तीन महिनामा १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुने प्रक्षेपण

काठमाडौँ — आउँदा महिनामा मूल्य वृद्धि दरमा चाप पर्ने सम्भावना रहेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ ले यस्तो देखाएको हो ।

तीन महिनामा १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुने प्रक्षेपण

सर्वेक्षणमा सहभागी उत्तरदाताले आउँदो तीन महिनाभित्र १०.६ प्रतिशत र एक वर्षमा ११.३ प्रतिशतले मूल्यवृद्धि हुनसक्ने अनुमान गरेका हुन् । केही महिना यता बजारमा मूल्यवृद्धिको प्रवृत्ति, बजारमा वस्तु तथा सेवाको उपलब्धता लगायतका आधारमा यस्तो प्रक्षेपण आएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणमा सहभागी उत्तरदाताहरुबाट उमेर समूहका आधारमा मूल्यवृद्धिको फरक फरक प्रक्षेपण प्राप्त भएको छ । जसअनुसार २५ वर्षसम्मका उपभोक्ताले आगामी तीन महिना देखि एक वर्षसम्म बजार मूल्य वृद्धि दर क्रमश: १०.६ र ११.३ प्रतिशतले बढ्ने अनुमान गरेका छन् । तर, ५६ वर्षमाथिका उपभोक्ताबाट आगामी तीन महिनामा ११.२ प्रतिशतले र एक वर्षमा १२.४ प्रतिशतले मूल्यवृद्धि हुनसक्ने अनुमान प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत असोज १७ देखि २२ गतेसम्ममा मुलुकभरका १० वटा ठूला शहरी क्षेत्रका ७ वटा बजारबाट विभिन्न उमेर समूहका उपभोक्तासँग स्थलगत अन्तरवार्ता गरेर सर्वेक्षण गरेको जनाएको छ । सोही क्रममा शहरी क्षेत्रका ५ सय १० व्यक्तिगत उपभोक्ताबाट प्राप्त उत्तरका आधारमा सर्वेक्षणको नतिजा निकालिएको राष्ट्र बैंकले प्रष्ट्याएको छ ।


प्रकाशित : मंसिर ६, २०७८ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?