चार छोरालाई मादल बनाउन सिकाउँदै छोटे, तिहारको माग धान्नै मुश्किल

रमेशचन्द्र अधिकारी

धनकुटा — यतिबेला छोटे सार्कीलाई मादल बनाउने काममा भ्याइनभ्याइ छ । धनकुटा १ हिले बजार नजिक गैरीगाउँमा मादल बनाउने उद्योग नै सञ्चालन गरेका उनी तिहार नजिकिँदै जाँदा बिहानदेखि राति अबेरसम्म यस काममा व्यस्त हुँदै आएका छन् ।

चार छोरालाई मादल बनाउन सिकाउँदै छोटे, तिहारको माग धान्नै मुश्किल

लोकबाजाको रुपमा चर्चित मादल अन्य बेलामा पनि उत्तिकै माग हुने गरेको छ । तर, तिहारका बेला दैनिक ८ जना खटिँदा पनि मागअनुसार उत्पादन गर्न मुश्किल भएको छोटे बताउँछन् । १२ वर्षे उमेरदेखि मादल बनाउन थालेका उनी यो काममा लागेको ४८ वर्ष भइसकेको छ । आफ्ना बाबु बाजेले पनि मादल बनाउँदै आएकोमा आफूले व्यवसायिक उत्पादन थालेको उनको भनाइ छ । ‘९ छोराछोरी सहित ११ जनाको परिवार मादल लगायत पुख्र्यौली पेशाबाट गुजारा चलाउँदै आएको छु’ उनले भने, ‘यहीं पेशाको भरमा छोराछोरी उच्च शिक्षा पढाउन सकेँ । उनले यहीं पेशा आफ्ना ४ छोराहरुलाई सिकाएका छन् ।’

मादल प्रति गोटा २ हजार ५ सयदेखि १४ हजार मूल्यसम्ममा बिक्री गर्छन् । जसबाट तिहार भित्रिनै लागेको यस समयमा मासिक डेढ लाख बढी आम्दानी हात पर्ने छोटेले बताए । अघिल्लो वर्ष कोरोना संक्रमणको महामारीका कारण ओरालो लागेको व्यवसाय पुन यस वर्ष फस्टाएको छ । उनले गोरु र बाख्राको छालाबाट देब्रे र दाइने ‘ताल’ तथा लामपाते नामको रुखको काठबाट मादलको बाहिरी भाग बनाउने गर्दछन् ।


एउटा मादल बनाउन सामान्यत: आकार अनुसार ३ देखि ५ दिन लाग्ने उनीसँगै खटिएका जेठा छोरा निरबहादुरले बताए । सबैभन्दा बढी समय मादलको दुवैतर्फ खरी लगाउने काममा लाग्ने उनको भनाइ छ । ‘कम्तिमा तीन दिन खरी मिलाउन लाग्ने गरेको छ, मादल हेर्दा जति आकर्षक देखिन्छ, बनाउन उत्ति कठिन छ’ उनले भने । उनले मादलको लागि आवश्यक छाला विराटनगर तथा छिमेकी मुलुक भारतबाट मगाउने गरेका छन् । तर, बाहिरी स्वरुप बनाउन प्रयोग हुने काठ पाउन मुश्किल रहेकाले व्यवसायीलाई मादल बनाउने काममा समस्या आउने गरेको उनले बताए । यसको लागि जिल्लाका मुगा, फलाटे, लेगुवा लगायत विभिन्न ठाउँमा धाउनु पर्ने छोटेले बताए ।

यहाँबाट उत्पादित मादल पूर्वका अधिकांस शहर बजारमा पुग्ने गरेको छ । सहजताको लागि उद्योगबाट उत्पादित मादल हिले बजारको शो रुममा पनि राखिन्छ । ‘माग अत्यधिक आउने गरेपनि कामदार र सामग्री अभावले पुरा गर्न मुश्किल छ’, छोटेले भने, ‘जति सक्दो बढी उत्पादन गर्नेतिर लागेका छौँ ।’


खरी बनाउन प्रयोग गरिने कच्चा पदार्थ पाउन पनि आजकाल कठिन भएको उनको भनाइ छ । मादल बनाउने जनशक्ति अभाव भएपछि उनकी श्रीमती चन्द्रमाया, भानिज रमेश रोका लगायतले सघाउँदै आएका छन् । छोटले मादल मात्रै नभई डम्फु, ढोल, सारङ्गी, मुढा लगायत सामग्री बनाउने गरेका छन् । छोटेको मादल उत्पादन केन्द्र जिल्लाकै सबैभन्दा ठूलो उद्योग हो ।



प्रकाशित : कार्तिक १४, २०७८ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?