२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

झरीले मास्यो मार्सीधान, बीउ जोगाउन मुस्किल

एलपी देवकोटा

(जुम्ला) — विश्वकै अग्लो स्थानमा उत्पादन हुने जुम्ली मार्सी धान किसानले घर भित्र्याउने बेलामा झरी परेपछि सबै धान बाढीले बगाएको छ । बाढीका कारण जुम्लाको तिला र तातोपानी गाउँपालिका केही जमिन बगरमा परिणत भएको छ भने किसानलाई मासीको बीउ जोगाउन मुस्किल भएको छ ।

झरीले मास्यो मार्सीधान, बीउ जोगाउन मुस्किल

जुम्लामा यो वर्ष २ हजार ९ सय हेक्टरमा खेती गरिएकोमा झण्डै २ हजार हेक्टरमा उत्पादन भएको धानमा क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ । तिला र तातोपानीमा मात्रै १८ हेक्टर जमिन ढुवानमा परेको जिल्ला कृषि विकास प्रमुख वालकराम देवकोटाले बताए । ‘जिल्लाभरि नै उत्पादन भएको मार्सीधान डुवानमा परेको छ,’ उनले भने, ‘झरी अझै नरोकिएकाले यो वर्ष बीउ जोगाउन पनि मुस्किल हुने देखियो ।’ उनले मार्सी धानमा मात्रै करिब ७ करोड रुपैयाँको क्षति पुगेको अनुमान गरे । गत वर्ष जिल्लाबाट ६ करोड रुपैयाँको मार्सीधान बाहिर गएको कार्यालयको तथ्यांक छ ।

जुम्लाका अधिकाशं किसानले दसैंको टिकाको भोलि पल्टदेखि नै धान काटेका थिए । धान जति सबै पानीले भिजाएर काम नलाग्ने भएको खलंगाकी किसान माया अधिकारीले बताइन् । ‘दसैंको भोलिपल्टै सबै धान काटिसकेका थियौं, तर त्यही राति परेको पानीले सबै धान डुबायो,’ उनले भनिन्, ‘अब बीउ पनि पाउन मुस्किल हुने देखियो ।’

पानीले भिजाएर नष्ट गरेको धानको चामल पनि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको कृषि कार्यालयले जनाएको छ । कार्यालयका अनुसार धानको पराल पनि गाईबस्तुलाई खुवाउन नमिल्ने अवस्थामा छ । ‘बचेको धानको बीउ पनि अब प्रयोग गर्न मिल्दैन,’ कार्यालय प्रमुख देवकोटाले भने, ‘सरकाले भर्खरै ब्रान्डिङ गरेको मार्सीधान नै संकटमा पर्‍यो ।’

बेमौसमको वर्षाले धानमा ठूलो क्षति पुर्‍याएकाले क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले बताए । ‘सरकारले किसानका लागि प्याकेजमा राहतका कार्यक्रम ल्याउन जरुरी छ,’ उनले भने, ‘कर्णालीको पहिचान मार्सीधान नै संकटमा पर्‍यो, बीउ नै नरहे कसरी अर्को वर्ष मार्सी उत्पादन हुन्छ ?’ उनका अनुसार चन्दननाथ बाबाले जुम्लाको लाछु जिउलोमा पहिलो पटक मार्सी धान रोपेर परीक्षण गरेका थिए । लाछु जिउलोमा समेत तिला नदी पसेपछि जिउलो नै बगरमा परिणत भएको छ ।

प्रकाशित : कार्तिक ८, २०७८ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?