अर्थतन्त्रका प्रायः सूचक नकारात्मक

३ महिनामै व्यापार घाटा ४ खर्ब नाघ्यो, आयात ६४ प्रतिशत बढ्यो
विदेशी मुद्रा सञ्चिति ९३ अर्ब घट्यो, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा
रेमिट्यान्स आप्रवाहमा ६.३५ कमी
यज्ञ बञ्जाडे, कमल नेपाल

काठमाडौँ — चालु आर्थिक वर्षको तीन महिनामा मुलुकमा ४ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात करिब ६४ प्रतिशत बढेको हो । स्वदेशी उत्पादन अपेक्षित रूपमा बढ्न नसक्दा हरेक महिना आयात उच्च दरले बढ्दो छ । सोही क्रममा गत असोजसम्म यस्तो आयात करिब पौने ५ खर्ब रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको असोजसम्म २ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो । 

अर्थतन्त्रका प्रायः सूचक नकारात्मक

गएको तीन महिनामा मुलुकबाट ६५ अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको निर्यात १ सय ९ प्रतिशत बढी हो । २०७७ असोसम्म ३१ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो । तथ्यांकमा हेर्दा गत आर्थिक वर्षको असोजको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात शतप्रतिशतभन्दा धेरैले बढे पनि आकार (परिमाण) सानो रहेकाले उपलब्धि नदेखिएको हो ।

तीन महिनाको अवधिमा मुलुकमा ५ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । कुल व्यापारमध्ये निर्यातको तुलनामा आयात सात गुणा बढी हो । आयातको तुलनामा निर्यात नगन्य रहेकाले हरेक महिना मुलुकको व्यापार घाटा चुलिँदै गएको छ । सोही क्रममा गत असोजसम्म व्यापार घाटा ४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको तीन महिनासम्मको तुलनामा यो करिब ५८ प्रतिशत बढी हो । २०७७ असोजसम्म मुलुकको व्यापार घाटा २ खर्ब ६१ अर्ब रुपैयाँ थियो । आयात र निर्यातबीच सन्तुलन नहुँदा व्यापार चुलिँदै गएको जानकारहरू बताउँछन् । असोजसम्म कुल व्यापारमा निर्यात अनुपात करिब १२ प्रतिशत छ भने आयात अनुपात ८८ प्रतिशत छ ।

चालु आर्थिक वर्षका तीन महिनासम्ममा मुलुकमा सबैभन्दा बढी २३ अर्ब ३२ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । डिजेलसँगै क्रमशः कच्चा भटमासको तेल, मोबाइल टेलिफोन, कच्चा पाम तेल र पेट्रोल धेरै आयात हुने प्रमुख ५ वस्तुमा परेका छन् । सोही अवधिमा २० अर्ब ६० करोड रुपैयाँ बराबरको कच्चा भटमासको तेल आयात भएको छ ।

व्यवसायीहरूले ब्राजिल, अर्जेन्टिना, सिंगापुर र मलेसियाबाट भटमासको कच्चा तेल आयात गर्दै आएका छन् । त्यसलाई प्रशोधन गरेर भारत निर्यात गरिन्छ । केही महिनायता निर्यात उच्च दरले बढ्नुको एउटा कारण यो पनि भएको जानकारहरू बताउँछन् । तीन महिनाको अवधिमा २२ अर्ब रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ ।

गत असोजसम्म १७ अर्ब १७ करोड रुपैयाँ बराबरको मोबाइल, टेलिफोनलगायत सञ्चार सामग्री, १३ अर्ब ४ करोडको कच्चा पाम तेल र करिब १२ अर्ब ८६ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको भन्सार विभागको तथ्यांक छ । सबैभन्दा बढी निर्यात हुने सूचीको पहिलो नम्बरमा भटमास तेल र दोस्रो नम्बरमा कच्चा पाम तेल छ । गत साउनयता असोजसम्म ८ अर्ब ४५ करोड रुपैयाँ बराबरको कच्चा पाम तेल निर्यात भएको छ । सूचीको तेस्रोमा प्रशोधित पाम तेल छ । सो अवधिमा ५ अर्ब ५ करोड रुपैयाँको प्रशोधित पाम तेल निकासी भएको देखिन्छ । चौथोमा ऊनीको गलैंचा कार्पेट छ ।

गएका तीन महिनामा २ अर्ब ४५ करोड रुपैयाँको ऊनीको गलैंचा कार्पेट निर्यात भएको भन्सार विभागको तथ्यांक छ । सोही अवधिमा १ अर्ब ८७ करोड रुपैयाँ बराबरको जुट तथा अन्य टेक्सटायल निर्यात भएको छ । १ अर्ब ८२ करोड रुपैयाँ बराबरको सनफ्लावर तेल र १ अर्ब २८ करोड रुपैयाँ बराबरको अलैची निर्यात भएको विभागले जनाएको छ ।

गत असोजसम्म १ सय ३४ वटा राष्ट्रसँगै वैदेशिक व्यापार भएको विभागको तथ्यांक छ । यसअनुसार १८ वटासँग व्यापार बचतमा छ भने बाँकी राष्ट्रसँग घाटामा छ । सबैभन्दा धेरै व्यापार घाटा भारतसँग छ । असोजसम्म भारतसँगको व्यापार घाटा २ खर्ब ३४ अर्ब ५५ करोड रुपैयाँ छ । भारतपछि धेरै व्यापार घाटा चीनसँग छ । तीन महिनाको अवधिमा चीनसँग करिब ७७ अर्ब रुपैयाँ व्यापार घाटा देखिन्छ ।

यसैबीच चालु आर्थिक वर्षका दुई महिना (गत साउन र भदौ) मा मुलुकमा रहेको विदेशी मुद्राको सञ्चिति ९३ अर्ब रुपैयाँ घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनका अनुसार गत भदौमा मुलुकमा कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँ छ ।

गत असार मसान्तमा यस्तो सञ्चिति कुल १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकामा भदौ मसान्तमा ५.२ प्रतिशतले कमी आई ११ अर्ब १४ करोड कायम भएको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्ला महिनामा रेमिट्यान्स घटिरहेको छ । त्यस्तै अर्को स्रोत पर्यटन पनि ठप्प छ । विदेशी मुद्रा आप्रवाह कम भए पनि उपभोग्य वस्तु आयातका लागि निरन्तर विदेशी मुद्रा बाहिर पठाउनुपर्दा सञ्चिति घटेको हो । विदेशी मुद्रा सञ्चिति घटेपछि मुलुकको आयात गर्ने क्षमता स्वतः कमजोर भएको छ । असार मसान्तसम्मको सञ्चितिले ११.२ महिनासम्म वस्तु आयात र १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले बताएको थियो । तर भदौसम्मको सञ्चितिले ८.६ महिनाको वस्तु र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ । यसरी मुलुकको आयात क्षमता असारको तुलनामा साउनमा करिब २.४ प्रतिशत बिन्दुले घटेको छ । मुलुकबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अवस्था देखाउने सूचक शोधनान्तर स्थिति भदौमा ८३ अर्ब ४१ करोडले घाटामा छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा थियो । ‘अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति गत भदौमा ७० करोड ४३ लाखले घाटामा छ,’ प्रतिवेदनमा भनिएको छ । सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्ब ७५ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २५ अर्ब १६ करोडले बचतमा थियो ।

दुई महिनाको समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३६.३ प्रतिशतले कमी आई १ अर्ब २५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २४.६ प्रतिशतले वृद्धि भई ३ अर्ब ४ करोड पुगेको छ । चालु आर्थिक वर्षको साउन र भदौमा कुल १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन रकम अघिल्लो वर्षको साउन र भदौको तुलनामा ६.३ प्रतिशत कम रहेको राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्स घट्दा वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या भने बढेको छ । यो साउन र भदौमा वैदेशिक रोजगारीका लागि ३८ हजार ४ सय ९२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्ष यस्तो संख्या ९९.२ प्रतिशत घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य बढेर २२ हजार ९ सय ७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो ।

प्रकाशित : कार्तिक ९, २०७८ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?