नाडा अटो शोका लागि मंसिर पहिलो साताबाट स्टल बुकिङ खुल्दै


काठमाडौँ — अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आगामी फागुनमा हुने अटो शोका लागि स्टल बुकिङ खुल्ला गर्ने निर्णय गरेको छ । फागुन ९ देखि १४ गतेसम्म हुने शोका लागि १८ नोभेम्बर (मंसिर १, बिहीबार) देखि २२ नोभेम्बर (मंसिर ६, सोमबार) भित्र स्टल राख्नेले नाम दर्ता गरिसक्नुपर्ने नाडाले जनाएको छ ।



कोभिड–१९का कारण गएका दुई वर्ष अटो शो हुन सकेन । भृकुटीमण्डपमा हुने अटो शोका लागि प्रारम्भिक तयारी सुरु भएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।
पहिला–पहिला दसैं तिहारलाई लक्षित गर्दै अटो शो हुने गर्थ्यो । हाल कोभिड–१९ ले गर्दा समय तालिका अनुसार हुन नसकेको र फागुनमा गर्न लागिएको अध्यक्ष दुलाल बताउँछन् । अटो व्यवसायीका लागि अटो शो ठूलो चाड हो । मेलामा व्यवसायीबीच छुट दिने र नयाँ सवारी साधन सार्वजनिक गर्न प्रतिस्पर्धा नै चल्ने गर्छ ।