मौसम खुलेपछि पाथीभरामा हेलिकोप्टरको लर्को

नौरथादेखि कात्तिक १५ सम्म ५३ हजार यात्रु भने पैदलै पुगे मन्दिर 
आनन्द गौतम

ताप्लेजुङ — मंगलबार बिहान केही समय मौसम खुलेको थियो । पैदलयात्रा गर्दै उकालो चढिरहेका हरेकजसो यात्रुका आँखा अकासिए । उनीहरूका आँखा अरु केही नभएर आफूहरूजस्तै तीर्थयात्री बोकेर आएका हेलिकोप्टरको लर्को देखेर अकासिएको थियो । 

मौसम खुलेपछि पाथीभरामा हेलिकोप्टरको लर्को

बिहान सातदेखि नौ बजेसम्म माउन्टेन, कैलाश र सिम्रिक एयरले यात्रु बोकेर फन्को लगाएका थिए । नौ बजेपछि कुहिरो लागेर मौसम बदलिएपछि हेलिकोप्टरका आवाज पनि एकाएक बन्द भए । दुईवटा हेलिकप्टर मात्रै अट्ने पाथीभरा मन्दिर छेउको हेलिप्याडमा नअटाएपछि दुईवटा हेलिकोप्टर यहीं र एउटा मन्दिर छेउको चौरमा बसेर यात्रु ओसारेका थिए ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार पाथीभरा तीर्थयात्री लिएर आउने हेलिकोप्टरलाई अवतरण शुल्क लाग्दैन । उनीहरूले सदरमुकाम फुङलिङ, पाॅचथर, धरान र धनकुटाको भेडेटारबाट यात्रु ओसारिरहेका छन् । धरानबाट जनही ३२ हजार रुपैयाँमा यात्रु उडाउने गरेको धरान होलिडे ट्रावल एन्ड टुरका मार्केटिङ म्यानेजर पविन श्रेष्ठ बताउँछन् । उनका अनुसार यो वर्ष हेलिकोप्टरमा चढेर पाथीभरा जाने यात्रुको संख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएका कारण कम उडान भइरहेको छ ।

दसैंको घटस्थापनापछि ३५ उडान गरेको उनले बताए । ‘मौसमको कारणले नियमित उडान गर्न पाइरहेका छैनौं,’ श्रेष्ठले भने, ‘मौसम हेरेर दिनमा दुई/तीन फ्लाइट मात्रै भइरहेको छ ।’ मौसमले साथ दिए तिहारपछि पनि उडान गर्ने उनले बताए । यात्रुका हिसाबले एकपटकमा पाँच जना बोक्ने हेलिकोप्टरले धरानबाट एउटा उडानमा १ लाख ६० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १० हजार, पाँचथरको फिदिमबाट २२ हजार र इलामको कन्यामबाट ३५ हजार रुपैयाँ भाडा लिने गरेको मेवाखोला हिल रिसोर्टका सञ्चालक सुरेश लिम्बू बताउँछन् ।

ट्राभल र होटलले हेलिकोप्टर कम्पनीसॅग सम्झौता गरेर ल्याउने र यात्रु खोजेर चलाउने गरेका छन् । काठमाडौंबाट सीधै आउने यात्रुको संख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले बताए । आचार्यका अनुसार उनीहरूलाई छोटो विधिबाट पूजा गर्न सहयोग गर्ने गरिएको छ । ‘विशेषगरी वृद्धवृद्धा आउनुहुन्छ, त्यसैले पनि सहयोग गरिरहेका छौं,’ आचार्यले भने । हेलिकोप्टरबाट कति संख्यामा तीर्थयात्री आए तथ्यांक नरहेको काफ्ले बताउँछन् । ‘हामीले पैदल हिँडेर जानेको चाँहि तथ्यांक राख्ने गरेका छौं, हेलिकोप्टरबाट आउनेको छैन,’ काफ्लेले भने । यो वर्ष हिमाल आरोहण नभएको र हिमाली क्षेत्रमा जाने पर्यटकको संख्या पनि कम भएकाले हेलिकोप्टर पाउन सहज भएको सुरेश बताउँछन् । त्यही कारण पनि यात्रुको पहुँच सहज बनेको हो ।

दसैंको नौरथा सुरु भएको असोज २१ देखि कात्तिक १५ सम्म ५३ हजार ५ सयले पाथीभरा दर्शन गरेको निर्देशक काफ्ले बताउँछन् । यो अवधिमा सबैभन्दा बढी असोज २ मा ६ हजार ३ सय र सबैभन्दा कम कात्तिक ४ मा ३ सय ३ जनाले दर्शन गरेका छन् । कात्तिक २ मा ४ हजार ५ सय ५५ जना पाथीभरा दर्शनका लागि गएको काफ्ले बताउँछन् । पाथीभरा दर्शनका लागि यो सिजनमा असोज र कात्तिक महिनालाई उत्कृष्ट महिनाको रूपमा लिइन्छ । हिउँदमा फागु र चैतमा सबैभन्दा बढी हुन्छन् । दुई वर्ष अघि चैतमा एकै दिन १७ हजारले दर्शन गरेको तथ्यांक पाथीभरा क्षेत्र विकास समितिसँग छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा पैदल जानेले पाँच किलोमिटर हिँडेरै पुग्नुपर्छ ।

सदरमुकाम फुङलिङबाट सुकेटारसम्म ८ किलोमिटर कालोपत्र र सुकेटारदेखि काफ्लेपाटीसम्म १२ किलोमिटर कच्ची सडक रहेको छ । सुकेटारदेखिको कच्ची सडकमा भने १० देखि १६ जनासम्म अट्ने साना सवारी मात्रै सञ्चालन हुने गरेको छ । काफ्ले पाटीदेखि मन्दिरसम्मको दूरी ५ किलोमिटर छ । काफ्लेपाटीदेखि अढाइ किलोमिटर दूरीमा रहेको माथिल्लो फेदीसम्म ठाउँठाउँमा बस्ने लज र खाने होटल रहेका छन् । बिहान उकालो चढ्न सजिलो हुने भएकाले अधिकांश तीर्थयात्री ३१ सय मिटर उचाइको माथिल्लो फेदीमा गएर बस्ने गरेका छन् ।

बुधबार बिहान मात्रै पाथीभरा दर्शन गरेका कांग्रेस सहमहामन्त्री रामशरण महत माथिल्लो फेदीबाट २ घण्टामा मन्दिर पुगेको बताउँछन् । बिहान ४ बजे हिँडेका उनले ६ बजे पूजा गरेका थिए । हिँडेरै जाने उद्देश्यले आएका उनले हेलिकोप्टर भए पनि हिँडेरै सदरमुकाम फर्किएका थिए । मौसम खुल्दा विश्वका तेस्रो अग्लो हिमाल कञ्चनजंघा, संखुवासभामा रहेको मकालुलगायतका हिमशृंखला देख्न पाइने भएकाले यात्रुहरू रमाउने गरेका छन् । अब भने क्रमशः चिसो बढ्दै गएकाले पैदल तीर्थयात्रीको संख्या घट्दै जाने पुजारी टीका पौडेलले बताए ।

पाथीभरामा सबैभन्दा बढी तीर्थयात्री झापाबाट आउने गरेका छन् । झापापछि सुनसरी, मोरङ र भारतको सिक्किमबाट आउने गरेको काफ्ले बताउँछन् । पछिल्ला वर्ष राजधानीबाट आउनेको संख्या पनि बढिरहेको छ भने यो सिजनमा प्रदेश २ बाट पनि उल्लेख्य संख्यामा तीर्थयात्री आएको क्षेत्र विकास समितिले जनाएको छ ।

प्रकाशित : कार्तिक १८, २०७८ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?