किसान अन्य खेतीमा लागेपछि चिनी उद्योगले पाएनन् उखु- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसान अन्य खेतीमा लागेपछि चिनी उद्योगले पाएनन् उखु

समयमै भुक्तानी नपाउने समस्याले किसान वैकल्पिक खेतीतर्फ आकर्षित हुँदा उखु उत्पादन घट्दो
नवीन पौडेल

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीमा सञ्चालित चिनी उद्योगलाई उखु अभाव हुन थालेको छ । समयमा भुक्तानी नपाउने समस्यापछि किसान वैकल्पिक खेतीतर्फ आकर्षित भएपछि उद्योगलाई उखु अभाव हुन थालेको हो ।

जिल्लामा रहेका इन्दिरा, वाग्मती र लुम्बिनी चिनी उद्योगमध्ये लुम्बिनी दुई वर्षदेखि बन्द छ । उखु अभावकै कारण बाँकी दुई उद्योगले पनि क्षमताअनुसार क्रसिङ गर्न सकेका छैनन् ।

वैकल्पिक खेतीका अलवा स्थानीयले भेली उद्योगमा समेत उखु प्रयोग गर्न थालेकाले पनि चिनी उद्योगलाई अभाव हुन थालेको हो । ‘चिनीभन्दा भेली उद्योगलाई बेच्दा केही रकम कम भए पनि उधारो खेप्नुपर्दैन,’ प्रतापपुरका रोहित गुप्ताले भने, ‘चिनी उद्योगले तत्काल रकम दिन्नन्, मूल्य पनि बढाउँदैनन् । अनि हामीले किन उखु दिने ?’

चिनी उद्योगहरूलाई जिल्लामा अहिले ४० लाख क्विन्टल उखु आवश्यक छ । तर मुस्किलले १० लाख क्विन्टल मात्र उत्पादन भइरहेको छ । जसका कारण चिनीको उत्पादन घट्ने र सञ्चालनमा रहेका उद्योगसमेत संकटमा पर्ने सम्भावना छ । उखु उत्पादन घट्दै गएपछि जिल्लाको वाग्मती चिनी उद्योगले किसानलाई उन्नत जातको बीउ र प्राविधिक सहयोग नि:शुल्क रूपमा उपलब्ध गराउने घोषणा गरेको छ ।

किटनाशक औषधि र खेत जोत्नका लागि कृषि सामग्रीसमेत उपलब्ध गराइने उद्योगको उखु विभाग शाखा प्रमुख होमकान्त लम्सालले बताए । ‘उखुको उत्पादन बर्सेनि घट्दो छ । त्यसैले किसानलाई थोरै क्षेत्रमा धेरै उत्पादन हुने उन्नत जातको बीउ र अन्य प्राविधिक सहयोग गर्ने योजना ल्याएका छौं,’ उनले भने, ‘उत्पादन नबढाउने हो भने जिल्लाका चिनी उद्योग नै संकटमा पर्ने निश्चित छ । त्यसैले यसतर्फ ध्यान दिन आवश्यक छ ।’

सामान्य किसानले लगाउने परम्परागत उखुको बीउबाट प्रतिकठ्ठा १५ देखि २० क्विन्टल उत्पादन हुने गर्छ । तर उन्नत जातको कोजा–८५ बीउबाट त्यति नै जग्गामा ४५ देखि ५० क्विन्टल उखु उत्पादन हुने उखु उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताए । ‘उद्योगको लापरबाही र हेपाहा प्रवृत्तिले बाध्य भएर उखु खेतीबाट किसान विस्थापित हुँदा अहिलेको अवस्था आएको हो,’ उनले भने, ‘अब उद्योगलाई उखु अभाव हुन थालेपछि उद्योग आफैंले उन्नत जातको बीउ लगाउन प्रोत्साहन गर्न खोजेका छन् । यसले किसान र उद्योग दुवै पक्षलाई फाइदा पुग्छ ।’

जिल्लाका उखु किसानले अझै ५ वर्षअघिको बक्यौता रकम पाउन बाँकी छ । इन्दिरा सुगर मिलबाट मात्रै १ करोड २५ लाख रुपैयाँ पाउन बाँकी रहेको समितिको भनाइ छ । उधारोमा उखु बिक्री गर्नुपर्ने समस्या बढेपछि किसानहरू अहिले केरा खेती र अन्य उत्पादनतर्फ आकर्षित भएका छन् । जसको कारण उखुको उत्पादन घट्दो छ ।


प्रकाशित : मंसिर ९, २०७८ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्

प्रज्ञाको ‘तस्बिरमा नेपाल’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रज्ञा–प्रतिष्ठानले सिंगो नेपाललाई तस्बिरमा हेर्न सकिने सामग्रीका रूपमा ‘तस्बिरमा नेपाल’ नामक पुस्तक बजारमा ल्याएको छ । नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका हिमाल, पहाड, तराई र उपत्यका सबै क्षेत्रका महत्वपूर्ण तस्बिरहरूलाई एउटै कृतिमा समेटेर प्रकाशन गरेको हो ।


पुस्तकमा फोटो पत्रकार भरतबन्धु थापाले स्थलगत तथा हवाइ साधनको प्रयोग गरी खिचेका नेपालको भौगोलिक सुन्दरता, पुरातात्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्व राख्ने ५ सयभन्दा बढी रंगीन तस्बिरहरू यस पुस्तकमा समेटिएका छन् । पुस्तकमा प्रदेश नम्बर १ देखि सुदूरपश्चिम प्रदेशसम्मका सात प्रदेशलाई सात खण्डमा विभाजन गरी तिनलाई चिनाउने दृश्यसामग्रीहरूलाई अलग–अलग रूपमा प्रस्तुत गरिएकोले पुस्तक फोटो पत्रकारिता तथा नेपाल चिनाउने सामग्रीहरूमध्येमा निकै उपयोगी हुने प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले बताए ।

‘एउटै कृतिमा एकै ठाउँमा बसेर सिंगो देश हेर्न सकिन्छ,’ उपाध्यायले भने, ‘पुस्तकमा तस्बिरै–तस्बिरबाट नेपाललाई देखाइएको हुनाले यो सबै उमेरसमूहका लागि रोचक, मनोरञ्जक र ज्ञानवद्र्धक पनि हुनेछ ।’ नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक, पुरातात्विक विषयमा गहिरो अनुसन्धान गर्न चाहनेले पनि पुस्तकबाट महत्वपूर्ण सूचनाहरू प्राप्त गर्न सक्नेछन् ।

प्रतिष्ठानले नेपाल चिनाउने बृहत् ग्रन्थका रूपमा ‘नेपाल दर्पण’ नामक ग्रन्थ प्रकाशन गर्ने घोषणा दुई वर्षअगाडि नै गरेको थियो । कोभिड–१९ का कारण सरकारबाट आवश्यक बजेट प्राप्त नभएपछि ग्रन्थको अनुसन्धान तथा लेखन कार्य पूरा हुन सकेको छैन । तस्बिरबाट मात्र भए पनि सिंगो मुलुक चिनाउने योजना पूरा भएको उपाध्यायले सुनाए । उनका अनुसार प्रतिष्ठानको बिक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा पुस्तक प्राप्त गर्न सकिनेछ ।

प्रकाशित : मंसिर ९, २०७८ १७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×