कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

चिया नेपाली, ब्रान्ड दार्जिलिङ !

छानबिनमा टाटा कन्जुमर
पर्वत पोर्तेल

काँकडभिट्टा — भारतको व्यापारिक कम्पनी टाटा कन्जुमर प्रोडक्ट लिमिटेड (टीसीपीएल) ले नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर बिक्री गरेको गुनासो बढेपछि केन्द्रीय वाणिज्य मन्त्रालयले छानबिनका लागि चिया बोर्डलाई निर्देशन दिएको छ ।

चिया नेपाली, ब्रान्ड दार्जिलिङ !

टाटा टीले उपभोक्तालाई पर्याप्त जानकारी नदिई प्याकेट चियामा नेपाली चिया मिसाएर बिक्री गरी गैरकानुनी काम गरेको भन्दै मन्त्रालयले छानबिनका लागि निर्देशन गरेको हो । टीसीपीएल दार्जिलिङ चियाको सबैभन्दा ठूलो खरिदकर्तामध्ये एक हो । जसले वार्षिक करिब १० लाख किलो चिया किन्छ ।

आरोप प्रमाणित भए कानुनबमोजिम कडा कारबाही गरिने टी बोर्डले जनाएको छ । यसअघि तृणमूल कंग्रेसकी पूर्वराज्यसभा सांसद शान्ता क्षेत्रीलगायतले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय वाणिज्यमन्त्री पीयूष गोयललाई पटक–पटक पत्राचार गर्दै नेपाली चिया आयातमा रोक लगाउन माग गरेका थिए । ‘नेपाली चियाले दार्जिलिङको चिया उद्योगलाई ध्वस्त पारिरहेको छ, आयात रोक्नुको विकल्प छैन,’ अघिल्लो वर्ष शान्ता क्षेत्रीले पठाएको पत्रमा उल्लेख छ ।

टाटा गोल्डले आफ्नो ब्रान्डमा नेपाली चिया मिसाएको, उत्पत्ति मुलुक नखुलाएको, आयातकर्ताको नाम, ठेगाना र चिया प्याकेजिङको विस्तृत विवरण नखुलाएको पाइएको छ । नेपाली चिया मिसावटबारे चिया बोर्डमा उजुरी गरे पनि कारबाही नभएको दार्जिलिङको रङटोङ चिया बगानका मालिक सञ्जय चौधरीको दाबी छ । मन्त्रालयले यस पटक भने कडा निर्देशन दिएकाले कारबाही हुनेमा चौधरीलाई आशा छ । मन्त्रालयले बोर्डलाई चिया मिसावटको विस्तृत अध्ययन गर्न, साइट भ्रमण गर्न र आयातकर्ताहरूको अभिलेख जाँच गर्न वरिष्ठ अधिकारीहरू सम्मिलित पाँच सदसीय उच्चस्तरीय समिति गठन गर्न पनि भनेको छ ।

मन्त्रालयको निर्देशनपछि बोर्डले नेपालसँग सीमा जोडिने भन्सार नाकालाई परिपत्र जारी गरेको छ । मंसिर ११ मा बोर्डले गुणस्तरहीन चियाको आयात नियन्त्रण गर्न दुई वटा परिपत्र जारी गरेको थियो । यसअनुसार अब नेपाली चियाको नमुना संकलन गरी परीक्षणका लागि अनिवार्य प्रयोगशालामा पठाइनेछ । आयातकर्ताले पनि चिया परिषद्बाट इजाजतपत्र र क्लियरेन्स प्रमाणपत्र लिनुपर्नेछ । वितरणका लागि चिया आयात गर्ने सबै निकायले गुणस्तर परीक्षणको नमुना संकलन गरी बोर्डलाई २४ घण्टाभित्र भण्डारण गर्ने ठाउँको जानकारी गराउनुपर्नेछ । आयातको बिक्री बीजकमा चियाको उत्पत्ति पनि अनिवार्य उल्लेख गर्नुपर्नेछ ।

भारतीय चिया बोर्डका अध्यक्ष प्रभात बेजबोरुआले नेपाली चिया आयातमा रोक लगाउने नियत नरहेको प्रस्ट पार्दै भने, ‘नेपाली चियाको गुणस्तर कायम गर्ने हाम्रो प्रयत्न मात्रै हो, रोक लगाउने नियत होइन ।’ मार्च ३१, २०२० सम्म तीन वर्षमा भारतले ६०.३५ मिलियन केजी नेपाली चिया आयात गरेको थियो । यसमध्ये २३ दशमवल ४३ मिलियन केजी भारतले तेस्रो देश निकासी गरेको छ । ‘नेपालबाट आयातित चिया सबैजसो विदेश निर्यात हुन्छ । आफ्नो उत्पादन भने आन्तरिक बजारमै खपत हुन्छ,’ दार्जिलिङ टी बोर्डका एक अधिकारीले भने ।

प्रकाशित : मंसिर ७, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?