२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

एकल बिन्दुबाट प्रायः सेवा नियमित

तर निजी क्षेत्र भन्छ–‘प्रभावकारी छैन’
नुमा थाम्सुहाङ

काठमाडौँ — एकल बिन्दु सेवा केन्द्रबाट प्रायः सेवा नियमित रूपमा उपलब्ध हुन थालेका छन् । उद्योग विभागमा रहने गरी सरकारले विभिन्न ८ सरकारी निकायको सेवा सञ्चालन गरिरहेको छ । सेवा केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पूर्वाधार इकाईबाट हालसम्म कसैले पनि सेवा लिएका छैनन् ।

बाँकी ७ इकाईबाट सेवा लिनेको संख्या बढ्दै छ । सेवा केन्द्र सञ्चालनमा आएयता ६ सय ५६ उद्योग (स्वदेशी/विदेशी) समेत दर्ता भएका छन् । यो तथ्यांक गत कात्तिक मसान्तसम्मको रहेको उद्योग विभागले जनाएको छ । यी उद्योगले ५ खर्ब ३२ अर्ब १२ करोड रुपैयाँ लगानी प्रस्तावसमेत गरेका छन् ।

उद्योग दर्ता गर्न आवश्यक सबै सरकारी प्रक्रियालाई एकै ठाउँबाट उपलब्ध गराउन सरकारले उद्योग विभाग परिसरबाट २०७६ जेठ १ देखि यस्तो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । यो सेवा केन्द्रबाट करिब साढे दुई वर्षमा ५ सय ९७ विदेशी लगानी स्वीकृत भएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए । ‘यस अवधिमा १ खर्ब १० अर्ब ४४ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ,’ उनले भने, ‘उद्योग दर्ता र स्वीकृत भएको विदेशी लगानीबाट ४२ हजार ८ सय २१ जनालाई रोजगारी दिइने प्रस्ताव छ ।’

एकल बिन्दुबाट ८२ वटा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) भएको छ । साथै जग्गा सहजीकरण २५, प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) ४२, भन्सार तथा राजस्व २ सय ४, विदेशी विनिमय सहजीकरण ५ सय ६९ र भिसा सहजीकरण ५ हजार ८ सय ४७ वटा सेवा प्रवाह भएको छ । यसले गर्दा उद्योगमा लगानी आकर्षित पनि भएको पराजुलीको भनाइ छ । ‘अहिले उद्योग दर्ता र विदेशी लगानी स्वीकृत गर्ने काम विभागबाटै हुनाले काम गर्न सजिलो छ,’ पराजुलीले भने, ‘उद्योग दर्ता गरेपछि यसको एक्जिम कोड र प्यान नम्बर पनि यहींबाट लिन मिल्छ । विदेशी लगानीको भिसा सिफारिस पनि दिइन्छ भनेपछि विभागमा आउने सेवाग्राही बाहिर जानुपर्ने अवस्था छैन ।’

सरकारी निकायले सेवा सहज भएको बताए पनि निजी क्षेत्रले भने प्रभावकारी नभएको गुनासो गरेको छ । सरकारले एकद्वार प्रणाली भनेर सुरु गरे पनि कुनै काम सम्पन्न गर्ने र सहजता ल्याउने कुरामा कमजोर रहेको नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । यसको जुन उद्देश्य हो, त्यसअनुसार प्रभावकारी काम नभएको उनको भनाइ छ । ‘सबै सेवा एकै ठाउँमा होस् भन्ने हाम्रो माग थियो,’ उनले भने, ‘सरकारले यसमा प्रतिबद्धता पनि कायम गर्‍यो । तर अन्तरमन्त्रालय र अन्तरविभाग समन्वय हुन नसकेका कारण सफल रूपमा अघि बढाउन सकेको छैन ।’ तर विभागमा सुरु भएको यस्तो सेवाले पहिलाभन्दा सहज भएको भने उनी स्विकार्छन् । प्रविधि विकासले पनि काम गर्न सहज भएको उनले सुनाए । तर ढिला बन्ने ऐन, नियमले गर्दा उद्योगीले दुःख पाउने गरेको उनको भनाइ छ । उद्योगमा लगानी प्रोत्साहन र सहजीकरण गर्ने अवधारणाले सुरु गरिएको यस्तो सेवा सोचेजस्तो प्रभावकारी नभएको नेपाल उद्योग वाणिज्य महासंघको उद्योग सभापति भरत आचार्य बताउँछन् । ‘निर्णय गर्ने अधिकार छैन, कुनै कामको लागि विभाग नै जानुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसैले यो शाखा जस्तो मात्र भयो जहाँ कागजात मात्र थुपार्ने काम भइरहेको छ । निर्णय गर्ने पूरै अधिकार भएको सेवा दिन सक्नुपर्‍यो ।’

एकल बिन्दु सेवा केन्द्रमा उद्योग दर्ता, विदेशी विनिमय सहजीकरण, जग्गा सहजीकरण, भन्सार तथा राजस्व सहजीकरण, भिसा सहजीकरण, विद्युत प्राधिकरण, श्रम तथा व्यवस्थापनजन्य सुरक्षा, कम्पनी र रजिस्ट्रार एकाइ सेवा उपलब्ध छन् . यो सेवा केन्द्र सञ्चालनका लागि नेपाल राष्ट्र बैंक, अध्यागमन विभाग, भूमिसुधार विभाग, कर, राजस्व विभागलगायत आवश्यक सबै कर्मचारी रहेको विभागका सूचना अधिकारी पराजुलीले बताए ।

सेवा केन्द्रबाट कम्पनी, फर्म, उद्योग दर्ता, अनुमति, इजाजत, स्थापना, नवीकरण, विदेशी लगानी स्वीकृति र विदेश फिर्ता लैजाने कामका लागि सहमति दिने, कर तथा राजस्व छुटलगायत अन्य प्रोत्साहन उपलब्ध गराउने, श्रम स्वीकृति तथा भिसा उपलब्ध गराउने, स्थायी लेखा नम्बर (प्यान) प्रदान गर्ने र निकासी अनुदान सेवा उपलब्ध हुने विभागले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर १३, २०७८ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता र प्रतिपक्षको विवादले संघीय संसद्‍मा बढ्न थालेको अवरोधबारे तपाईं धारणा के छ ?