१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपालगन्ज–मुगुको हवाई भाडा १२ हजार !

खाली जहाज बोलाउनुपरेको भन्दै दुवैतर्फको भाडा असुल्दै निजी एयरलाइन्स
राजबहादुर शाही, छपाल लामा

मुगु/हुम्ला — मुगुको रारा विमानस्थलमा उडान गर्ने निजी एयरलाइन्सले कार्गोका नाममा दोब्बर भाडा असुल्न थालेका छन् । नेपालगन्जदेखि मुगु आउन यात्रु नभएको भन्दै एयरलाइन्सले एकतर्फी भाडा नै १२ हजार रुपैयाँ लिने गरेका हुन् । 

नेपालगन्ज–मुगुको हवाई भाडा १२ हजार !

खाली जहाज बोलाउनुपरेको भन्दै दुवैतर्फको भाडा जोडेर १२ हजार रुपैयाँ लिन थालिएको एयरलाइन्सका कर्मचारीको दाबी छ । मुगुदेखि नेपालगन्ज जान प्रतिव्यक्ति ६ हजार ५ सय रुपैयाँ भाडा तोकिए पनि नेपालगन्जबाट मुगु आउने यात्रु नपाइने भन्दै बढी भाडा लिने गरेको रोयल कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र स्वाँरले बताए ।

‘जहाजले जथाभावी भाडा उठाइरहेका छन्,’ उनले भने, ‘यात्रु चर्को भाडा तिरेर जहाज चढ्न बाध्य भए पनि विमानस्थल प्रशासन मौन छ ।’

टिकट पाउन मुस्किल भएपछि महँगो भाडा तिरेर पनि यात्रु जहाज चढ्न पाउँदैनन् । हवाई टिकट नपाएर ४/५ दिनसम्म भौंतारिनुपरेको सोरु गाउँपालिका–२ का राजेन्द्र शाहीको भनाइ छ । ‘सडक जीर्ण हुँदा गाडीबाट जान जोखिमयुक्त छ,’ उनले भने, ‘जहाजमा महँगो भाडा तिर्छु भन्दा पनि टिकट पाउन मुस्किल भयो ।’

नियम र पद्धतिलाई बेवास्ता गरी निजी एयरलाइन्सले पहुँचवालालाई मात्र टिकट वितरण गर्ने गरेको उनको गुनासो छ । एयरलाइन्सले कार्यालयबाहिरबाटै टिकट वितरण गरिरहेको उनको दाबी छ ।

नेपालगन्जदेखि मुगु आउने यात्रु नहुँदा खाली जहाज बोलाउनुपर्ने भएकाले प्रतिव्यक्ति १२ हजार रुपैयाँ भाडा लिने गरिएको तारा एयरलाइन्सका स्टेसन इन्चार्ज लक्ष्मी शाहीले बताए । रारा घुम्न आउने पर्यटकले दोहोरो हवाई टिकट लिएर आउँदा स्थानीयलाई टिकट पाउन मुस्किल भएको उनको भनाइ छ । ‘यताबाट नेपालगन्ज जाने यात्रुको भीड छ,’ उनले भने, ‘नेपालगन्जबाट मुगु आउने यात्रु नै पाइँदैनन् ।’

यता प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भने महँगो हवाई भाडा नउठाउन निजी एयरलाइन्सलाई पत्राचार गरिए पनि बेवास्ता भएको प्रतिक्रिया दिए । ‘एयरलाइन्स कम्पनीलाई पर्यटक र स्थानीयलाई बराबर टिकट उपलब्ध गराउन पनि भनेका छौं,’ उनले भने, ‘अनुगमन गर्दा बढी भाडा लिएको पाइए कारबाही गर्छौं ।’

नेपाल एयरलाइन्सले नियमित उडान नगर्दा यात्रुहरू मर्कामा परेका छन् । झन्डै १९ महिनापछि गत साता नेपाल एयरलाइन्सले उडान थाले पनि नियमित भएको छैन । नेपाल एयरलाइन्सको जहाजले मुगु–नेपालगन्ज उडानमा प्रतियात्रु ५ हजार ३ सय ३५ रुपैयाँ भाडा लिने गरेको छ ।

टिकट पाउन महाभारत

सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिकलाई यति बेला जिल्ला बाहिर जान टिकट पाउन गाह्रो पर्छ । पर्यटकीय सिजनका बेला प्रतिदिन पाँच वटासम्म उडान गर्ने समिट र तारा एयरलाइन्सले अहिले एक–एक मात्र उडान गर्ने गरेकाले यात्रुलाई टिकट पाउन समस्या भएको हो । सीता एयरलाइन्सले एक सातायता सिमकोट विमानस्थलमा उडान गरेको छैन ।

जहाजको उडान कम हुँदा टिकट पाउन मुस्किल भएको सर्केगाडका चन्द्रजंग शाहीले बताए । ‘एक त उडानै हुँदैन,’ उनले भने, ‘उडान भए पनि टिकट पाउन पावर लगाउनुपर्ने बाध्यता छ ।’ नेपाल एयरलाइन्सको जहाज नियमित नहुँदा पनि निजी एयरलाइन्सको मनोमानी बढेको उनको भनाइ छ । टिकटका लागि चार दिनदेखि विमानस्थल धाइरहे पनि टिकट नपाएको स्थानीय सुवास शाहीले बताए ।

हुम्लामा उडान गर्ने निजी एयरलाइन्सले भाडासमेत बढाएका छन् । दसैंअघि ५ हजार ६ रुपैयाँ भाडा लिने निजी एयरलाइन्सले अहिले ६ हजार ३० रुपैयाँ भाडा बनाएका हुन् । नेपालगन्जबाट हुम्लाका लागि भने १० हजार ५ सय भाडा लिने गरिएको समिट एयरलाइन्सका कर्मचारी कार्बु लामाले जानकारी दिए ।

प्रकाशित : कार्तिक २४, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?