कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

रोहिणीमा स्वास्थ्य बीमा संयोजन समिति गठन

सन्जु पौडेल

लुम्बिनी — नागरिकको स्वास्थ्य बीमामा सहजीकरण गर्ने उद्देश्यले रोहिणी गाउँपालिकामा मंगलबार स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन भएको छ । स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति सञ्चालन कार्यविधि २०७८ लागू भएपछि देशमै पहिलो समिति रोहिणीमा गठन गरिएको पालिकाको दाबी छ । 

रोहिणीमा स्वास्थ्य बीमा संयोजन समिति गठन

स्थानीय तहमा स्वास्थ्य बीमासम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न सहजीकरण गर्नेलगायत कार्यका लागि समिति गठन गरिएको हो । कार्यविधिअनुसार रोहिण गाउँपालिका अध्यक्ष सनोजकुमार यादवको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए । समिति सदस्यमा वडा अध्यक्षका तर्फबाट वीरबहादुर थापा, महिला स्वास्थ्य स्वयंसेविकाको तर्फबाट पद्मा थापा, सेवा प्रदायक संस्थाका तर्फबाट चन्द्रिका यादव, गाउँपालिकाका स्वास्थ्य संयोजक रामनेवास चौधरी र रामप्रसाद ढकाल रहेका छन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत न्यौपाने सदस्य सचिवको जिम्मेवारीमा रहने छन् ।

पालिकामा रहेका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष यादवले जनाए । यसले रोहिणी गाउँपालिकाका जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्ने दीर्घकालीन लक्ष्य राखिएको उनले बताए । यादवले पालिकामा विभिन्न चेतनामूलक कार्यक्रममार्फत समुदायका समूहलाई सक्रिय सहभागी गराउने जनाए ।

रोहिणी गाउँपालिकामा रहेका ५ जनासम्म सदस्य रहेको परिवारमा ३ हजार ५ सयको दरले परिवारकै वर्षभरिको स्वास्थ्य बीमा गराउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । ५ जनाभन्दा बढी सदस्य रहेको परिवारमा प्रतिसदस्य बराबर थप ७ सय रुपैयाँ तिर्नु पर्नेछ । स्वास्थ्य बीमाले ५ जनासम्म सदस्य रहेका परिवारलाई १ लाखबराबरको औषधीय सेवा पाउने र ५ जना माथिका सदस्यको हकमा प्रतिसदस्य थप २० हजार बराबरको अधिकतम २ लाखसम्मको सेवा प्राप्त हुने उनले जानकारी दिए ।

स्वास्थ्य बीमाले अप्रत्यासित स्वास्थ्य हानीको कारणले हुने आर्थिक जोखिमबाट बचाउने भएकाले गाउँपालिकाले सबै नागरिकलाई यो अभियानमा सहभागी हुन अपिलसमेत गरेको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?