कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दूधको मूल्य बढाउने तयारी, बढेको रकममा ६९ प्रतिशत किसानले पाउने दावी

लिटरमा ६ देखि १० रुपैयाँसम्म बढाउन प्रस्ताव
राजु चौधरी

काठमाडौँ — सरकारले दूधको मूल्य बढाउने तयारी थालेको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, डेरी उद्योग संघ, डेरी एसोसिएसन, दूग्ध विकास संस्थान लगायतको प्रस्तावमा दूग्ध विकास बोर्डले मूल्य बढाउने तयारी थालेको हो ।

दूधको मूल्य बढाउने तयारी, बढेको रकममा ६९ प्रतिशत किसानले पाउने दावी

बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवका अनुसार कात्तिक २९ गते भएको छलफलमा सरोकारवाला पक्षले लिटरमा ६ देखि १० रुपैयाँसम्म बढाउन प्रस्ताव गरेका छन् । ‘प्रारम्भिक छलफलमा सबै निकायले दूधको मूल्य बढाउनुपर्ने सहितको प्रस्ताव पेस गरेका छन् । वैज्ञानिक आधारमा मूल्य बढाउनुपर्छ भन्ने बोर्डको बुझाई छ,’ कार्यकारी निर्देशक यादवले भने, ‘यही बीचमा सचिवज्यू परिवर्तन हुनुभयो । ब्रिफिङ नै गर्न सकेका छैनौं ।’

गाईंभैंसीलाई खुवाउने दाना लगायत मूल्य बढेको भन्दै दुग्ध उत्पादक सहकारी संघले मूल्य बढाउन माग गर्दै आएको छ । संघको प्रस्तावमा डेरी उद्योगीले पनि साथ दिएका छन् । मूल्य बढाउने सन्दर्भमा बोर्ड पनि सकरात्मक देखिन्छ । यद्यपी, बोर्डले वैज्ञानिक आधारमा बढाउनु पर्ने बताउँदै आएको छ ।

यादवका अनुसार दूधको मूल्य बढाउने सन्दर्भमा केही दिनभित्रै कृषि मन्त्री महिन्द्र राय यादव र सचिवलाई बिफ्रिङ गर्ने योजना छ । त्यसपश्चात मन्त्रालय, पशु सेवा विभागका प्रतिनिधि सहितको सहभागितामा कमिटी बन्छ । ‘कमिटीले वैज्ञानिक आधार तय गर्छ । प्रतिवेदन बनेपछि बोर्डको अध्यक्ष समेत रहेका कृषि मन्त्री ज्यूलाई प्रतिवेदन बुझाउँछौं’ उनले भने, ‘मन्त्री ज्यूबाट स्वीकृत भएपछि त्यसपश्चात मात्रै नयाँ मूल्य कार्यान्वयमा जान्छ ।’

बोर्डका अनुसार दूधको मूल्यवृद्धि हुँदा बढेको रकमको ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत उद्योगलाई जान्छ । तर यसअघि बढेको मूल्य किसान भन्दा बिचौलियाले नै फाइदा लिइरहेको पाइन्छ । ‘दूधको मूल्य बढ्दा किसानलाई फाइदै हुन्छ । उपभोक्तालाई पनि मर्का नपर्ने हिसावमा कमिटी बनाउँछौं,’ यादवले भने ।


प्रकाशित : मंसिर ५, २०७८ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?