१२ महिनामा आठ वाणिज्य बैंक कारबाहीमा परे

कान्तिपुर संवाददाता

काठमाडौँ — गत आर्थिक वर्षमा राष्ट्र बैंकको नियम पालना नगर्ने ८ वणिज्य बैंक कारबाहीमा परेका छन् । ती बैंकहरुलाई राष्ट्र बैंकले नगद जरिवाना तथा सचेत गराएर कारबाही गरेको हो । 

१२ महिनामा आठ वाणिज्य बैंक कारबाहीमा परे

गत आर्थिक वर्षको पहिलो त्रैमासमा सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले लक्ष्मी बैंकलाई २० लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धमा नियम पालना नगरेको राष्ट्र बैंकको भनाइ छ ।

यस्तै, दोस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आइएमई र राष्ट्रिय बाणिज्य बैंक कारबाहीमा परेका छन् । तीमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंक दुई पटक कारबाहीमा परेको छ । प्राथमिकता प्राप्त क्षेत्रमा निर्देशित कर्जा प्रवाह नगरेको र अन्य गरी दुई विषयमा सो बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । प्राथमिकता प्राप्त क्षेत्रमा निर्देशित कर्जा प्रवाह नगरेबापत स्ट्याण्डर्डलाई ५७ लाख ८४ हजार रुपैयाँ जरिवाना गरिएको छ । अन्य विषयमा बैंकलाई सचेत मात्र गराइएको छ । सोही त्रैमासमा अन्य शिर्षकमा ग्लोबल आइएमई र राष्ट्रिय बाणिज्य बैंक पनि कारवाहीमा परेका हुन् । ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट्र बैंकले सिभिल बैंकलाई २ पटक र प्रभु बैंकलाई एक पटक कारबाही गरेको छ । जसमा सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन पालना नगरेको विषयमा १० लाख रुपैयाँ जरिवाना गरिएको छ । ऋणीसँग अप्रत्यक्ष रुपमा कारोबार गरेको पाइएकाले संस्थागत सुशासन उल्लंघन गरेको भन्दै सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई आदेश दिइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, प्रभु मनी ट्रान्सफर र प्रभु बैंकबीच रेमिट्यान्सको अनौपचारिक कारोबार भएको पाइएकाले बैंकका तत्कालीन अध्यक्ष देबीप्रकाश भट्टचन, सञ्चालक द्वय शंकर कालिकोटा र रमेश सिंह खड्का, तत्कालीन सञ्चालक त्रय अम्बिका प्रसाद लामिछाने, पुष्पबहादुर प्रधान र दक्ष पौडेलसहित हालका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । प्रभु मनी ट्रान्सफरले रेमिट्यान्सस्वरुप देश बाहिर संकलन गरेको विदेशी मुद्रा नेपाल नल्याएर उतै राखेको र प्रभु बैंकबाट कर्जा लिएर रेमिट्यान्स भुक्तानी गरेको पाइएको जनाउँदै राष्ट्र बैंकले कारबाही गरेको हो ।

चौथो त्रैमासमा हिमालयन बैंक दुई पटक तथा प्रभु बैंक र नेपाल बंगलादेश बैंक एक-एक पटक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । ती बैंकले तोकिएको अनिवार्य नगद मौज्दात (सीआरआर) पालना नगरेको विषयमा राष्ट्र बैंकले नगद जरिवाना गरेको हो । जसअनुसार हिमालयन बैंकलाई दुई पटक गरी करिब ३० हजार, बंगलादेश बैंकलाई ३० हजार र प्रभु बैंकलाई करिब ३५ हजार रुपैयाँ जरिवाना गरेको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रकाशित : कार्तिक ८, २०७८ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?