गहुँ छर्ने बेला मलको हाहाकार

मोहन बुडाऐर

धनगढी — किसानहरूलाई यतिबेला गहुँखेतीका लागि डीएपी मल चाहिएको छ । उनीहरू दिनहुँजसो गाउँका सहकारी संस्थाहरूमा मलका लागि धाएका धाएै छन । तर सधैं मल नपाएर रित्तो हात घरफर्किरहेको पीडा व्यक्त गर्न थालेका छन । ‘गहुँ छर्ने बेला भइसक्यो, मल नपाउँदा हैरान भएका छौं,’ धनगढी उपमहानगरपालिका–१२ का देवबहादुर चौधरीले भने, ‘गाउँमा मल बिक्रीवितरण गर्ने सहकारी संस्थामा मल आएकै छैन । एक दुई दिनपछि आउनु भनेर फर्काइरहेको छ ।’

गहुँ छर्ने बेला मलको हाहाकार

यसपालि कात्तिक पहिलो साताको बेमौसमी वर्षाले पाकेको धान भित्र्याउन नपाएको पीडा किसानलाई छँदै छ, त्यसैमा गहुँखेतीका बखत मल नपाएर थप पीडा थपिएको उनीहरू बताउँछन् । ‘लहलह पाकेको धानबाली बेमौसमी वर्षाले नोक्सान पार्‍यो,’ कैलारी गाउँपालिका–८ का कुलदीप चौधरीले भने, ‘तीनै तहका सरकारका प्रतिनिधि त्यसबेला बेमौसमी वर्षाले गरेको नोक्सान हेर्न गाउँघरमा आए । विभिन्न खाले राहतका कुरा गरेर गए । गहुँखेतीका लागि मल निःशुल्क दिनेसम्मका आश्वासन दिएका थिए । अहिले गहुँ छर्ने बेला सुरु भएपछि सहकारी संस्थामा मल नै छैन ।’

उनले राहतको कुरा त परै जाओस् किसानलाई किनेर खेतमा मल हाल्नसमेत सरकारले मल पुगाउन नसकेको बताए । त्यस्तै भजनी नगरपालिका–७ थापापुरका गंगा चौधरीले पनि बेमौसमी वर्षाबाट पीडित किसानलाई निःशुल्क मल लगायतको झूटो आश्वासन बाँडेको बताए । ‘यतिबेला किसानलाई मल चाहिएको छ,’ उनले भने, ‘खोइ मल दिएको ?’ भजनी कृष्णनगरका लीला साउदले बेमौसमी वर्षाले धान पनि भित्र्याउन नपाएको बेला गहुँखेती पनि मलको अभावमा नसप्रिने हो भने यो वर्ष भोकै मरिने अवस्था देखिन थालेको पीडा पोखिन् । ‘बाढी पसेको खेतमा मल प्रयोग नगर्दा त बाली सपि्रँदैन,’ उनले भनिन्, ‘यतिबेला कुनै पनि राहत चाहिँदैन मल र बीउ देऊ सरकार ।’

मल आपूर्ति गर्ने कृषि सामग्र्री लिमिटेडको प्रदेश कार्यालय धनगढीका निमित्त प्रमुख रूपबहादुर कुँवरले गोदाम रित्तिएको बताए । ‘गोदाममा मल सकिएको छ,’ कुँवरले भने, ‘किसानको ताँती भने लागेको छ । आइतबारसम्म पुग्छ कि ?’ उनका अनुसार कृषि सामग्री कम्पनीको भैरहवा केन्द्रीय गोदाममा ८ हजार मेट्रिक टन मात्रै आएकाले आइतबारसम्ममा सुदूरपश्चिमका लागि एक हजार टन आउन लागेको बताए ।

‘एक हजार टन डीएपी पुगेपछि वितरण सुरु गर्ने भनेका छौं,’ उनले भने, ‘यहाँबाट कैलालीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पनि मल पुर्‍याउनुपर्छ ।’ उनले तत्काललाई पहाडी जिल्लाका लागि ३०/३५ टन जिल्लामा पठाउने र बाँकी यही वितरण गरिने बताए । उनले कैलाली जिल्लाका लागि गहुँ तथा धानको एक सिजनका लागि ५ हजार टनभन्दा बढी डीएपी र त्यही हाराहारीमा युरिया चाहिने बताए ।

‘केन्द्रीय कार्यालयबाट यो वर्ष मल खरिद नै कम भएको थाहा भएको छ,’ कुँवरले भने, ‘१७ जिल्लामा रहेका कृषि सामग्री कम्पनीको कार्यालयमा पठाउँदा सुदूरपश्चिमले बढीमा २ हजार टन मात्रै पाउने सम्भवना रहेको छ । सुदूरपश्चिमको सबैभन्दा धेरै धान उत्पादन हुने जिल्लामा कैलाली पर्छ । कैलाली जिल्लामा ७२ हजार हेक्टरमा धान खेती लगाइन्छ ।

मलको अभावमा भारतबाट चोरी

मल आपूर्ति गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयले कैलालीका किसानहरूका लागि धान वा गहुँ कुनै बालीका लागि पनि प्रयाप्त मल पुगाउन नसकेको किसानहरूको जहिल्यै गुनासो रहने गरेको छ । हसुलियाका दुखीराम चौधरीले सीमावर्तीर् क्षेत्रका किसानले जहिले पनि भारतबाट चोरी गरी ल्याएको रासायनिक मलको प्रयोग गर्न बाध्य भएको बताए ।

प्रकाशित : मंसिर २, २०७८ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?