बढ्दै सवारी एसेम्बल उद्योग

एसेम्बल उद्योगको वर्गीकरण गर्न व्यवसायीको माग
फेरिइरहने सरकारी नीतिको मारमा व्यवसायी
२५ वर्षयता १८ उद्योग मात्र दर्ता
सरकारले यसअघि ल्याएको नीतिले केही सहयोग गरे पनि त्यो पर्याप्त छैन । अब यसमा दीर्घकालीन सोच राखेरनीति ल्याउनुपर्छ ।– शेखर गोल्छा, अध्यक्ष ,नेपाल उद्योग वाणिज्य महासंघका

२०५३ सालमा उद्योग विभागमा एसेम्बल उद्योग दर्ता भयो– नेपाल इलेक्ट्रिक भेहिकल इन्डस्ट्री । अहिले २०७८ साल चल्दै छ । २५ वर्षको अवधिमा भने यस्ता उद्योग दर्ताको संख्या भने १८ मात्र पुगेको छ । विभिन्न स्वदेशी एवं विदेशी कम्पनीले समयसमयमा गाडी एसेम्बल प्लान्ट स्थापना गर्न चासो दिए पनि त्यहीअनुसार हुन नसकेको व्यवसायी बताउँछन् ।

बढ्दै सवारी एसेम्बल उद्योग

दर्ता भएकामध्ये स्वदेशी लगानीका ८, विदेशी लगानीका ६ र ४ वटा अर्धस्वदेशी/विदेशी लगानीका उद्योग दर्ता छन् । गत साउन र असोजमा मात्र स्वदेशी लगानीका दुई वटा यस्ता उद्योग दर्ता भएका छन् । मोरङमा उद्योगको प्लान्ट रहने गरी एमएडब्लू अटो प्रालि असोजमा विभागमा दर्ता भएको छ । उक्त उद्योगले दुईपाङ्ग्रे सवारीका पार्टपुर्जा एसेम्बल गरी उत्पादन गर्न १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ लगानी गरेको जनाएको छ । उद्योगमा १ सय ४४ जनाले रोजगार पाएको विभागको तथ्यांक छ ।

बारामा उद्योग रहने गरी साउनमा सीजी अटोमोटिभ इन्डस्ट्री प्रालि विभागमा दर्ता भएको हो । उक्त उद्योगबाट अरुणकुमार चौधरीले दुई, तीन र चारपाङ्ग्रेका पार्टपुर्जा एसेम्बल गरी सवारी उत्पादन गर्न भन्दै १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ लगानी गरेका छन् । उद्योगले १ सय १३ जनालाई रोजगारी दिएको विभागको तथ्यांक छ ।

एभरेस्ट अटोमोबाइल म्यानुफ्याक्चरिङ कम्पनी प्रालि र २०७७ सालमा नेबुला इनर्जी प्रालि विभागमा दर्ता भइसकेका छन् । चितवनमा उद्योग रहने गरी नेबुलाले इलेक्ट्रिक सवारीसाधन एसेम्बल गरी उत्पादन गर्न १५ करोड रुपैयाँ लगानी गरेको छ । काठमाडौंमै उद्योग रहने गरी विजयमान शेरचनको लगानी रहेको नेपाल इलेक्ट्रिक भेहिकल इन्डस्ट्रीले विद्युतीय सवारीसाधनका पार्टपुर्जा जडान गरी उत्पादन गर्नेछ । उद्योगमा १ करोड ६० लाख रुपैयाँ लगानी छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मोरङमा उद्योग रहने गरी हुलास मोटर्स प्रालि उद्योग दर्ता गरेका छन् । सवारीसाधन उत्पादनका लागि उनले २ करोड ५७ लाख ३७ हजार ८ सय ६९ रुपैयाँ लगानी गरेको विभागको तथ्यांक छ ।

विभागकै तथ्यांकअनुसार ६ वटा विदेशी लगानीका उद्योग दर्ता भएका छन् । २०७३ सालमा पूर्ण विदेशी लगानीका नेपाल इभी कम्पनी, सीईसी भेहिकल्स कम्पनी प्रालि, हि डोङ इनर्जी इन्डस्ट्रिज प्रालि तथा २०७५ सालमा बेन्लिङ मोटर टेक्नोलोजी कम्पनी प्रालि, ग्रेटवाल भेहिकल प्रालि र नेपाल हुचाङ कम्पनी प्रालि दर्ता भएको विभागको तथ्यांक छ ।

२०५३ सालमा नेपाल इलेक्ट्रिक भेहिकल इन्डस्ट्री दर्ता भएको एक वर्षपछि २०५४ मा हुलास मोटर्स दर्ता भयो । २०७६ सालमा आएर लक्ष्मी मोटर कर्पोरेसन प्रालि दर्ता भयो । यसको लगानी ५ अर्ब १० करोड रुपैयाँ छ । कोभिडअघि उद्योग दर्ता गरिएको लगानीकर्ता निराकार श्रेष्ठ बताउँछन् ।

‘कोभिडका कारण उद्योगले उत्पादन थाल्न केही ढिलो भयो,’ श्रेष्ठले भने, ‘उद्योग दर्ता गरेर हामी प्रारम्भिक वातावरणीय मूल्यांकन (आईई) गर्ने प्रक्रियामा छौं ।’ एसेम्बल उद्योग भनेर व्यापक चर्चा हुने गरे पनि सोचेअनुसारको काम हुन नसकेको उनको भनाइ छ । ‘यसमा विभिन्न पाटा छन् । तिनको परिभाषा हुनुपर्‍यो, कस्ता उद्योगलाई एसेम्बल मान्ने ? यसको वर्गीकरण हुन्छ कि हुँदैन ?,’ उनले भने, ‘एसेम्बल भनेको जोडजाडकै काम हो, उत्पादन गर्ने होइन । तर के ल्याएर जोडजाड गर्ने हो ? कुन तहसम्मको गर्नुपर्ने हो ? प्रस्ट हुन जरुरी छ ।’

सवारीका ढोका, टायर, ब्याट्री झिकेर ल्याई जोडेर गर्ने कामलाई एसेम्बल उद्योग मान्ने कि नमान्ने भन्ने प्रश्न रहेको उनले बताए । ‘यी सबै विषयमा प्रस्ट पार्न गत वर्ष अर्थ मन्त्रालय र उद्योग मन्त्रालयको अग्रसरतामा समिति पनि गठन भएको छ । समितिले पनि बाहिरी देशको उदाहरण हेर्दै के–कस्ता उद्योगलाई सुविधा दिनेलगायत सबै कुरा अध्ययन गरिरहेको छ,’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सदस्यसमेत रहेका श्रेष्ठले भने ।

समयसमयमा सरकारी नीति फेरबदल भइरहँदा पनि एसेम्बल उद्योगलाई समस्या हुने गरेको उनको भनाइ छ । ‘कसैले एसेम्बल उद्योगमा लगानी गरेपछि आठदस वर्ष नीति परिवर्तन हुँदैन भन्ने स्पष्ट हुनुपर्‍यो,’ उनले भने, ‘सरकार परिवर्तनसँगै यस क्षेत्रलाई हेर्ने दृष्टिकोण पनि फरकफरक हुँदै जान्छ ।’ नेपालमा एसेम्बल उद्योग स्थापना हुनुपर्छ भन्नेमै आफ्नो जोड रहेको श्रेष्ठले बताए । ‘आज नहोला तर भविष्यमा नेपालमै गाडी उत्पादन गर्नलाई यो एउटा खुड्किलो सावित हुन सक्छ । जुनसुकै देशमा हेर्दा पनि यसको सुरुवात एसेम्बलबाटै भएको छ,’ श्रेष्ठले भने, ‘नेपालमा पनि गाडी उत्पादनका लागि यसले बाटो बनाउने मेरो विश्वास छ ।’

तीनपाङ्ग्रे रिक्सा ल्याएर दुईवटा कोठामा राखेर जोडजाड गर्नुलाई पनि ‘एसेम्बल उद्योग’ को नाम दिन भने नहुने उनको तर्क छ । ‘त्यसैले यसको वर्गीकरण प्रस्ट हुनुपर्छ भन्ने नै हो,’ उनले भने । यति बेलासम्म पनि नेपालमा एसेम्बल उद्योगको वर्गीकरण नगरिनु दुःखद भएको उनले बताए । ‘एसेम्बल उद्योग भनेर सबैलाई एकै ठाउँमा राखिएको छ,’ उनले भने, ‘दर्ता हुँदा एसेम्बल उद्योग नै भनिएको छ । तर त्यो कसरी चलेको छ भन्ने थाहा छैन ।’

एसेम्बल उद्योगलाई प्रोत्साहन गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं हुलास मोटर्स प्रालिका सञ्चालक शेखर गोल्छाको भनाइ छ । सरकारले यसअघि ल्याएको नीतिले केही सहयोग गरे पनि त्यो पर्याप्त नभएको उनले बताए । ‘भारतमा पनि पहिले एसेम्बल उद्योग आएका थिए । त्यसपछि त्यससँग सम्बद्ध अन्य उद्योग खुलेका थिए,’ गोल्छाले भने, ‘नेपालमा पनि त्यही अवधारणा अपनाउनुपर्छ । सरकारले यसमा दीर्घकालीन सोच राखेर नीति ल्याउनुपर्छ ।’

हुलास अटोक्राफ्टले चार वर्षअघि नवलपरासीमा एसेम्बल प्लान्ट स्थापना गरी बजाजका विभिन्न मोडलमा मोटरसाइकल उत्पादन गर्दै आएको छ । गोल्छा ग्रुपका अध्यक्ष गोल्छाका अनुसार अहिले दैनिक करिब ४ सय मोटरसाइकल उत्पादन भइरहेको छ । १ सयदेखि ४ सय सीसीका मोटरसाइकल त्यहाँ तयार भइरहेको उनले जानकारी दिए । यसअघि हुलास मोटर्स मोरङले नेपालमै मुस्ताङ म्याक्स गाडी बनाएको थियो ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमै बनेको गाडी मुस्ताङ म्याक्स चढ्न थालेपछि चर्चा निकै भयो । तर भट्टराई सरकारबाट बाहिरिएसँगै गाडीको उत्पादन पनि बन्द हुन पुग्यो । राज्यको नीति उद्योगलाई सघाउने नभएपछि उत्पादन बन्द गर्नुपरेको सञ्चालक सुरेन्द्र गोल्छाले बताए । उनका अनुसार गाडीको, बडी, चेसिस आफैं बनाइन्थ्यो । ‘शेर्पा, मुस्ताङ गाडी उत्पादन हुन्थ्यो,’ उनले भने, ‘गाडीको इन्जिनियरिङ सबै यहीँ हुन्थ्यो ।’

शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले टीभीएस ब्रान्डका मोटरसाइकल, स्कुटर र तीनपाङ्ग्रे टेम्पो उत्पादन गरिरहेको छ । बाराको सिमरामा रहेको उद्योगबाट मोटरसाइकल तथा टेम्पो उत्पादन सुरु गरिएको शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवाल बताउँछन् । ‘लाइसेन्स लिएको ५ वर्ष र उत्पादन सुरु भएको एक वर्ष भयो,’ अग्रवालले भने, ‘अहिले कुल क्षमताको करिब ७० प्रतिशत उत्पादन भइरहेको छ ।’ उद्योगको वार्षिक उत्पादन क्षमता दुईपाङ्ग्रे सवारी (मोटरसाइकल र स्कुटर) एक लाख र तीनपाङ्ग्रे टेम्पो १० हजार रहेको अग्रवालले जानकारी दिए । सबै गरेर आफूहरूको लगानी डेढ अर्ब रुपैयाँ पुगेको उनले सुनाए ।

उद्योगहरू दर्ताको चरणमा रहेकाले एक वर्षभित्र एसेम्बल उद्योगको संख्या २० देखि २२ वटासम्म पुग्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण दुलालले जानकारी दिए । ‘अहिले थोरै मात्र उद्योग सञ्चालनमा छन् । दर्ताको चरणमा रहेका केही उद्योग एक वर्षभित्र चल्न थाल्छन् ।’ नेपालमा दर्ता भएकामध्ये दुई उद्योगले मात्र एसेम्बलको काम गर्दै आएको उनको भनाइ छ । अहिले बजाज र टीभीएसले एसेम्बलको काम गरिरहेका छन् । यी दुवैले मोटरसाइकल र स्कुटरको एसेम्बल गरिरहेको दुलालले बताए ।

नेपालको बजार नै सानो भएकाले दर्ता भएका १८ उद्योगलाई थोरै भन्न नमिल्ने विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुली बताउँछन् । नेपालमा उत्पादन गरेर बाहिरको बजारमा निर्यात गर्न सक्ने अवस्था पनि छैन ।

प्रकाशित : कार्तिक १७, २०७८ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?