विद्युत प्राधिकरणले पायो ४९० मेगावाटको अरुण-४ को लाइसेन्स - अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत प्राधिकरणले पायो ४९० मेगावाटको अरुण-४ को लाइसेन्स 

‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत अगाडि बढाइने
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले ४९०.२ मेगावाटको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सर्भेक्षण अनुमतिपत्र पाएको छ ।  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको लाइसेन्स प्राधिकरणलाई दिने निर्णय गरेको हो ।

विद्युत विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ । प्राधिकरणले आयोजनाको लाइसेन्सका लागि विद्युत विभागमा गत २९ भदौमा आवेदन दिएको थियो । प्राधिकरणले आयोजनाको लाइसेन्स सोमबार प्राप्त गरेको छ । प्राधिकरणले निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको विद्युतगृहभन्दा तल्लो भागमा अरुण–४ पर्दछ । अरुण–४को लाइसेन्स पाएसागै अरुण नदीमा प्राधिकरणले १ हजार ५ सय ५१ मेगावाटका दुई वटा आयोजनाहरु एकसाथ अगाडि बढाउने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण र अरुण–४ गरी १ हजार ५ सय ५१ मेगावाटको आयोजनाको निर्माण ‘जनताको जलविद्युत कायक्रम’अन्तर्गत अगाडि बढाइने बताए । ‘अरुण–४को लाइसेन्स पाउनु प्राधिकरणका लागि ज्यादै खुसीको कुरा हो, माथिल्लो अरुण र अरुण–४ आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण तथा लगानी मोडालिटी एक/डेढ वर्षभित्रमा टुङ्ग्याएर अगाडि बढाउँछौं’, घिसिङले भने ‘आयोजनाबाट प्राप्त हुने लाभ आम नागरिकलाई पनि उपलब्ध गराउन सर्वसाधारणले पनि सेयर खरिद गरी आयोजनामा लगानी गर्न पाउने व्यवस्था गरिने छ ।’

विभागले अरुण–४लाई नदीको वहावमा आधारित आयोजनाको रुपमा पहिचान गरेको थियो । तर, माथिल्लो अरुण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरुण–४लाई पनि अर्धजलाशययुक्त बनाउन लागिएको हो ।

अरुण–४को बााधस्थल भोटखोला गाउँपालिका–४ र ५स्थित अरुण नदी र लेक्सेवा दोभानभन्दा करिब १ सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्दछ । बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)मा लगिने छ । डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका–३स्थित सजुवाबेसीमा भूमिगत विद्युतगृहमार्फत उत्पादन गरिने छ ।

विद्युतगृहबाट विद्युत उत्पादन गरी ४७३.४ मिटर टेलरेस सुरुङमार्फत पानीलाई पुन: अरुण नदीमा खसालिने छ । आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ ।

संखुवासभाको सदरमुकाम खादबारीबाट आयोजनाको विद्युतगृह र बाँध क्षेत्र क्रमश : करिब ६२ र ७७ किलोमिटर टाढा रहेका छन् । कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ । बाँध क्षेत्र कोसी राजमार्गमा नै पर्दछ । विद्युतगृह क्षेत्र पुग्ने करिब २ किलोमटर ग्रामिण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ ।

विभागले गरेको अध्ययनअनुसार, आयोजनाको अनुमानित लागत ५५ करोड अमेरिकी डलर (करिब ६५ अर्ब रुपैयाँ) छ । आयोजनाबाट वार्षिक २ अर्ब ९ करोड युनिट ऊर्जा उत्पादन हुने छ ।



प्रकाशित : कार्तिक ८, २०७८ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्

नेसनल अवार्डमा उत्कृष्ट कंगना र मनोज, 'छिछोरे'ले अवार्ड पाउँदा सुशान्तको सम्झना 

कान्तिपुर संवाददाता

काठमाडौँ — ६७ औं नेसनल फिल्म अवार्डमा अभिनेत्री कंगना रनावतले 'मनिकर्णिका' र 'पंगा'बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् । 'भोसले'बाट मनोज बाजपायी र धनुषले 'असुरन'बाट उत्कृष्ट अभिनेताको अवार्ड पाए ।

कंगनाले नेसनल अवार्ड चौथो पटक पाएकी हुन् । यसअघि उनले 'फेसन', 'क्वीन', 'तन्नु वेड्स मन्नु रिटर्न्स'बाट यो अवार्ड पाइसकेकी थिइन् ।

दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको फिल्म 'छिछोरे'ले उत्कृष्ट फिल्मको अवार्ड पायो । निर्देशक नितेश तिवारीले कार्यक्रममा सुशान्तको अभाव खड्किएको बताए । 'यो अवार्ड सुशान्तलाई समर्पित गर्न चाहन्छु । सुशान्त हाम्रो फिल्मको प्रमुख व्यक्ति थियो ।,' रेड कार्पेटमा हिँड्दै गर्दा भारतीय मिडियालाई नितेशले भनेका थिए । फिल्मलाई साजिद नाडियावले निर्माण गरेका थिए ।

कार्यक्रममा अभिनेता रजनीकान्तलाई फिल्म क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै 'दादासाहेब फाल्के अवार्ड'बाट सम्मान गरियो । भारतको प्रतिष्ठित अवार्डमध्यको यो अवार्ड कार्यक्रम पनि महामारीकै कारण पछाडि सरेको थियो ।


प्रकाशित : कार्तिक ८, २०७८ १५:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×