सेबोनको अध्यक्ष सिफारिस समिति पुनः गठन गरिँदै- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

सेबोनको अध्यक्ष सिफारिस समिति पुनः गठन गरिँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष सिफारिस समिति पुनः गठन हुने भएको छ । यसअघि अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सिफारिस समिति बनाएको थियो । त्यसलाई रोक्दै मन्त्रिपरिषद्बाटै निर्णय गरी पुन समिति गठन गर्न लागिएको स्रोतले बतायो । धितोपत्र ऐनको दफा ७ मा सेबोनको अध्यक्ष छनोटका लागि मन्त्रिपरिषद्बाटै निर्णय गरी सिफारिस समिति गठन गर्नुपर्ने प्रावधान छ ।

अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिसकेको छ । समितिमा अर्थसचिव मधुकुमार मरासिनी र नारायण पौडेल सदस्य छन् । समितिले अध्यक्षका लागि सिलबन्दी आह्वान गरी आवेदन संकलन गरिसकेको थियो । १२ जना प्रत्याशीले आवेदन दिएका छन् ।

तर अहिले यी सबै प्रक्रिया रोकेर पुनः सिफारिस समिति गठन गर्न लागिएको हो । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकबाटै सिफारिस समिति गठनबारे निर्णय हुने बताइएको छ । ‘आजका मितिसम्म पौडेल संयोजक रहेको सिफारिस समितिलाई नै मन्त्रिपरिषद्ले मान्यता दिने र प्राप्त आवेदनबाटै अध्यक्ष सिफारिस गर्ने योजना छ,’ स्रोतको दाबी छ । सोही समितिले हालसम्म प्रत्याशीको आवेदनमाथि अध्ययन गरी अध्यक्ष छनोट प्रक्रिया अघि बढाइने स्रोतको दाबी छ ।

अध्यक्षका लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक नवराज अधिकारी, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंको आवेदन परेको छ । बाँकी आवेदकमा अनिल पौडेल, केशवप्रसाद श्रेष्ठ, जीवन अम्गाईं, रमेश हमाल, अम्बिका शर्मा लामिछाने र हेमन्त बस्याल छन् ।

सेबोन अध्यक्षबाट भिष्म ढुंगाना बर्खास्त भएपछि यो पद खाली छ । सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्न भएको भेटिएपछि ढुंगानालाई सरकारले गत असोज १९ मा बर्खास्त गरेको थियो । धितोपत्र ऐन २०६३ मा अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको पेसागत अनुभव हासिल गरेको हुनुपर्ने प्रावधान छ ।=

प्रकाशित : मंसिर ९, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

चार महिनामा ६१.५७ प्रतिशतले बढ्यो आयात

व्यापार घाटा ५ अर्ब ६८ अर्ब नाघ्यो, वैदेशिक व्यापारमा आयातको हिस्सा ८८.७९ प्रतिशत र निर्यातको ११.२१ प्रतिशत
कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो चौमासिकमा नेपालले गरेको वस्तु आयात ६१.५७ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा यसवर्ष २ खर्ब ४७ अर्ब ४० करोड रुपैयाँ बराबरले आयात बढेको छ ।

गत साउन १ देखि कात्तिक मसान्तसम्ममा ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यही अवधिमा निर्यात भने ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँ बराबरको छ । यो गत वर्षको यही अवधिको तुलनामा १०४ प्रतिशतले बढी हो । चार महिनामा कुल ७ खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा नेपालले ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको घाटा बेहोरेको छ ।

यद्यपि, पहिलो चौमासिकमा आयात–निर्यात अनुपात भने गत वर्षको तुलनामा घटेको छ । गत वर्ष कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.९२ प्रतिशत र निर्यातको हिस्सा ९.०८ प्रतिशत थियो । तर चालु आर्थिक वर्षको यही अवधिमा यस्तो अनुपात क्रमशः ८८.७९ र ११.२१ प्रतिशत छ । कुल वैदेशिक व्यापारमा गत वर्षको तुलनामा आयात अनुपात २.३४ प्रतिशतले घटेको छ भने निर्यात अनुपात २३.४८ प्रतिशतले बढेको छ ।

यो अवधिमा नेपालले भारतबाट मात्र ३ खर्ब ८५ अर्ब ९५ करोड रुपैयाँ बराबरको सामान भित्र्याएको छ भने ६६ अर्ब ९४ करोड ३९ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । भारतसँगको मात्र व्यापार घाटा ३ खर्ब १९ अर्ब १ करोड ३१ लाख रुपैयाँ देखिन्छ । त्यस्तै, चीनबाट नेपालले ९४ अर्ब ३० करोड १५ लाख रुपैयाँ बराबरको आयात गरेको छ भने ३१ करोड १२ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । जसअनुसार चीनसँग मात्रै भोगेको व्यापार घाटा ९३ अर्ब ९९ करोड रुपैयाँ छ । त्यसैगरी, इन्डोनेसियाबाट २३ अर्ब २६ करोड ८६ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा त्यहाँ १ करोड १९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अर्जेन्टिनासँग १९ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ बराबरको आयात र ३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिन्छ । संयुक्त अरब इमिरेट्स (यूएई) सँग १८ अर्ब ३८ करोड रुपैयाँ बराबरको आयात गर्दा १७ करोड ६२ लाख रुपैयाँ बराबर मात्रै निर्यात भएको छ ।

मुलुकभरका भन्सारमध्ये सबैभन्दा धेरै वीरगन्ज नाकाबाट २ खर्ब २३ अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने भैरहवा नाकाबाट १ खर्ब ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै, निर्यातमा वीरगन्ज, विराटनगर र त्रिभुवन विमानस्थल भन्सारबाट क्रमशः ३९ अर्ब ५६ करोड, २२ अर्ब ५१ करोड र ११ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु नेपालले विदेश पठाएको छ ।

यो अवधिमा नेपालले सबैभन्दा धेरै २६ अर्ब ४० करोड ११ लाख रुपैयाँ बराबर भटमास (सोयाबिन) को तेल निर्यात गरेको छ । कच्चा सोयाबिन तेलको आयात पनि उच्च छ । विभागका अनुसार कात्तिक मसान्तसम्ममा २७ अर्ब २२ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएको छ । त्यस्तै, १८ अर्ब रुपैयाँ बराबरको पाम आयल, १ अर्ब ६० करोड रुपैयाँ बराबरको अलैंची र २ अर्ब ३ करोड रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात गरेको छ ।

नेपालको वैदेशिक व्यापारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयातको अवस्था हेर्दा ३४ अर्ब ३३ करोड रुपैयाँ बराबरको डिजेल, १८ अर्ब ६६ करोड रुपैयाँ बराबरको पेट्रोल र १७ अर्ब ४३ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास भित्रिएको छ ।

प्रकाशित : मंसिर ९, २०७८ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×