२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रोजगारीदेखि बैंकिङ पहुँचसम्म: यी हुन् जनगणनामा अटाएका आर्थिक सूचकसम्बन्धी प्रश्न

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘मेरो गणना, मेरो सहभागिता’ मूल नारा दिएर आजबाट राष्ट्रिय जनगणना २०७८ शुरु भएको छ । आगामी मंसिर ९ गतेसम्म चल्ने जनगणनामा नेपालको कुल जनसंख्या थाहा पाउने मात्र नभई व्यक्ति र परिवारसँग सम्बन्धित आर्थिक पक्षका विवरणहरु पनि संकलन गरिनेछ ।

रोजगारीदेखि बैंकिङ पहुँचसम्म: यी हुन् जनगणनामा अटाएका आर्थिक सूचकसम्बन्धी प्रश्न

६ दर्जन बढी प्रश्न अटाएको राष्ट्रिय जनगणनाको प्रश्नावलीमा रोजगारीको अवस्थादेखि बैंकिङ पहुँचसम्मका आर्थिक सूचक दर्शाउने विषय समावेश गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । व्यक्तिको जन्म, मृत्यु, विवाह, बसाइसराइलगायत पन्जीकरणसँग सम्बन्धित प्रश्नावलीसँगै स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानी जस्ता पूर्वाधारका न्यूनतम आवश्यकता परिपूर्ति भए–नभएको तथ्याङ्क जनगणनाले संकलन गर्नेछ ।

कुनै व्यक्ति वा परिवारले प्रयोग गरिरहेको कृषियोग्य जमिनको क्षेत्रफल र कृषि प्रयोजनका लागि पालेका पशुपन्छीको संख्या पनि जनगणनाका क्रममा संकलन गरिनेछ । जसमा गाई, गोरु, राँगा, भैंसी, भेंडा, च्यांग्रा, बाख्रा, खच्चर, गधा, हाँस, कुखुरा जस्ता पशुपन्छीको विवरण राखिएको छ । सुरक्षित आवासको सुविधा पाए–नपाएको विवरण संकलन गर्नका लागि आवासीय घर र त्यसको सम्पूर्ण विवरण पनि जनगणनाका क्रममा संकलन हुनेछ । त्यस्तै, सरकारी अनुदानबाट आवासीय घर निर्माण गरे–नगरेकोसमेत पत्ता लाग्नेछ । आवासको सुविधासँगै स्वच्छ खानेपानीको सुविधा, प्रयोग भइरहेको इन्धन, सञ्चारका सुविधा, साक्षारताको अवस्था, बसाइसराइ र त्यसको कारण, अपाङ्गतालगायत विवरणहरु संकलन गरिनेछन् ।

तथ्याङ्क विभागका अनुसार जनगणनापछि नेपालमा बैंकिङ पहुँचको अवस्था र वित्तीय साक्षारतासम्बन्धी विवरण पनि संकलन हुनेछ । जनगणनाको प्रश्नावलीमा कुनै परिवारमा कति जना व्यक्तिको नाममा बैंक वा वित्तीय संस्थामा खाता छ ? भन्ने प्रश्न राखिएको छ । त्यस्ता परिवारले बैंक वित्तीय संस्था वा सहकारीबाट ऋण लिए–नलिएको बारे जानकारी पनि जनगणनामार्फत संकलन गरिनेछ ।

व्यक्तिको रोजगारी र त्यसको क्षेत्रबारे पनि विस्तृत विवरणहरु संकलन गरिनेछ । जसमा रोजगारीको अवस्था, स्वरोजगार भएमा साना घरेलु तथा मझौला खालका उद्योगको अवस्था, वैदेशिक रोजगारमा गएका व्यक्तिको संख्यालगायत प्रश्नहरु राखिएका छन् । पछिल्लो १ वर्ष अवधिमा कुनै परिवार वा व्यक्तिले गरेको आम्दानीको विवरण जनगणनाका क्रममा संकलन गरिनेछ ।

१ वर्ष अवधिमा सबै किसिमको आम्दानी हुने वा नहुने आर्थिक काममा कति महिना संलग्न भएको, भन्ने प्रश्न राखिएको छ । साथै आर्थिक कामको संस्थागत क्षेत्र कुन हो ? विगत १२ महिनामा आर्थिक काम नगर्नुको मुख्य कारण के हो ? भन्ने प्रश्नहरु पनि राखिएका छन् । कोही व्यक्ति बेरोजगार भएमा पछिल्लो १ वर्ष अवधिमा काम खोजेको वा उपलब्ध नभएको बारेको विवरण पनि खुलाउनुपर्नेछ ।


प्रकाशित : कार्तिक २५, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?