भारतमा विद्युत् व्यापार गर्न नेपालले पायो अनुमति, ३९ मेगावाट निर्यात हुँदै

दुई मुलुकको विद्युत व्यपारमा कोशेढुंगा : ऊर्जा मन्त्री भुसाल
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले पहिलोपटक भारतमा विद्युत् बेच्‍नका लागि अनुमति पाएको छ । यसअघि भारतमा विद्युत् आदान–प्रदान (एक्सचेन्ज) को मात्रै स्वीकृति पाएको नेपालले अब व्यापारको अवधारणामा विद्युत् निर्यातको स्वीकृति पाएको हो ।

भारतमा विद्युत् व्यापार गर्न नेपालले पायो अनुमति, ३९ मेगावाट निर्यात हुँदै

भारतीय ऊर्जा बजारमा सोमबारबाट प्रतिस्पर्धी दरमा विद्युत् बिक्रीका लागि अनुमति पाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालित २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बिक्री हुनेछ । प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात् सुरु गर्ने छ । हाल यो लाइनबाट विद्युत आयात मात्र भइरहेको छ ।

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा विद्युत खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ । प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको वेला आईआईएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताइन् । ‘राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत बिक्रीका लागि अनुमति पाएका छौं, यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोशेढुंगा हो, ’ उनले भनिन् ।

‘हामीले प्रस्ताव गरेका ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मर्स्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत गृहबाट उत्पादित विद्युतको भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरेका छौं , ’ मन्त्री भुसालले भनिन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताए । ‘विद्युत् निर्यातको सुरुआत थोरै परिमाणबाट भएपनि चाँडै हामीले प्रस्ताव गरेका माथिल्लो तामाकोसीलगायत अन्य आयोजनाको विद्युत पनि भारतीय बजारमा निर्यात हुने विश्वास लिएका छौं,’ उनले भने ।

प्रकाशित : कार्तिक १६, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?