम लगाउन नहुने भन्दै अवरोध गरेपछि प्रसारण लाइनको काम रोकिएको थियो । २०२० फेब्रुअरीमा निर्माण सक्ने लक्ष्य राखिएको यो आयोजनामा अझै १२ वटा टावर निर्माण गर्न बाँकी छ । ‘यसै प्रसारण लाइनमा जोडिने तीनवटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । यो वा त्यो बहानामा निर्माणमा ढिलाइ गर्ने छुट कसैलाई छैन,’ घिसिङले स्थानीयसँग भने ।

आयोजनामा काम गरेका कामदारलाई उनीहरूले पाउन बाँकी रकम भुक्तानी गरी नगद प्रवाहको समस्या समाधान गर्न र स्थानीयको अवरोध हटाउन आयोजना प्रमुखलाई उनले निर्देशन समेत दिएका छन् । माथिल्लो सान्जेनबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न चिलिमे हब सबस्टेसन बनाउन लागिएको छ । सबस्टेसन बन्नुअघि नै माथिल्लो सान्जेन सम्पन्न भए चिलिमे जलविद्युत् केन्द्रको ६६ केभी प्रसारण लाइनबाट विद्युत् प्रसारण गर्न सकिने सम्भावना छ । तर दीर्घकालका लागि भने थाम्बुचेत–स्याफ्रुबेंसी प्रसारण लाइन निर्माण गर्नुपर्ने देखिन्छ ।

कस्तो अवस्थामा छन् आयोजना ?

रसुवा जिल्लामा निर्माणाधीन यी आयोजनामध्ये माथिल्लो सान्जेनको १४ दशमलव ८ मेगावाट र सान्जेनको ४२ दशमलव ५ मेगावाट विद्युत् उत्पादन क्षमता छ । कम्पनीले उपलब्ध गराएको विवरणअनुसार गत असोज मसान्तसम्ममा माथिल्लो सान्जेनमा सिभिल निर्माणको ९८ र समग्रमा ९१ दशमलव ५४ प्रतिशत काम भइसकेको छ । सान्जेनमा सिभिलतर्फ ८६ र समग्रमा ८२ दशमलव ४० प्रतिशत काम सकिएको सान्जेन जलविद्युत् कम्पनीले जनाएको छ । अहिलेसम्मको कार्यप्रगतिका आधारमा माथिल्लो सान्जेन चालु आर्थिक वर्षभित्रै र सान्जेन २०७९ चैत मसान्तसम्ममा सक्ने लक्ष्य छ ।

सरकारले ‘जनताको जलविद्युत् कार्यक्रम’ मा राखेको १ सय ११ मेगावाट उत्पादन क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि चालु आर्थिक वर्षभित्रै निर्माण सक्ने गरी काम अघि बढाइरहेको छ । रसुवागढीमा ८३ प्रतिशत भौतिक प्रगति भइसकेको र आगामी असार मसान्तसम्ममा व्यावसायिक उत्पादन थाल्ने लक्ष्य राखिएको आयोजना प्रमुख छवि गैरेले जानकारी दिए । प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको संयुक्त लगानीमा बनिरहेको यो आयोजनामा पनि महामारीका कारण काम रोकिएको थियो ।

अघिल्लो वर्ष वर्षात्मा आएको बाढीले बाँधस्थलको अस्थायी संरचना (कफर ड्याम) मा क्षति पुगेका कारण बाँधस्थल निर्माण रोकिएको थियो । आयोजनाको टेलरेस टनेलको करिब १ सय ४६ मिटर लम्बाइ कमजोर भौगोलिक अवस्थाका कारण करिब ३५ मिटर खुम्चिएको छ । टेलरेस टनेलको माथिल्लो क्षेत्रको काम सकिए पनि तल्लो खण्ड खन्ने र आवश्यक सपोर्ट लगाउने काम हुन सकेको छैन ।

आयोजनाको सिभिल र इलेक्ट्रोमेकानिकलतर्फका ठेकेदार र कामदार भारत फर्किएका थिए । गत मार्च अन्त्यबाट मात्र साइटमा आएका थिए । रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडको पछिल्लो संशोधित कार्यतालिकाअनुसार १६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ बराबर लागत पुग्ने अनुमान थियो । तर अहिले यसमा २ अर्ब ५३ करोड ११ लाख लागत बढ्ने बताइएको छ ।

प्रकाशित : मंसिर १३, २०७८ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?