१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

विराटनगर डिपोमा १४ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारण थपिँदै 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आयल निगमले विराटनगर डिपोमा १४ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारण (ट्याङ्क) थप्ने काम अन्तिम चरणमा पुऱ्याएको छ । पेट्रोलको खपत बढ्न थालेपछि निगमले मट्टितेलका दुई ट्याङ्कलाई नै पेट्रोल ट्याङ्कमा रुपान्तरण गर्न लागेको हो ।

विराटनगर डिपोमा १४ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारण थपिँदै 

नेपाल आयल निगम १ नम्बर प्रदेश कार्यालय प्रमुख अशोक साहका अनुसार विराटनगर डिपोबाट दैनिक ४ देखि ५ सय किलोलिटर पेट्रोल बिक्री हुने गरेको छ । तर, डिपोमा हाल पेट्रोलको भण्डारण क्षमता जम्मा ५ सय ६० किलोलिटर छ ।

‘उक्त क्षमताले डेढ दिनलाई मात्रै धान्छ,’ उनले भने, ‘मागलाई मध्यनजर गर्दै मट्टितेलका ट्याङ्कलाई नै पेट्रोल भण्डारणको रुपमा रुपान्तरण गरिरहेका छौँ ।’ थप १४ सय किलोलिटरको क्षमता थपिँदा पेट्रोल ५ दिनलाई पुग्ने उनले बताए । ७ सय १० र ७ सय ५० किलोलिटर क्षमताका दुई ट्याङ्कलाई मट्टितेलको साटो पेट्रोल भण्डारणका रुपमा विस्तार गर्न लागिएको हो । यी ट्याङ्क रुपान्तरण गर्न २ करोड ५९ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

साहका अनुसार विराटनगर डिपोबाट दैनिक २० किलोलिटर मात्रै मट्टितेल बिक्री हुन्छ । मट्टितेलको ट्याङ्क तीन वटा रहेकोमा अब एउटा मात्रै रहने छ । साहका अनुसार अबको १५ दिनमा काम सकिन्छ । ‘पाइपलाइन व्यवस्थापन, फायरफाइटिङ जोड्न बाँकी छ, यी सम्पूर्ण काम सकेपछि परीक्षण गर्छौँ,’ उनले भने, ‘मंसिरबाट संचालन हुन्छ ।’ यस्तै डिपोबाट डिजेलको माग दैनिक एक हजार देखि १२ सय किलोलिटर छ । विराटनगर डिपोमा सिगुढी र बरौनीबाट इन्धन आायात हुन्छ । आयातित इन्धन १६ जिल्लामा वितरण हुन्छ ।


प्रकाशित : कार्तिक १०, २०७८ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?