१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

३४ क्विन्टल चामल सहयोग

छपाल लामा

हुम्ला — कान्तिपुर मिडिया ग्रुप (केएमजी), केएल दुगड समूह र समिट एयरले हुम्लाको खाद्यान्न समस्या तत्काल समाधान गर्न बिहीबार ३४ क्विन्टल चामल पठाएका छन् । हुम्लाको खाद्य संकटबारे कान्तिपुर दैनिकमा बुधबार समाचार प्रकाशित भएपछि तीनवटा संस्थाको सहकार्यमा उक्त सहयोग उपलब्ध गराइएको हो ।

३४ क्विन्टल चामल सहयोग

कान्तिपुर दैनिकका कर्णाली प्रदेश ब्युरो प्रमुख कृष्णप्रसाद गौतमले बिहीबार हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यमार्फत खाद्यान्न हस्तान्तरण गरे ।

केएल दुगड समूहको नेपालगन्ज सेक्टरका महाप्रबन्धक प्रदीपकुमार थादेडले खाद्य समस्याको गर्जो टार्न चामल सहयोग गरिएको बताए । ‘पेटभरि खान पाउनु सबैको मौलिक अधिकार हो,’ उनले भने, ‘खाद्यान्नको समस्या मानवीय संवेदनशीलता भएकाले हामीले पनि सामाजिक उत्तरदायित्व बहन गरेका हौं ।’ यस्ता समस्यामा राज्य गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।

समिट एयरका महाप्रबन्धक मनोज कार्कीले सडक यातायात नपुगेका क्षेत्रमा सरकारले छिट्टै र पारदर्शी तवरले खाद्यान्न ढुवानी गर्नुपर्नेमा जोड दिए । ‘यो खासमा सरकारकै दायित्व हो,’ उनले भने, ‘सरकारले खाद्यान्न अभाव क्षेत्रमा तदारुकता नदेखाएपछि हामीले ढुवानीको व्यवस्था मिलाएका हौं ।’ तीनवटै संस्थाको समन्वयमा २५ किलोका १ सय ३६ बोरा चामल हुम्ला ल्याइएको छ । तर प्रदेश सरकार र संघीय सरकारले अहिलेसम्म हुम्लामा चामल पठाउन तदारुकता देखाएका छैनन् ।

चामल बुझ्न आएका प्रजिअ आचार्यले ढुवानी समस्याका कारण जिल्लामा खाद्यान्न अभाव देखिएको बताए । ‘यो समस्यालाई तीनवटै तहका सरकारले गम्भीर रूपमा हेरिरहेका छौं,’ उनले भने, ‘लिमीमा बढी समस्या देखिएको छ, सहयोग प्राप्त चामल छिट्टै प्रभावित क्षेत्रमा पठाइनेछ ।’ उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखामा अहिले करिब १ सय ५० क्विन्टल चामल मौज्दात छ । मौज्दात कम भएपछि तत्काल जन्म र मृत्यु संस्कारका लागि मात्र चामल वितरण गरिएको जानकारी दिए । उनका अनुसार सदरमुकाम सिमकोटमा तत्काल ठूलो समस्या नभए पनि लिमीमा भने खाद्यान्न संकट देखिएको छ ।

चीन सरकारले लिमीलगायत नाम्खा गाउँपालिकाका बासिन्दालाई सहयोग गरेको खाद्यान्न हिमपातका कारण हिल्सामै रोकिएको छ । ४ सय ६६ क्विन्टल चामल सहयोग गरेकामा ५ क्विन्टल चामल र ४ सय ६१ क्विन्टल पिठो हिल्सामै रोकिएको हो । उक्त खाद्यान्न लिमी पठाउन गत असोज ३० गते सहायक प्रजिअ दशरथ राईको नेतृत्वमा ५ जनाको टोली हिल्सा पठाएको थियो । तर कात्तिक पहिलो साता भारी हिमपात भएपछि खाद्यान्न ल्याउन सकिएन । हिउँ पन्छाउन लगातार १५ दिन डोजर लगाइएको प्रजिअ अचार्यले बताए । ‘विकल्प समाप्त भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले एयर लिप्टिङका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको हो,’ उनले भने, ‘ढुवानी खर्च व्यहोर्ने गरी गृह मन्त्रालयले अनुमति दिइसकेको छ, सम्भवतः शुक्रबारदेखि नेपाली सेनाको हेलिकोप्टरमा हिल्सामा रोकिएको खाद्यान्न ढुवानी गर्न सुरु हुन्छ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुर्गम जिल्लामा चामल ढुवानी गर्दै आएको छ । तर कमिसनको प्रलोभनमा कम्पनीले महँगो ढुवानी दर कबोल गर्ने कार्गो कम्पनीलाई स्वीकृति दिन खोज्दा ठेक्का नै विवादमा परेको छ । हवाईमार्गबाट १० हजार क्विन्टल चामल पठाउन टेन्डर आह्वान गरेपछि ४ कम्पनीेले आवेदन दिएका थिए । किलोमै ४२ रुपैयाँ महँगो कबोल गर्ने श्रीर्मिका एयर कार्गोलाई ढुवानी अनुमति दिन खोज्दा समस्या उत्पन्न भएको हो ।

ढुवानी समस्याका कारण जिल्लामा खाद्य संकट देखिएपछि चामल माग्दै नाम्खा गाउँपालिका–६ का अध्यक्ष पाल्जोर तामाङसहितको टोली सोमबार काठमाडौं पुगेको थियो ।

प्रकाशित : मंसिर १०, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?