कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

चितवन माछा उत्पादनमा आत्मनिर्भर : मत्स्य व्यवसायी संघ

रमेशकुमार पौडेल

चितवन — माछा उत्पादनमा संलग्न किसानहरूको संस्था नेपाल मत्स्य व्यवसायी संघले माछा उत्पादनमा चितवन आत्मनिर्भर भएको घोषणा गरेको छ । शनिबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर संघले यस्तो जनाएको हो । संघका चितवन अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार जिल्लामा वर्षमा चार हजार ३८ टन माछा उत्पादन हुने गरेको छ । यसमध्ये चितवनमा २६ सय टन माछा खपत हुन्छ । अरु अन्य जिल्ला पठाइन्छ ।

चितवन माछा उत्पादनमा आत्मनिर्भर : मत्स्य व्यवसायी संघ

‘हामीले उत्पादन गरेको माछा जे जति खपत भएको छ यहाँको माग पनि लगभग त्यही हाराहारी जस्तै देखिन्छ । भारतीय माछा वर्षमा तीन/चार सय टनको हाराहारीमा चितवनमा आउँछ । जिल्लाको मागभन्दा धेरै उत्पादन भएको हुँदा हामीले चितवन माछा उत्पादनमा आत्मनिर्भर छ भन्ने घोषणा गर्दछौं’ सुवेदीले भने । सरकारी निकायले पनि यो तथ्य ख्याल गर्दै चाँडै घोषणा गर्नुपर्ने उनले सुझाव दिए ।

‘हामीले गत वर्ष नै घोषणा गर्ने भनेर ०७६ सालदेखि नै तयारी गरेका थियौं । हामीसँग कुन स्थानीय तहमा के कति किसान छन् सबैको व्यक्तिगत तहको विवरण र उत्पादन परिमाण जुटाएका छौं । त्यसैका आधारमा घोषणा गरेका हौं’ संघका सचिव लुलाराज तमाङले भने । उत्पादनका विषयमा हुने सोधीखोजीको प्रष्ट जवाफ दिन सक्ने गरेर आफूहरूले उत्पादनको विवरण संकलन गरेको उनले बताए ।

जिल्लामा एक हजार तीन सय सातजना किसान माछा उत्पादन व्यवसायमा लागेको जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए । आगामी वर्ष चितवनको माछा उत्पादन ६६ सय टन पुग्ने अपेक्षा गरिएको उनले बताए । उनका अनुसार चितवनमा ३८ सालमा माडी र पश्चिम चितवनको पार्वतीपुर नजिक शंकरचोकमा माछा पालन व्यवसाय सुरु भएको थियो । ०६७ सालदेखि तीव्र व्यवसायिककरण भएको बताइन्छ ।

‘भारतबाट आउने माछा कमसल खालको हुने गरेको छ । टाढाबाट आउने भएका कारण चाँडै नसडोस् नबिग्रियोस् भनेर फर्मालीन जस्तो रसायनिक तत्व राख्ने गरिन्छ । जो खान योग्य हुँदै होइन । त्यस्ता माछाले नेपाली बजार ओगटेको थियो’ संघका केन्द्रीय महासचिव जोगेन्द्र महतोले भने । यस्ता भारतीय माछाका बारेमा चेतना फैलाउन थालेपछि, व्यसायीहरू संगठित भएपछि र सरकारले पनि ध्यान दिन थालेपछि माछा पालन फष्टायो भन्छन् महासचिव चौधरी ।

भरतबाट अझै पनि त्यस्ता माछा आउने गरेको उनले बताए । ‘अब फेरि हामी प्रशासन कार्यालयका प्रमुखहरूलाई भेटेर यो समस्या राख्दै छौं । नेपाली माछा ताजा नै बिक्री हुने गरेको छ । उपभोक्ताको आँखासामु नै काटेर दिने गर्छौं । प्रशासनले कडाइ नगरेर उपभोक्ता नै सजग भएमा भारतीय माछा रोकिने अवस्था छ’ चौधरीले भने । सरकारी अनुदान साह्रै कम भएका कारण उत्पादन लागत पनि धेरै भएको उनले बताए ।

‘भारतमा कृषिमा राम्रो अनुदान छ । हामीलाई त्यो तहको अनुदान सुविधा छैन । त्यसमाथि कमसल खालको माछा ल्याएर नेपाली बजार ओगट्ने काम भएको छ । नेपाली माछा महंगो छ भनेर खपत नहुने अवस्था छ’ चौधरीले भने । अरु जिल्लाले पनि बिस्तारै आत्मनिर्भर जिल्ला घोषणा गर्ने उनले बताए । त्यसैगरी वाग्मती प्रदशेलाई पनि चाँडै घोषणा गरिने संघको तयारी छ । माग अनुसार उत्पादन हुन थालेको हुँदा नेपाली माछा नै खाने गर्न महतोल सबैलाई अपिल गरे ।

प्रकाशित : मंसिर ४, २०७८ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?