२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सुक्खा बन्दरगाह र आईसीपीमा ५३ जग्गाधनीलाई डेढ अर्ब मुआब्जा

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) बीचको जग्गाका ५३ जग्गाधनीले १ अर्ब ५० करोड रुपैयाँ मुआब्जा बुझेका छन् । हालसम्म ७२ कित्ता जग्गाका ५३ जग्गाधनीले करिब १७ बिघा जग्गाको मुआब्जा लिइसकेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

सुक्खा बन्दरगाह र आईसीपीमा ५३ जग्गाधनीलाई डेढ अर्ब मुआब्जा

‘अर्थ मन्त्रालयबाट निकासा भएर आएको मुआब्जा रकममध्ये पहिलो चरणमा स्थानीय किसानले १ अर्ब ५० करोड रुपैयाँ मुआब्जा बुझेका हुन्,’ उनले भने, ‘अब बाँकी करिब ३ सय किसानले झन्डै ४ अर्ब रुपैयाँ मुआब्जा लिन बाँकी छ । अर्थ मन्त्रालयमा फाइल पुगेको छ । रकम निकासा भएर आएपछि वितरण हुन्छ ।’ जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीयले मुआब्जा लिइरहेका छन् । वीरगन्ज महानगरपालिका–२५ मा पर्ने सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँचचौकीबीचको जग्गा अधिग्रहण प्रक्रिया सरकारले करिब ५ वर्षअघि सुरु गरेको हो ।

सरकारको २०७३ पुस १७ को निर्णयपछि जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको हो । गत वर्ष कात्तिक २७ मा बसेको मन्त्रिपरिषद् बैठकले सिर्सिया खल्वाटोलाबासीलाई मुआब्जा बाँड्ने निर्णय पनि गरेको थियो । सुक्खा बन्दरगाह र आईसीपीबीच २ सय ९७ धनीको करिब १ हजार ४ सय कित्ता जग्गा छ । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार यहाँ मुआब्जा रकम सबैभन्दा बढी प्रतिकट्ठा ६७ लाख ७० हजार र सबैभन्दा कम प्रतिकठ्ठा २४ लाख ६० हजार रुपैयाँ तोकिएको छ । ५ वर्षअघि स्थानीयको ६२ बिघा जग्गा अधिग्रहणका लागि भन्दै रोक्का गरिएको थियो ।

सिर्सिया सुक्खा बन्दरगाह केही वर्षयता साँघुरो भएको छ । आईसीपीसमेत सञ्चालनमा आएपछि दुवै भन्सारबाट गरी यस क्षेत्रमा हाल दैनिक करिब १ हजार ५ सय मालवाहक सवारीसाधनको आवागमन हुन्छ ।

प्रकाशित : कार्तिक १४, २०७८ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?