कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भरतपुर सबस्टेसनका दुई वटै ट्रान्सफर्मर सञ्चालनमा, उद्योगले पाए बिजुली

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी सबस्टेसनका दुई वटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । ट्रान्सफर्मर पूर्ण रुपमा सञ्चालनमा आएपछि नेपाल विद्युत प्राधिकरणले भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि आइतबार सााझबाट विद्युत आपूर्ति गरेको छ । 

भरतपुर सबस्टेसनका दुई वटै ट्रान्सफर्मर सञ्चालनमा, उद्योगले पाए बिजुली

सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमध्ये एउटामा कात्तिक १३ र अर्कोमा १६ गते समस्या आएको थियो । प्राधिकरणले बिग्रिएका ट्रान्सफर्मरलाई हटाएर सबस्टेसनमा जगेडामा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरेको हो । एउटा ट्रान्सफर्मर ३६ घण्टापछि जडान गरी घरायसी उपयोगका लागि विद्युत आपूर्ति गरिएको थियो । कास्कीको लेखनाथ सबस्टेसनमा रहेको २२.५ एमभीए क्षमताको ट्रान्सफर्मर ल्याई भरतपुर सबस्टेसनमा जडान गरी अर्को पनि आइतबार सााझबाट सञ्चालनमा ल्याइएको हो ।

सबस्टेसनको क्षमता अब ४५ एमभीए रहेकोले औद्योगिक सहितका सबै ग्राहकलाई विद्युत आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा केन्द्र भरतपुरका प्रमुख राजीव कुमार सिंहले बताए । सिंहका अनुसार आापटारीस्थित अर्को १३२/११ केभीको सबस्टेसनमा १५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान सुरु गरिएको छ । उक्त सबस्टेसनबाट विद्युत आपूर्तिका लागि तीन वटा फिडर निकालिसकिएको छ ।

तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोली मर्मत स्थलमा खटिएको थियो ।



प्रकाशित : कार्तिक २२, २०७८ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?