लाइसेन्सको लागि खुल्यो नयाँ आवेदन, ट्रायलको पालो आउन ४ महिना लाग्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुल्ला गरेको छ । सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुल्ला गरिएको हो । सोमबार साँझ ५ बजेबाट आवेदन खुल्ला गरे पनि चाप धेरै भएकाले अनलाइन फारम भर्नेलाई समस्या भएको छ ।

लाइसेन्सको लागि खुल्यो नयाँ आवेदन, ट्रायलको पालो आउन ४ महिना लाग्ने 

एक्कासी चाप बढ्ने भएकाले सार्वजनिक सूचनाविना नै आवेदन खोलिएको विभागको भनाइ छ । ६ महिनापछि नयाँ लाइसेन्सको आवेदन खुलेकाले चाप पर्दा सिस्टममा समस्या आएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए । कोरोना महामारीका कारण वैशाख मध्यबाट नयाँ लाइसेन्सको लागि आवेदन स्थगित गरिएको थियो ।

भुसालका अनुसार ९ लाख जनाले एकैचोटी सिस्टममा फारम भर्न प्रयास गर्दा समस्या आएको हो । ‘विहान कार्यालय समय १० देखि बेलुका ५ बजेसम्म धेरै चाप हुने भएकाले समस्या देखिन सक्छ’ उनले भने, ‘विस्तारै सहज हुँदै जाने छ ।’ सूचना निकालेर आवेदन खुल्ला गर्दा चाप हुने भएकाले सूचना जारी नगरी खुल्ला गरिएको उनले बताए । फारम भरेर बसेका नयाँ लाइसेन्स लिनेको संख्या अझै साढे ३ लाख बढी रहेको विभागले जनाएको छ। यो संख्या सबैभन्दा धेरै काठमाडौंमा छ । अहिले नयाँ लाइसेन्सका लागि काठमाडौंका यातायात कार्यालयको नाम राखेर फारम भरेमा चार महिनापछि मात्रै पालो आउने भुसालले बताए ।

उपत्यकाबाहिरका कार्यालयहरुको नाम राखेर भरेमा १५ दिनदेखि एक महिनाभित्रमा पालो आउने उनको भनाई छ । पहिला भर्नेको पालो पहिला नै आउने छ । अब फारम भर्नेहरुले विभागको नयाँ मापदण्डअनुसार लिखित र ट्रायल दिन पाउने छन् । सबैले स्मार्ट लाइसेन्स पाउने छन् । नयाँ मापदण्डअनुसार लिखितमा ६० प्रतिशत र ट्रायलका विभिन्न चरणमा ७० अंक ल्याएमा पास भइनेछ ।


प्रकाशित : कार्तिक ९, २०७८ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?