कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कुपिन्डे तालमा पर्यटक बढे

विप्लव महर्जन

सल्यान — कोरोना महामारीका कारण लामो समय पर्यटकीय गतिविधि सुनसान भएको बन्गाडकुपिन्डे नगरपालिकास्थित कुपिन्डे तालमा पर्यटकको संख्या बढ्दै गएको छ । अहिले कुपिन्डेमा दैनिक डेढ सयजनासम्म पर्यटक घुमघामका लागि आउने गरेका छन् ।

कुपिन्डे तालमा पर्यटक बढे

‘मिनी रारा’ का रूपमा चिनिने कुपिन्डे तालमा चाड पर्व मनाउन घर फर्किएका सल्यानसहित सुर्खेत, जाजरकोट, बाँके, बर्दिया लगायत जिल्लाका बासिन्दाहरू आउन थालेपछि चहलपहल बढ्दै गएको थियो ।

अहिले तालमा घुम्न, डुंगा चढ्न र पिकनिक खान आउने पर्यटकहरू बढिरहेका हुन् । कोरोना महामारीका कारण झन्डै दुई वर्ष कुपिन्डेमा पर्यटकीय गतिविधि ठप्प थियो । यो वर्ष कुपिन्डे तालमा झन्डै चार मिटर पानीको सतह बढेको बन्गाडकुपिन्डे नगरपालिकाले जनाएको छ ।

पानीको सतह बढेपछि कुपिन्डे आसपासको क्षेत्र मनमोहक बन्दै गएको स्थानीय कमल गिरीले बताए । गत वर्षसम्म बगरमा परिणत भएका क्षेत्र तथा आएका पर्यटक बस्ने र वनभोज खाने ठाउँसमेत पानीले पुरिएको उनको भनाइ छ । उनका अनुसार ७ वर्षअघि साविकको जिल्ला विकास समितिले निर्माण गरेको प्रतीक्षालयमा समेत पानी भरिएको छ । ‘चारैतिरबाट हेर्दा ताल वरिपरि पानी नै पानी देखिन्छ,’ उनले भने, ‘पानीको सतह बढेपछि ताल डेढ दशकअघिकै स्वरूपमा फर्किएको छ ।’

बन्गाडकुपिन्डे नगरपालिका–८ ज्यामिरेका ६३ वर्षीय छविलाल परियारले झन्डै १० वर्षपछि तालमा पानीको सतह ह्वात्तै बढेको बताए । ‘तालको सतह बढेपछि ताल क्षेत्र सुन्दर बनेको छ, अहिले तालछेउको बराह मन्दिरमा पूजा गर्न डुंगा चढ्नुपर्ने अवस्था छ,’ उनले भने, ‘पर्यटकको संख्या बढ्दै गएपछि आसपासका गाउँको व्यापार व्यवसाय फस्टाएको छ, कृषि उपजले सजिलै पनि बजार पायो ।’

गत वर्षसम्म डुंगाबाट ताल सयर गर्न ४५ मिनेट लाग्ने भए पनि पानीको सतह बढेपछि ताल घुम्न कम्तीमा एक घण्टा ३० मिनेट लाग्ने कर्णाली र्‍याफ्टिङ प्रालिका डुंगा चालक शंकर यरीले बताए । ‘ताल आसपास कम्तीमा २/३ वटा सुविधायुक्त होटेल स्थापना गर्न सके घुम्न आएका पर्यटकलाई कम्तीमा २ दिन ताल क्षेत्रमा राख्न सकिन्थ्यो,’ उनले भने, ‘व्यवस्थित होटलहरू नहुँदा पर्यटक एकै दिनमा गन्तव्यमा फर्कने गरेका छन् ।

प्रकाशित : कार्तिक २२, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?