२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

निजी क्षेत्रमैत्री बजार नीति बनाउन ध्यानाकर्षण

अमृता अनमोल

बुटवल — च्याम्बर अफ कमर्स लुम्बिनी प्रदेशले निजी क्षेत्रमैत्री बजार नीति तथा कानुनहरुको अविलम्ब निर्माण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

निजी क्षेत्रमैत्री बजार नीति बनाउन ध्यानाकर्षण

मुख्यमन्त्री कुलबहादुर केसीलाई सोमबार ३२ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै निकासी पैठारीका लागि सरकारले निकै कम कानुनहरु निर्माण गरेकाले यसलाई बढाउन माग गरेको छ । प्रदेशका राजश्व संकलक कार्यालयहरुलाई कर दातामैत्री बनाउन तथा भन्सार केन्द्रित अर्थतन्त्र निरुत्साहित हुनेगरी सरकारी नीति बनाउन सरकारसमक्ष माग राखेको छ । मागपत्रमा प्रदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगको स्थापना तथा विकासलाई सरकारले उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा आफूहरु उत्सुक भएको जनाउँदै च्याम्बर अफ कमर्सले सम्मेलनमा निजी क्षेत्रको सहकार्यलाई उच्च महत्त्व दिन आग्रह गरेको छ । ‘लगानी सम्मेलन र प्रदेशमा उत्पादित सामग्रीहरुको प्रदर्शनी मेला आयोजनालाई उपलब्धिमूलक ढंगले सम्पन्न हुने गरी निरन्तरता दिन र त्यस्ता कार्यक्रमहरु आयोजना गर्दा निजी क्षेत्रलाई सहकार्यको अवसर प्रदान गर्न आग्रह गर्दछौं ।’ मागपत्रमा उल्लेख छ ।

कमर्सका अध्यक्ष टंक पोखरेलको नेतृत्वमा गएको टोलीले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढाउन पहल गरी प्रदेशमा लगानी र औद्योगिकीकरणको आधार तयार गर्न पनि सरकारसमक्ष आग्रह गरेको छ । यसअघिका दुई वटा लकडाउनले अर्थतन्त्रलाई धराशायी पारेको अवगत गराउँदै च्याम्बर अफ कमर्सले मुख्यमन्त्री केसीसमक्ष कोभिड–१९ को लागि भ्याक्सिन, स्वास्थ्य उपकरण तथा अस्पताल शय्याको उचित व्यवस्थापन गर्न पनि माग गरेको छ ।

मागपत्र बुझ्दै मुख्यमन्त्री केसीले प्रदेशको विकासका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेकाले मागलाई सरकारले छिट्टै छलफलमा लैजाने बताए । उनले निजी क्षेत्रसँग सरकारले हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता पनि जनाए ।

प्रकाशित : कार्तिक ८, २०७८ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?