१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

डब्लूटीओ मन्त्रीस्तरीय बैठक स्थगित, नेपालले व्यापार सहुलियतको एजेन्डा तत्काल उठाउन पाएन 

काठमाडौँ — स्वीजरल्याण्डको जेनेभामा नोभेम्बर ३० देखि डिसेम्बर ३ तारिखसम्म आयोजना गर्ने गरी तय भएको विश्व व्यापार संगठन (डब्लूटीओ) १२ औं बैठक (एमसी १२) अनिश्चितकालका लागि रोकिएको छ । गत शुक्रबार साँझ बसेको डब्लूटीओ महासभाले बैठक सार्ने निर्णय गरेको हो ।

डब्लूटीओ मन्त्रीस्तरीय बैठक स्थगित, नेपालले व्यापार सहुलियतको एजेन्डा तत्काल उठाउन पाएन 

कोभिड– १९ महामारीको फैलँदो संक्रमणका कारण बैठक सार्नुपरेको डब्लूटीओले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘महामारीको जोखिम बढ्न थालेपछि धेरै देशले आवागमनमा प्रतिबन्ध लगाइरहेका छन् । यस्तो बेला सबै सदस्य राष्ट्रका प्रतिनिधिको उपस्थिति असम्भव देखिएकाले बैठक सारिएको हो,’ डब्लूटीओले भनेको छ । कजाकस्तानको सहआयोजना रहेको यो बैठक २०२० जुनमा आयोजना हुनेगरी मिति तय रहे पनि महामारीका कारण पटक–पटक सर्दै आएको छ ।

एमसी १२ मा भाग लिनका लागि नेपाली टोली गत शुक्रबार नै स्वीजरल्याण्डका लागि प्रस्थान गरिसकेको छ । डब्लूटीओ सदस्य राष्ट्रका वाणिज्य मन्त्रीस्तरीय यो बैठकमा नेपालले मन्त्रीबिनै प्रतिनिधि पठाएको थियो । नेपालको प्रतिनिधिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, सहसचिव गोबिन्दबहादुर कार्की र उपसचिव अमृत लम्साल स्वीजरल्यान्ड गएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।

एमसी १२ बैठकमा नेपालले मुख्यगरी विकासोन्मुखबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा गुमाउने व्यापार सम्बन्धी सुविधाको निरन्तरताका लागि एजेन्डा पेश गर्ने तयारी गरेको थियो । त्यस्तै महामारीपछि व्यापार क्षेत्रमा भोगेका समस्या उठाउने नेपालको तयारी थियो । पछिल्ला दिनमा फैलिँदो क्रममा रहेको कोभिड १९ महामारीको नयाँ भेरियन्टलाई चुनौतिका रुपमा हेरिएको छ । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नयाँ चुनौतिका रुपमा रहेको चेतावनी दिएसँगै धेरैजसो देशहरुमा स्वास्थ्य सुरक्षा सतर्कता कडा पार्न थालिएको छ ।


प्रकाशित : मंसिर १२, २०७८ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?