१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

राष्ट्रिय गौरवका पाँच आयोजनामा पुँजीगत खर्च शून्य, तीनले चालु खर्च पनि गर्न सकेनन्

राष्ट्रिय गौरवका २२ आयोजनामा ८० अर्ब १० करोडको बजेट, कात्तिक मसान्तसम्म ४ अर्ब खर्च

काठमाडौँ — चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिक (साउनदेखि कात्तिक मसान्तसम्म) अवधिमा राष्ट्रिय गौरवका आयोजनामा ५ प्रतिशत बराबर मात्रै बजेट खर्च देखिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले राष्ट्रिय गौरवका आयोजनामध्ये २२ वटामा ८० अर्ब १० करोड ५१ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरेको थियो ।

राष्ट्रिय गौरवका पाँच आयोजनामा पुँजीगत खर्च शून्य, तीनले चालु खर्च पनि गर्न सकेनन्

तर प्रथम चौमासिक अवधिमा ४ अर्ब ३२ करोड ५० लाख रुपैयाँ बराबर खर्च भएको देखिन्छ । यो खर्च रकम गौरवका आयोजनामा चालु आर्थिक वर्षका लागि विनियोजित कुल बजेटको ५ दशमलव ४ प्रतिशत बराबर हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ५ वटा गौरवका आयोजनामा पुँजीगत खर्च शून्य छ । त्यस्तै, तीन वटा आयोजनाले चालु खर्च पनि गर्न सकेका छैनन् । अहिलेसम्म पुँजीगत खर्च नदेखिएका आयोजनाहरुमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना, लुम्बिनी विकास कोष र पशुपति विकास कोष छन् । त्यस्तै राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा ०.७ प्रतिशत र मिलेनियम च्यालेन्ज अकाउन्ट, नेपाल (एमसीएएन) मा ०.२ प्रतिशत बराबर मात्रै पुँजीगत खर्च भएको छ ।

चालु र पुँजीगत दुवै शीर्षकमा खर्च नदेखिएका आयोजनाहरुमा दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छन् । यी आयोजनामा चालु आर्थिक वर्षका लागि सरकारले क्रमश: ३ अर्ब ५२ करोड ८० लाख, ८ अर्ब ५० करोड र ३६ करोड रुपैयाँ बजेट छुट्याएको थियो ।

एमसीसीअन्तर्गतको आयोजनामा चालु आर्थिक वर्षका लागि सरकारले ७५ करोड २० लाख रुपैयाँ चालुगत र ८ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत शीर्षकमा छुट्याएको छ । वार्षिक विनियोजित बजेटका हिसाबले यो सबैभन्दा ठूलो आयोजना हो । कात्तिक मसान्तसम्ममा यो आयोजनामा चालुतर्फ ८ करोड ८१ लाख र पुँजीगततर्फ १ करोड ९० लाख रुपैयाँ बराबर खर्च भएको छ ।

महालेखाको तथ्याङ्क हेर्दा अधिकांश राष्ट्रिय गौरवका आयोजनाको बजेट खर्च ५ प्रतिशत भन्दा कम छ । बुढीगण्डकी जलविद्युत् आयोजनामा ७ अर्ब ४७ करोड रुपैयाँ बजेट रहेकोमा कात्तिक मसान्तसम्म १३ करोड ८३ लाख अर्थात् १ दशमलव ९ प्रतिशत बराबर मात्रै बजेट खर्च भएको छ । त्यस्तै ८ अर्ब ९३ करोड रुपैयाँ बराबर बजेट छुट्याइएको काठमाडौं–तराई मधेश फास्ट ट्रयाकमा १ दशमलव ७ प्रतिशत अर्थात् १४ करोड ९८ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बराबर बजेट छुट्याइएकोमा २७ करोड २५ लाख रुपैयाँ बराबर खर्च भएको देखिन्छ । यो विनियोजित बजेटको ४ दशमलव २ प्रतिशत बराबर हो ।

सिँचाइका ६ वटा आयोजनाको बजेट खर्चको अवस्था पनि निकै सुस्त देखिन्छ । पहिलो चौमासिक अवधिमा बबई सिँचाई आयोजनाले ३ दशमलव ८, महाकाली सिँचाइ आयोजनाले १७ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाले ४ दशमलव ३ प्रतिशत, रानीजमरा–कुलरिया सिँचाइ आयोजनाले १५ दशमलव ६ प्रतिशत, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय परियोजनाले ३ दशमलव ८ प्रतिशत र सुनकोशी मरिन डाइभर्सन आयोजनाले १ दशमलव ५ प्रतिशत बजेट खर्च गरेको देखिन्छ ।

गत असारमा आएको बाढीका कारण प्रभावित बनेको मेलम्ची खानेपानी आयोजनामा सरकारले चालु आर्थिक वर्षका लागि १ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ छुट्याएको छ । जसमध्ये चालुतर्फ ७ करोड ७८ लाख र पुँजीगततर्फ १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ छुट्याइएको छ । यो आयोजनामा कात्तिक मसान्तसम्मको खर्च भने ७ दशमलव २ प्रतिशत अर्थात् १२ करोड ७४ लाख रुपैयाँ बराबर रहेको छ ।

प्रकाशित : मंसिर १३, २०७८ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?