१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दुई वर्षमा सुरुङ मार्गको भौतिक प्रगति २२ प्रतिशत, अब १८ महिनामा सक्नुपर्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालेको दुई वर्ष वित्यो । अहिलेसम्म भौतिक प्रगति २२ प्रतिशत मात्र छ । निर्माण सम्पन्न गर्ने समय नजिकिँदै जाँदा प्रगति बढ्न सकेको छैन । ठेक्का सम्झौता भएको मितिले ४२ महिनाभित्र निर्माण सक्नु पर्ने छ । अब १८ महिना मात्र बाँकी छ ।

दुई वर्षमा सुरुङ मार्गको भौतिक प्रगति २२ प्रतिशत, अब १८ महिनामा सक्नुपर्ने 

यो समयभित्र सुरुङ निर्माणको काम सकिने दाबी आयोजनाको छ । मुआब्जाको विषय नटुङ्गिदै ठेक्का भएपछि निर्माणको काम लामो समय अघि बढ्न सकेको थिएन । अहिले भने काममा कुनै समस्या नभएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले बताए ।

‘अहिलेसम्म प्रगति राम्रै हुने थियो, पहिलो चरणको कोभिडमा काम प्रभावित बन्न पुग्यो,’ निर्देशक शाक्यले भने, ‘अहिले निर्माणमा समस्या छैन, काम धमाधम भइरहेको छ ।’ उनकाअनुसार निर्माणको जिम्मा लिएको जापानिज कम्पनी हाज्मा एन्डोले तोकिएकै समयभित्र सक्ने जनाएको छ । दोस्रो लहरको कोभिडमा भने निर्माणको काम रोकिएन । निर्माणस्थलमै आइसोलेसन वार्ड बनाएर काम जारी राखिएको थियो । जसले गर्दा प्रगति बढेको आयोजनाको दाबी छ । सुरुङ निर्माणमा मात्र ३२ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ ।

पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले २०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरेका थिए । धादिङ र काठमाडौं दुवैतर्फ सुरुङ खन्ने काम जारी छ । कुल सुरुङको दूरी २.६८ किमिमध्ये अहिलेसम्म १.७६ किमि खनिसकिएको आयोजनाले जनाएको छ । सँगसँगै ओभर पास, अन्डर पास, पानी आपूर्तिको काम, एप्रोच सडक निर्माण भइरहेको छ । निर्माण ठेक्का साढे २२ अर्ब रुपैयाँ रहेकोमा जापानको साढे १६ अर्ब ऋण सहयोग र ६ अर्ब नेपाल सरकारको रहेको छ । अहिले नागढुंगादेखि सिस्नेखोलासम्म सडकको दूरी साढे ८ किलोमिटर छ ।


प्रकाशित : कार्तिक ८, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?