दुई महिनामै विदेशी मुद्राको सञ्चिति ९३ अर्ब घट्यो, ब्यापार घाटा ७० प्रतिशत बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई महिनामै विदेशी मुद्राको सञ्चिति ९३ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असार मसान्तमा कुल १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा आउँदा १३ खर्ब ६ अर्ब ९५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा भदौ मसान्तमा ५.२ प्रतिशतले कमी आई ११ अर्ब १४ करोड कायम भएको छ ।

दुई महिनामै विदेशी मुद्राको सञ्चिति ९३ अर्ब घट्यो, ब्यापार घाटा ७० प्रतिशत बढ्यो

मुलुकको ब्यापार घाटा चुलिँदै जाने र रेमिट्यान्स आप्रवाह घट्दै जाँदा विदेशी मुद्रामा चाप परेको हो । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको ब्यापार घाटा ७०. ८ प्रतिशतले बढेको छ । गत वर्षको साउन र भदौको तुलनामा यो वर्षको सोही अवधिमा ब्यापार घाटा ७०.८ प्रतिशतले बढेको हो । साउन र भदौमा नेपालको ब्यापार घाटा २ खर्ब ७० अर्ब ४८ करोड पुगेको छ ।

दुई महिनामा देशमा कुल ३ खर्ब १४ अर्ब ५२ करोड रुपैयाँको बस्तु आयात भएको छ । समीक्षा अवधिमा कुल वस्तु आयात ७५.९ प्रतिशतले बढेको हो । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, सुन, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, मोलासिस सुगर, दाल लगायत वस्तुको आयात घटेको छ ।

चालु आवको पहिलो दुई महिनामा ४४ अर्ब ४ करोडको बस्तु निर्यात भएको छ । सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, आयुर्वेदिक औषधी, तार, जस्तापाता, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।

रेमिट्यान्सको आप्रवाह भने घटेको छ । चालु आवको साउन र भदौमा १ खर्ब ५५ अर्ब ३७ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.३ प्रतिशतले कमी हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । दुई महिनामा कुल ३८ हजार ४९२ जनाले श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो वर्षको यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य बढेर २२ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो ।


प्रकाशित : कार्तिक ८, २०७८ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?