लघुवित्त कम्पनीहरूले सेयरमा लगानी गर्न नपाउने 

काठमाडौँ — अब लघुवित्त कम्पनीहरूले पनि सेयरमा लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले घ वर्गका वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन जारी गर्दै लघुवित्त कम्पनीहरुलाई कुनै पनि संस्थाको सेयरमा लगानी गर्न प्रतिबन्ध लगाएको हो ।

लघुवित्त कम्पनीहरूले सेयरमा लगानी गर्न नपाउने 

सेयर मात्रै नभई डिवेन्चर (ऋणपत्र) तथा म्युचुअल फण्ड (सामुहिक लगानी कोषका योजना)मा पनि लगानी गर्न नपाउने भएका छन् । हाल यसरी लगानी भएको खण्डमा २०७९ असार मसान्तभित्र विनिवेष गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

निर्देशनमा भनिएको छ ‘संस्थाले संगठित संस्थाको सेयर, डिवेन्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाइने छैन । हाल कायम रहेका यस्ता लगानीहरु २०७९ असार मसान्तभित्र विनिवेष गरिसक्नुपर्नेछ ।’

त्यस्तै लघुवित्त संस्थाले यसअघि धितोपत्र विनिमय बजारमा सूचीकृत भइनसकेको कुनै संगठित संस्थाको सेयर तथा डिवेञ्चरमा लगानी गरेको भएमा उक्त सेयर तथा डिवेञ्चरमा लगानी भए बराबरको रकम लगानी समायोजन कोषमा जम्मा गर्नुपर्नेछ । त्यस्तो कोषमा रहेको रकम उक्त सेयर तथा डिवेञ्चर सूचीकृत वा विनिवेष नभएसम्म अन्य प्रयोजनमा उपभोग गर्न पाइने छैन ।

साथै लघुवित्त कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ र सो पश्चातका वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस)अनुसार तयार गर्नुपर्ने छ । वित्तीय विवरणमा प्रतिसेयर आम्दानी वार्षिकीकरण गरी प्रकाशन गर्नुपर्नेछ ।

लघुवित्तहरुले लेखांकन भएको आयलाई वितरण गर्दा वितरण हुने रकमको २० प्रतिशत रकम जनरल रिजर्भमा जम्मा गरी बााकी ८० प्रतिशत मात्रै वितरण गर्न पाउने सीमा तोकिएको छ । विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामुहिक जमानीमा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति समूह सदस्य बढीमा ५ लाखसम्म लघुकर्जा उपलव्ध गराउन सकिने छ । यसअघि ३ लाख सम्मको सीमा तोकिएको थियो ।


प्रकाशित : मंसिर ७, २०७८ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?