नेपाली चियालाई दोहोरो जाँच

परीक्षणको बहानामा नेपाली चियालाई भारतमा निषेध गर्न खोजिएको व्यवसायीको भनाइ
पर्वत पाेर्तेल

काँकडभिट्टा — नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर बिक्री गरेको खुलेपछि भारतको केन्द्रीय वाणिज्य मन्त्रालयको निर्देशनमा टी काउन्सिलले नेपाली चियामाथि पुनः प्रयोगशालामा परीक्षण (ल्याब टेस्ट) गर्ने भएको छ । परीक्षणको नतिजा आएपछि मात्रै नेपाली चियालाई भारतीय बजारमा बिक्री इजाजत दिइनेछ ।

नेपाली चियालाई दोहोरो जाँच

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले परीक्षणको बहानामा नेपाली चियामाथि घुमाउरो पारामा निषेध गर्न खोजिएको आरोप लगाए । ‘प्रयोगशालामा परीक्षण भइसकेको नेपाली चियालाई टी काउन्सिलले पुनः परीक्षण गर्ने जनाएको छ,’ उनले भने, ‘यसले हामीलाई दोहोरो क्षति पुग्छ ।’ उनका नेपाली चिया व्यवसायीले परीक्षणबापत ३ महिनामा करिब ५० हजार भारतीय रुपैयाँ तिर्दै आएका छन् । पुनः परीक्षण गर्ने कुराले फेरि आर्थिक भार थपिनेछ । त्यसमाथि परीक्षणको रिपोर्ट आउन केही समय लाग्छ । रिपोर्ट नआउन्जेल चिया बिक्री गर्न पाइँदैन । ‘दोहोरो मापदण्डले थप आशंका उब्जिएको छ,’ उनको दाबी छ, ‘नेपाली चियालाई जसरी पनि रोक्ने भारतको रणनीति हो यो ।’

नेपाली चिया आयातका लागि भारत पानीट्यांकीको भन्सार कार्यालयमार्फत भारतीय आयातकर्ताहरूले टी काउन्सिलमा धमाधम अनलाइन निवेदन दिन थालेका छन् । नेपाली चिया आयातमा भारतले नयाँ मापदण्ड लागू गरेपछि इजाजत लिन अनलाइनमार्फत निवेदन दिने प्रक्रिया सुरु भएको भन्सार एजेन्ट रोशन अग्रवालले जानकारी दिए ।

चिया नेपाली, ब्रान्ड दार्जिलिङ !

मेची भन्सार कार्यालयका अनुसार भारतीय अवरोधका कारण एक साताभन्दा बढी समयदेखि रोकिएको चियाको आंशिक निर्यात सुरु भएको छ । मंगलबार ५ गाडी अर्थात् करिब ६० टन चिया जाँचपासपछि निर्यात भएको हो । ‘भारतको चिया काउन्सिलको प्रमाणपत्रका आधारमा निर्यात प्रक्रिया सुरु भएको छ, यो सकारात्मक पक्ष हो,’ भन्सार प्रमुख केशवराज ओलीले भने, ‘भन्सारको गोदाममा थन्किएको करिब ५० टनभन्दा बढी चिया पनि चाँडै निर्यात हुने आशा छ ।’

भन्सार एजेन्ट अग्रवालले काउन्सिलको इजाजतपछि निर्यात भएको चिया आयातकर्ताले गोदाममा लगेर भण्डारण गर्छन् । टी काउन्सिलका अधिकारीले गोदाममै गएर चियाको नमुना संकलन गरी जाँचका लागि पठाउँछन् । जलपाइगुडीमा रहेको काउन्सिलको प्रयोगशालामा जाँच गरी नतिजा आउन करिब ३ साता जति लाग्नेछ । ‘ल्याब रिपोर्ट नआउन्जेल गोदामको चिया सिल गरिन्छ,’ उनले भने, ‘नतिजा राम्रो आए बिक्रीका लागि इजाजत दिइन्छ, नराम्रो आए सिज गरिन्छ ।’

प्रकाशित : मंसिर ८, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?