३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्वदेशी कम्पनीमा मात्र पुनर्बीमा गर्न निर्देशन

काठमाडौँ — स्वदेशी कम्पनीमा मात्र पुनर्बीमा गर्न नियामक निकाय बिमा समितिले निर्देशन दिएको छ । समितिले बिमा कम्पनीहरुका लागि जारी परिपत्रमा उक्त व्यवस्था छ । ‘प्रत्यक्ष हिस्सा स्वरुप प्रदान गरिएको पुनर्बीमा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमकहरुलाई प्रदान गर्ने,’ निर्देशनमा भनिएको छ ।

स्वदेशी कम्पनीमा मात्र पुनर्बीमा गर्न निर्देशन

निर्देशन अनुसार अब बिमा कम्पनीहरुले नेपालमा रहेका पुनर्बीमा कम्पनीमा मात्र पुनर्बीमा गर्नुपर्ने छ । स्वदेशी पुनर्बीमा कम्पनीले अस्वीकार गरेको अवस्थामा मात्र कम्पनीहरुले विदेशी कम्पनीमा पुनर्बीमा गर्न पाउनेछन् । ‘स्वदेशी पुनर्बीमा कम्पनीले पुनर्बीमा अस्वीकार गरेको खण्डमा त्यसरी अस्वीकार गरेको अंशको पुनर्बीमा ‘पुनर्बीमा निर्देशिका २०७८’ मा उल्लेख भए बमोजिमको योग्यता पुगेको विदेशी कम्पनीसँग गर्न पाउने,’ निर्देशनमा उल्लेख छ । यो बाध्यात्मक व्यवस्था हो । कम्पनीहरुले आपसी समझदारीमा व्यवसाय नगरेपछि हस्तक्षेप गर्नु परेको बिमा समितिले दाबी गरेको छ ।

‘स्वदेशको पैसा देशभित्रै रहोस भन्नका लागि यो निर्देशन जारी गरिएको हो,’ बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘पुनर्बीमा कम्पनीले पनि अर्को पुनर्बीमासँग बिमा गर्नुपर्ने भएकाले जोखिम स्थातान्तरण नहुने भन्ने हुँदैन ।’ हाल नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा गरी दुई वटा कम्पनी सञ्चालनमा छन् । ती कम्पनी व्यापार सुरक्षित गरिदिनका लागि विदेशी कम्पनीसँग पुनर्बीमा गर्न नपाइने निर्देशन बिमा समितिबाट आएको आरोप कम्पनीहरुले लगाएका छन् ।

हाल बिमा कम्पनीहरुले आफूले आर्जन गरेको बिमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष हिस्सा अन्तरगत नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्नुपर्ने अनिवार्य व्यवस्था छ । पछिल्लो निर्देशनमा बिमा समितिले उक्त व्यवस्था यथावत राखेको छ ।

यस्तै, विदेशी पुनर्बीमा कम्पनीलाई भुक्तानी गर्नका लागि समितिसँग पुनर्बीमा सापटी सिफारिस माग गर्दा स्वदेशी पुनर्बीमा कम्पनीले पुनर्बीमा अस्वीकार गरेको प्रमाण पेश गर्नुपर्ने प्रावधान पनि निर्देशन छ ।

प्रकाशित : मंसिर ११, २०७८ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?