सेयर बजार ३२ अंकले घट्यो, सबै उपसमूह राताम्मे - अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेयर बजार ३२ अंकले घट्यो, सबै उपसमूह राताम्मे 

कान्तिपुर संवाददाता

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.३९ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २७६९ अंकमा कायम भएको छ । कारोबार रकम पनि खुम्चिएको छ । कुल ६ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भयो । यसअघि बुधबार ७ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । 

सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ २२, ब्यापार ६९, होटल तथा पर्यटन ५१, विकास बैंक १११, जलविद्युत ९३, फाइनान्स २७, निर्जीवन बीमा २०४, उत्पादन ७८, अन्य १९, माइक्रोफाइनान्स ९, जीवन बीमा २२७ र लगानी समूह १ अंकले घटे ।

कुल १६० कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनीको बढ्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । दुई कम्पनी मानुसी लघुवित्त र तेह्रथुम पावरको मूल्य १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्सको मूल्य साढे ६ प्रतिशतले बढ्यो । मैलुङखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घट्यो ।


प्रकाशित : मंसिर २, २०७८ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्

कपिलवस्तुको हैजा नियन्त्रणमा मंसिर ५ देखि खोप अभियान

अमृता अनमोल

बुटवल — कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा लिन खोप अभियान सञ्चालन गरिने भएको छ । मंसिर ५ देखि १२ गतेसम्म १० दिन अभियानका रुपमा हैजा विरुद्धको खोप मुखबाट खुवाइने छ ।


कपिलवस्तुका कृष्णनगर, शिवराज, महाराजगन्ज, विजयनगर नगरपालिका र यशोधरा गाउँपालिकामा असोज १८ देखि हैजा फैलिएपछि शतर्कता अपनाइएको हो ।

लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवारवार कल्याण मन्त्रालयले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै डब्लुएचओबाट प्रमाणित स्यानकोल नामक भ्याक्सिन लगाउन थालेको जानकारी दिएको छ ।

उक्त खोप २ देखि ४ हप्ताको फरकमा २ मात्रा लगाउनुपर्छ । दुवै मात्रा पाएका व्यक्तिमा ७ देखि १० दिनबाट उक्त खोपले काम गर्न थाल्छ । कपिलवस्तुमा भने ३ हप्ताको फरकमा मंसिर २६ देखि पुस ४ सम्म दोस्रो मात्राको खोप अभियान सञ्चालन हुने बताइएको छ ।

कपिलवस्तुमा हैजा फैलिएका पाँचवटै स्थानीय तहका एक वर्षमाथिका सबै व्यक्तिलाई खोप लगाइने छ । यसका लागि घरदैलोमा स्वास्थ्य स्वयंसेविका परिचालनदेखि माइकिङ र विद्यालयबाटसमेत सन्देश प्रवाह गरिएको मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताए ।

कपिलवस्तुमा असोज १८ देखि हैजा फैलिएको थियो । त्यस दिन कृष्णनगरको शिवराज अस्पतालमा ९ जना झाडापखलाका विरामी भर्ना भएका थिए । दोस्रो दिन विरामीको संख्या १ सय १३ पुगेको थियो । असोज २२ मा परीक्षणमार्फत् उक्त झाडापखला हैजा हो भन्ने प्रमाणित भएको थियो । पानीको स्रोत फोहोर भएका कारण हैजा फैलिएकोसमेत प्रमाणित भएको छ ।

कृष्णनगर हुँदै अन्य स्थानीय तहमा हैजा फैलिएको हो । यद्यपि सबैभन्दा धेरै विरामी उक्त नगरपालिकामा एक हजार एक सय ७१ जना संक्रमित भएका छन् । हैजाबाट अहिलेसम्म १ हजार ४ सय ४९ जना संक्रमित भएका छन् । संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । हाल एक जना उपचाररत छन् ।

विज्ञहरूका अनुसार हैजा व्यक्तिगत सरसफाई र खानपानमा लापरवाहीका कारण लाग्ने गर्छ । खुला रुपमा दिसा गर्दा दिसाजन्य पदार्थ मुखमा पर्दा हैजा हुने चिकित्सकहरू बताउँछन् । मन्त्रालयका स्वास्थ्य अधिकृत शैलेन्द्र पाण्डेले कपिलवस्तुमा पानी शुद्ध गर्न क्लोरीन ट्याबलेट वितरण, थप स्वास्थ्यकर्मी परिचालन र व्यक्तिगत सरसफाईका लागि चेतनामूलक कार्यक्रम संचालन गरिएको बताए ।

प्रकाशित : मंसिर २, २०७८ १५:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×