१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

फूल टिप्न भ्याइनभ्याई

उपयुक्त माटो र बजार पाउँदा किसानलाई सहज
ज्योति कटुवाल

सुर्खेत — करिब तीन कट्ठा जग्गा भाडामा लिएर सयपत्री खेती गर्न थालेका वीरेन्द्रनगर–३ हिलेखालीका इन्द्रजित सुनारलाई अहिले फूल टिप्न भ्याइनभ्याई छ । सुनारले लगाएको थाइल्यान्डबाट आयात हुने ‘कर्मा–५५५’ जातको सयपत्रीको फूलले उत्पादन दिन थालेको हो ।

फूल टिप्न भ्याइनभ्याई

‘तिहार नजिकिएकाले माला र फूलको अनलाइन बुकिङ भइरहेको छ,’ उनले भने, ‘माग बढ्दै गएपछि फूल र माला पुर्‍याउन हम्मे भयो ।’

यसअघि सयपत्रीको फूल भारत र देशका अन्य सहरबाट आउने गरेकाले त्यसको आयात रोक्न फूलखेती सुरु गरेको उनले बताए । सुनारले फूलबारीमा करिब २ हजार बिरुवा लगाएका छन् । त्यसबाट झन्डै ४ हजार माला बन्ने उनको भनाइ छ । कर्मा ग्रुप अफ कम्पनीले यो जातको फूलको बीउ सुर्खेत ल्याएको हो । उनले यसअघि उक्त कम्पनीमा काम गरेकाले खेतीमा खासै समस्या नभएको बताए । अहिले सुनारसहित अन्य ७ युवालाई फूल टिप्न भ्याइनभ्याई छ । ‘हामीले सोचेभन्दा पनि बढी माग पाएका छौं,’ उनले भने, ‘अहिले माला बुन्न मात्रै दैनिक ५ जनालाई रोजगारी दिएको छु ।’ उनले बजारमा १ सय ५० रुपैयाँमा माला बिक्री गर्ने तयारी गरेको बताए ।

कृषि विषय नै पढेकाले धेरै प्राविधिक विषयमा जानकारी रहेकाले फूलखेतीमा लाग्न सहज भएको सुनाए । ‘मागका आधारमा व्यवसायलाई क्रमशः विस्तार गर्ने योजना छ,’ उनले भने, ‘उपयुक्त माटो भएकाले सुरुमै राम्रो उत्पादन दिएको छ, बजारको पनि समस्या देखिएन ।’ उनले फूलखेतीका लागि १ लाख रुपैयाँ लगानी गरेका छन् । यो तिहारमा फूल बेचेर करिब ३ लाख रुपैयाँ आम्दानी हुने उनको अनुमान छ । ‘फूललाई जति छिटो टिप्यो उति नै उत्पादन हुन्छ । यो पटक मंसिरसम्मै फूल टिप्न सकिने देखिन्छ,’ उनले भने ।

सुर्खेतमा कस्मेटिक व्यवसाय गर्दै आएकी चन्द्रा बस्नेतका अनुसार यसअघि बाहिरबाट आउने फूलको माला ४ सय रुपैयाँसम्ममा किनबेच भएको थियो । स्थानीय रूपमै उत्पादन हुन थालेपछि फूलको मूल्य घटेको उनको भनाइ छ । सुर्खेतमा भारत र अन्य ठाउँबाट वार्षिक २० देखि २५ लाखसम्मको फूल आउने गरेको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले बताए । ‘यहीं उत्पादन भए बजार थप बढाउन सकिन्छ,’ उनले भने ।

प्रकाशित : कार्तिक १३, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?