१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

तातोपानी नाकाको पूर्वाधार र चिनियाँ व्यवहारले हैरान व्यवसायी

खासाबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिन लाग्छ । नजिक भएकाले व्यापारीहरु उत्तरी तातोपानी नाकाप्रति आकर्षित थिए । तर बारम्बार समस्या बेहोर्नुपर्दा निरूत्साहित छन् । 
अनिश तिवारी

तातोपानी, सिन्धुपाल्चोक — भदौ नलाग्दै भोटेकोसी गाउँपालिका–१ लिस्तीकोटका व्यवसायी दोर्जे लामाले खासास्थित चिनियाँ कम्पनी सिच्याङबाट अघिल्लो समयझैं मौसम अनुकूल रेडिमेड सामग्री झिकाए । १४/१५ दिनमा तातोपानी नाका आइपुग्नुपर्ने ३ देखि ४ कन्टेनर सामग्री डेढ महिना खासामै रोकिए । मध्य असोजपछि तातोपानी नाकाको भन्सार प्रक्रिया सकेर काठमाडौं आइपुग्दासम्म ती सामग्री सोचेको जसरी बिक्री हुन सकेनन् । 

तातोपानी नाकाको पूर्वाधार र चिनियाँ व्यवहारले हैरान व्यवसायी

‘अघिल्लो र गएको दसैंका सामानको अवस्था पनि झन्डै त्यही भयो, झन्डै दसैं सकिने अवस्थामा सामग्री आइपुगे, हामी रुने न हाँस्ने अवस्थामा पुग्यौं,’ व्यवासायी लामाले गुनासो गरे । मौसमअनुसारका करोडौंका लत्ताकपडा ढिलो गरी आउँदा नोक्सानी बेहोर्नुका साथै सामान बिकाउनै मुस्किल परेको उनले बताए । ‘चिनियाँ पक्षको मनमौजी अव्यावहारिक रुटले यस्तो भएको हो, गर्मीका सामान जाडोमा आएपछि कसरी सिजनल व्यापार गर्नु ?’ उनले प्रश्न गरे ।

सीमित कन्टेनरबाट सामग्री आइरहेकाले यस्तो समस्या झेल्नुपरेको र रेडिमेडसँगै फलफूल र कुहिने सामानमा घाटा बेहोर्नुपरेको यस्तै समस्या बेहोरिरहेका व्यवसायी अमृत कार्कीको भनाइ छ । ‘चीनको आफ्नो रुचि देखिन्छ, सामग्री ढिला आइपुग्दा व्यापारीको सास्ती आफ्नै स्थानमा छ,’ उनले भने । तातोपानी नाकाबाट स्याउ, अदुवा, रेडिमेड लत्ताकपडा सामग्री बोकेर अहिले प्रतिदिन ७ वटा कन्टेनर मात्रै आइरहेका छन् । चीनबाट दिनहुँ ३० देखि ३५ कन्टेनर छाडिदिए समयमै सबै सामग्री व्यापारीले पाउने र सहज हुने उनले बताए ।

काठमाडौंबाट चीनको व्यापारिक क्षेत्र खासा १२४ किमि र रसुवागढी १६४ किमि दूरीमा पर्छ । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किमि कम दूरी पर्छ । चीनका जुनसुकै बजार या कम्पनीबाट झिकाएका सामग्री भए पनि खासाबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिन लाग्छ । ‘नजिकैको दूरी भएकाले व्यापारीहरू उत्तरी तातोपानी नाकाप्रति आकर्षित थिए । तर यस्तो बारम्बार समस्या बेहोर्नुपर्दा निरुत्साहित छन्,’ कार्कीले भने ।

सीमित कन्टेनरबाट हुने आयातका कारण अघिल्लो दसैंमा करोडौं मूल्यका रेडिमेडसहित अन्य सामान काठमाडौं भित्रिन महिनौं लागेको उनले बताए । उत्तरी तातोपानी नाका जस्तै रसुवागढीको अवस्था उस्तै रहेपछि व्यवसायीहरू आयातका लागि भारतीय नाकामा निर्भर हुन थालेको व्यवसायीहरूको भनाइ छ । ‘निर्यात व्यवसायी सबै पलायन भएका छन् । उत्तरी नाकाको अवस्था ठीक छैन । तातोपानी नाकामा झनै कठिन भएको छ,’ व्यवसायी ध्रुव थापाले भने ।

सामग्री ढिलो आउनु, बाढीपहिरोले खासा र तातोपानीको व्यापारिक भेगको रुट अवरुद्ध भइरहँदा खासाबाट व्यापार गर्दा ढुवानी महँगो हुने समस्या देखिएको उनले सुनाए । यही बर्खा अवधिमा लिपिङमा पुल भास्सिएर सडक अवरुद्ध हुँदा सामग्री बोकेर लिपिङ बजारबाट कन्टेनरमा ढुवानी गर्दा झन्डै दोब्बर मूल्य परेको थापाले जानकारी दिए । ‘यहाँको भौतिक संरचनाकै कारण कन्टेनर धरापमा राखेझैं हुन्छ । त्यहीमाथि ‘चाइनिज रुट सिस्टम’ ले सीमित कन्टेनरबाट ढिलो गरी सामग्री भित्रिँदा व्यवसायी मारमा छन्,’ उनले भने ।

आयातित सामान समयमै भित्र्याउन नसके पुनः बिक्री गर्न कठिन हुने र कोरोनाकालयता कोदारी राजमार्ग (२६ किमि) मा सिल्क कम्पनीका कन्टेनरले मनपरी भाडा असुल्दा झनै समस्यामा परेको व्यवसायीको गुनासो छ । नाका सहज बनाउन ज्ञापनपत्र बोकेर ढोकाढोका धाउन थालेको महिनौं बितिसकेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । भूकम्प, बाढीपहिरो र कोभिडको बहानामा चीनले स्थल नाका हुँदै आएको सामग्री आयात–निर्यात व्यापार निरुत्साहित गरेको देखिन्छ । तातोपानीबाट व्यापार गर्दै आएका सयौं व्यवसायी चिनियाँ कठोर नीतिका कारण दक्षिणको भर पर्न बाध्य भएको उनको भनाइ छ ।

बैंकको ब्याज, गोदाम भाडा एवं कर्मचारी तलबका कारण सयौं व्यवसायी पेसाबाटै पलायन भएका छन् । व्यापारी, उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले तातोपानी नाका सहज बनाउन माग गर्दै ६/६ महिनामा प्रधानमन्त्री, मन्त्री र कर्मचारीलाई ज्ञापनपत्र बुझाउँदै आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए । केही समयअघि प्रधानमन्त्री, परराष्ट्र मन्त्रालयसहित दूतावासमा नाका सहज बनाउनेबारे छलफल भएपछि पहिलेभन्दा तेब्बर २५ देखि ३० कन्टेनरबाट सामग्री भित्रिएको उनले बताए । तर पछि कन्टेनर त्यही १०/१२ मा झर्‍यो, उत्साहित व्यवसायी पुनः निराश भए ।

भूकम्पअघि तातोपानी नाका पूर्ण खुला थियो, नेपाली व्यापारी खासा र अन्य बजार गएर दुई सय कन्टेनरसम्ममा सामग्री ल्याउन पाउँथे । भूकम्पको चार वर्षपछि मालवाहक रूपमा मात्रै खुलेको तातोपानी नाकालाई भोटेकोसीको बाढी र कोरोनाकालको लकडाउनले खुम्चाइदिएको उनले जनाए । ‘चीनबाट दिनहुँ ३० देखि ३५ कन्टेनर छाडिदिने हो भने व्यापार ट्र्याकमा आउँथ्यो, अहिलेको सीमित कन्टेनरले व्यापारी मारमा परेका छन्,’ बस्नेतले भने ।

दिनहुँ ६ देखि ७ कन्टेनरबाट अधिकांश रोल कपडा, स्याउ र लसुन भित्रिरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । कोरोनाकालअघि यो नाकाबाट आर्थिक २०७६/७७ मा एक अर्ब ५९ करोड राजस्व संकलन भएको थियो । ‘सीमित कन्टेनरमा सामग्री आउने भएकाले अहिले राजस्व वृद्धि हुन सकेको छैन । सडक अवरुद्ध भइरहने समस्या उस्तै छ,’ उनले भने । तातोपानी नाकाले गत आर्थिक वर्षमा लक्ष्यको १८ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो ।

प्रकाशित : मंसिर ८, २०७८ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?