कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दक्षिण एसियामा अन्तरदेशीय लगानी न्यून

काठमाडौँ — दक्षिण एसियाली मुलुकबीचमा कमजोर राजनीतिक सम्बन्धको असर यो क्षेत्रको आर्थिक गतिविधिमा देखिएको छ । विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार दक्षिण एसियाली मुलुकहरुको व्यापार र लगानीको अवस्था निकै कमजोर देखिएको छ । प्रतिबन्धात्मक, विभेदपूर्ण र अपारदर्शी लगानीले यस क्षेत्रको आर्थिक सम्बन्ध सुमधुर हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियामा अन्तरदेशीय लगानी न्यून

विश्व बैंक ग्रुपअन्तर्गतको साउथ एसिया डेभलपमेन्ट फोरमले गत बिहीबार सार्वजनिक गरेको ‘रिजनल इन्भेस्टमेन्ट पायोनियर्स इन साउथ एसिया : द पेअफ अफ नोइङ योर नेइबोर’ प्रतिवेदनअनुसार दक्षिण एसियाली मुलुकहरुमा एकअर्काबीच लगानी सम्बन्ध निकै कमजोर देखाएको हो । लगानी र व्यापारका लागि दक्षिण एसियाली मुलुकहरुबीच विश्वासको वातावरण नरहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

यस क्षेत्रका लगानीकर्ताले अर्को देशमा लगानीको वातावरणबारे कति बुझेका छन् भनेर अध्ययनपछि सार्वजनिक गरिएको विश्व बैंकको उक्त प्रतिवेदनले सम्भावनाको एकतिहाई पनि प्रयोग हुन नसकेको उल्लेख गरेको छ । दक्षिण एसियाली मुलुकहरुले छिमेकी देशमा गरेको व्यापार र लगानी विश्वका अरु देशसँगको भन्दा कम रहेको प्रतिवेदनमा जनाइएको छ ।

पछिल्लो एक दशकको अवधिमा दक्षिण एसियालाई द्रुत गतिको आर्थिक वृद्धिदर हासिलमा उदयीमान क्षेत्रका रुपमा हेरिँदै आएको छ । वस्तु र सेवाको प्रयोगमा मध्यम वर्गको माग बढ्दै जाँदा व्यापार बढेको उल्लेख छ । विश्वको कुल गार्हस्थ उत्पादनमा ४ प्रतिशत योगदान गर्ने दक्षिण एसियाली क्षेत्रले विश्वव्यापी रुपमा हुने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा भने १ दशमलव ५ प्रतिशत मात्रै योगदान गरेको प्रतिवेदनमा उल्लेख छ । विश्वव्यापी रुपमा परिचालन हुने एफडीआईको १९ प्रतिशत हिस्सा मध्यम र निम्न आर्थिक हैसियत भएका मुलुकले पाउँछन् ।

त्यस्तै पूर्वी एसियन मुलुकहरुले यस्तो लगानीको ४६ प्रतिशत बराबर हिस्सा पाउने गरेको प्रतिवेदनमा जनाइएको छ । अन्य विकासशील देशहरुसँगको तुलनामा दक्षिण एसियाली क्षेत्रमा भएको प्रत्यक्ष वैदेशिक लगानी सबैभन्दा कम हो ।

सन् २०१७ को तथ्याङ्कलाई आधार मानेर गरिएको विश्लेषणअनुसार नेपालबाट सबैभन्दा बढी सिङ्गापुरमा लगानी भएको छ । नेपालले सिङ्गापुरमा ५ करोड ४८ लाख अमेरिकी डलर बराबर लगानी गरेको छ । त्यस्तै नेपालले लगानी गरेका अरु मुलुकहरुमा क्रमश: रसिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, नाइजेरिया, अमेरिका, भारत, मोरिसस लगायत छन् । नेपाल मात्र नभई श्रीलंका, माल्दिभ्स, भारत र बंगलादेशले पनि सिंगापुरमा सबैभन्दा धेरै लगानी गर्छन् । बंगलादेशले अरु देशहरुमा गरेको लगानी हेर्दा नेपाल चौथो नम्बरमा छ ।

सिङ्गापुर, बेलायत र हङकङपछि बंगलादेशले नेपालमा धेरै लगानी गरेको छ । त्यस्तै, भुटानले पनि थाइल्याण्ड, भारत र इटाली पछि नेपालमा धेरै लगानी पठाएको देखिन्छ । अफगानस्तानबाट सबैभन्दा धेरै इटाली र रुसमा लगानी जान्छ । पाकिस्तानले भने संयुक्त अरब इमिरेट्समा सबैभन्दा धेरै लगानी गर्ने गरेको देखिन्छ ।

नेपालले भारतसँग दोहोरो करमुक्ति (डीटीटीए) र अन्तर्राष्ट्रिय लगानी सम्झौता गरेको छ । बंगलादेश, पाकिस्तान र श्रीलंकाले पनि नेपालसँग दोहोरो करमुक्ति सम्झौता गरेका छन् । तर अफगानस्थान, भुटान र माल्दिभ्ससँग नेपालले यस्तो सम्झौता गर्न बाँकी छ ।

सन् २०१८ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा दक्षिण एसियाली मुलुकहरुबाट हुने बाह्य लगानीमा सबैभन्दा धेरै भारतको हिस्सा छ । यस क्षेत्रबाट हुने वैदेशिक लगानीमा भारतले मात्र ९४ प्रतिशत हिस्सा ओगट्ने प्रतिवेदनमा उल्लेख छ । यद्यपि, कुल गार्हस्थ उत्पादनको तुलनामा बढी वैदेशिक लगानी गर्ने देशमा भने माल्दिभ्स पहिलो स्थानमा छ । माल्दिभ्सले आफ्नो जीडीपीको ५ प्रतिशत बराबर अरु देशमा लगानी गरेको जनाइएको छ ।

भारत र श्रीलंकामा त्यहाँका सरकारले विदेशमा लगानी गर्न स्वीकृति दिन्छन् भने सार्कका अरु देशहरुमा भने केन्द्रीय बैंकबाट यस्तो स्वीकृति दिइने गरेको छ ।


प्रकाशित : मंसिर ५, २०७८ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?