कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मल अभावले किसान मारमा

कृषकहरु भन्छन्– ‘सरकारले मल दिन सक्दैन । भारतबाट ल्याउँदा पुलिसले खोस्छ । यो कस्तो नियम हो ?’ 

नेपालगन्ज, बर्दिया — खेत जोतेर तयार छ । यहाँका किसानले गहुँ छरेका छैनन् । ‘डीएपी मलबिना कसरी गहुँ छर्ने ? उब्जनी हुँदैन,’ बाँकेको जानकी गाउँपालिका मानपुरका किसान उद्धव यादवले भने, ‘दुई सातादेखि मलका लागि दौडधुप गरिरहेको छु । भेटेको छैन ।’ उद्धवमात्रै होइन, बाँके र बर्दियाका हजारौं किसान अहिले मलका लागि दौडधुप गरिरहेका छन् । तर, मल नपाउँदा हिउँदे बाली लगाउने समय घर्किंदै गएको उनीहरूले गुनासो छ । 

मल अभावले किसान मारमा

यतिबेला पश्चिम मधेसमा मलको चरम अभाव छ । मल अभाव भएको यो पहिलो वर्ष होइन । हरेक वर्ष मल अभावका कारण किसानहरू समस्यामा पर्दै आएका छन् । नेपालमै मल किन्न नपाउँदा किसानले भारतबाट चोरी गरेर ल्याउने गरेका छन् । ‘सरकारले मल दिन सक्दैन । भारतबाट ल्याउँदा पुलिसले खोस्छ । यो कस्तो नियम हो ?’ बर्दिया बढैयाताल गाउँपालिका–५ का रामवृक्ष चौधरीले भने, ‘खेतीपाती गर्नु भनेको अपराधी बन्नुजस्तै भएको छ । यहाँ मल नपाएपछि पैसा तिरेर भारतबाट ल्याउँदा पक्राउ गर्छ ।’

भारतबाट मल ल्याउन नपाउँदा किसानले गहुँ छर्न सकेका छैनन् । भारतबाट तस्करी गरी ल्याएको मल प्रहरीले पक्राउ गर्दा किसान दोहोरो मारमा पर्दै आएका हुन् । कृषि सामग्री संस्थान कम्पनी लिमिटेड बाँके र बर्दियाले खरिद गरेर ल्याएको मल एक दिनमै सकिने गरेको छ । ६० मेट्रिक टन मल आएको र उक्त मल एकै दिनमै सकिएको कृषि सामग्री संस्थान कम्पनी लिमिटेड बाँकेका प्रमुख रमेश पौडेलले बताए ।

‘मागभन्दा निकै थोरै मल आउँछ । एकै दिनमा सकिन्छ,’ उनले भने, ‘पछिल्लो पटक आएको मल राप्तीसोनारी र डुडुवा गाउँपालिकाका किसानलाई थोरथोरै वितरण गर्न सहकारीलाई दियौं ।’ उनका अनुसार बाँकेका लागि ३ हजार मेट्रिक टन युरिया, ६ हजार मेट्रिक टन डीएपी र १ सय टन पोटास आवश्यक पर्छ । मल बिक्रीका लागि ढेड सय सहकारी संस्था कृषि सामग्री लिमिटेडमा दर्ता छन् । त्यस्तै बर्दिया जिल्लाका लागि युरिया, पोटास र डीएपी गरी १२ हजार टन आवश्यक पर्छ । मल बिक्रीका लागि १ सय २० सहकारी संस्था कृषि सामग्री लिमिटेडमा दर्ता छन् ।

कृषि सामग्री संस्थान कम्पनी लिमिटेड बर्दियाका प्रमुख मोहनसिंह केसीले यस वर्ष ५ सय मेट्रिक टनमात्रै मल आउने बताए । आएको मल तुरुन्तै सकिने उनले जनाए । ‘बर्दियाका लागि १३ हजार मेट्रिक टन मल माग छ । हामीले पाउने कोटा ५ सय हो । अनि, कसरी पुर्‍याउन सकिन्छ ?’ उनको प्रश्न छ । कृषि सामग्री कम्पनी लिमिटेडले यस वर्ष प्रतिबोरा युरिया ८ सय ४६, डीएपी २ हजार २ सय ९६ र पोटास १ हजार ६ सय ९६ रुपैयाँ तोकेको छ । भारतबाट तस्कारी गरी ल्याएको सरदार नामक डीएपी मल १ हजार ८ सयदेखि २ हजार ५ सय रुपैयाँसम्ममा किसानहरू किन्न बाध्य छन् । त्यसरी किनेर ल्याएको मल पनि घरसम्म ल्याउन किसानलाई मुस्किल छ । मल ल्याइरहेको अवस्थामा प्रहरीको निगरानीमा परे पक्राउ पर्ने डर उनीहरूलाई छ ।

‘नेपालमा मल पनि नदिने, भारतबाट ल्याउँदा प्रहरीले पक्राउ गरेर दुःख दिने, यो कस्तो न्याय हो ?’ खजुरा गाउँपालिका रनियापुरका जाबेद खाँले भने । यतिबेला किसानहरू धान काटेर धमाधम हिउँदे बाली छरिरहेका छन् । सरकारले मल समयमै नदिँदा किसानलाई दुःख छ । स्थानीय कृषि सहकारीमा तीन/चारपल्ट धाए पनि मल पाउन सकेका छैनन् । मल नहाल्दा उत्पादन घट्ने कृषि अधिकारीहरू बताउँछन् ।

बर्दियामा रासायनिक मलको अभावले यस वर्ष पनि उत्पादनमा ह्रास आउने किसानले गुनासो पोख्न थालेका छन् । जिल्लामा गहुँका लागि चाहिने डीएपी मल अभाव भएपछि यहाँका किसान स्थानीय सहकारी संस्था, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमा धाउन थालेका छन् । कतिपय भारतीय सीमा नाकामा मल पाइन्छ भन्दै व्यवसायीसँग सम्पर्क गरिरहेका छन् । गुलरिया–११ का किसान जावेद गद्दीले सरकारले नेपालमै मल उपलब्ध गराउन नसके भारतबाट ल्याउन दिनुपर्ने बताउँछन् । ‘मल अभावमा खेत जोतेर के गर्ने ?’ उनले भने, ‘धान लगाउने समयमा पनि यस्तै भयो र अहिले पनि उस्तै ।’

प्रकाशित : मंसिर ८, २०७८ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?