कोइला अभावको असर नेपालको निर्माण क्षेत्रमा : इँटा र सिमेन्टको उत्पादन लागत बढ्ने

सिमेन्ट उत्पादनका लागि प्रयोग हुने दक्षिण अफ्रिकाको कोइला अभाव हुन थाल्यो
हेमन्त जोशी

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा देखिएको कोइला अभाव समस्याबाट नेपालमा निर्माण क्षेत्र पनि प्रभावित हुने देखिएको छ । कोइलाको प्रयोग हुने सिमेन्ट र इँटा उद्योगमा यसको प्रभाव देखिन थालिसकेको उद्योगी–व्यवसायीहरुले बताएका छन् । नेपालमा धातु तथा गरगहना बनाउन पनि कोइला प्रयोग हुने गरेको छ । तर त्यो निकै सानो बजार मात्र हो ।

कोइला अभावको असर नेपालको निर्माण क्षेत्रमा : इँटा र सिमेन्टको उत्पादन लागत बढ्ने

गत वर्षको यही समयको तुलनामा अहिले कोइलाको मूल्य ५ गुणासम्म बढेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । अहिले खरिदका लागि अभाव नदेखिए पनि मूल्यमा ठूलो वृद्धि देखिएको उनको भनाइ छ । ‘गत वर्ष अक्टोबरमा कोलकाता बन्दरगाहबाट प्रतिटन औसत ५५ डलरमा ल्याएका थियौं । तर अहिले २ सय ६० डलरसम्म पुगेको छ,’ थापाले भने, ‘अहिले सिमेन्ट उद्योगसँग करिब १ महिनाका लागि मौज्दात छ । थप दुई महिना धान्ने कोइला आयातको क्रममा छ ।’

नेपालले भारत, चीन, इन्डोनेसिया, अमेरिका, दक्षिण अफ्रिका, अस्ट्रेलियालगायत मुलुकबाट कोइला आयात गर्ने गरेको छ । सिमेन्ट उत्पादनका लागि दक्षिण अफ्रिकाको कोइला बढी प्रयोग हुने गरेकोमा त्यहाँबाट आपूर्ति रोकिएको थापाले बताए । नेपालका सबै सिमेन्ट उद्योगले सिंगापुरको व्यापारिक कम्पनीमार्फत कोइला खरिद गर्छन् । सिमेन्ट उद्योगमा मात्रै वार्षिक १४ लाख टन कोइला खपत हुने गरेको संघको तथ्यांक छ ।

सिमेन्ट उत्पादनका लागि कच्चा पदार्थका रुपमा प्रयोग हुने चुनढुंगाबाट क्लिंकर बनाउन कोइलाको प्रयोग हुन्छ । यसको विकल्पमा विद्युत्को प्रयोग सम्भव नरहेको पनि संघका अध्यक्ष थापाले बताए । अहिले ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७ सयदेखि ८ सय ५० रुपैयाँ र पीपीसी सिमेन्टको ५ सय ९० देखि ७ सय ५० रुपैयाँसम्म छ । कोइलाको मूल्य बढ्दा सिमेन्टको उत्पादन लागत बढ्ने र त्यसले समग्र निर्माण क्षेत्रलाई प्रभावित तुल्याउने आकलन छ ।

नेपालमा कोइलाको प्रयोग इँटा उद्योगमा पनि हुने गरेको छ । अहिले इँटा उत्पादन सुरु भइनसकेकाले कोइला अभाव र मूल्यवृद्धिको असर यस क्षेत्रमा देखिन बाँकी रहेको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र चित्रकारले बताए । ‘तिहारपछि मात्र कोइला खरिद सुरु हुन्छ । अहिले सबैतिर अभाव छ भन्ने सुनिएको छ । तर खरिद सुरु नभइसकेकाले वास्तविक अवस्थाको आकलन गर्न गाह्रो छ,’ चित्रकारले भने, ‘केही उद्योगले अहिल्यै पनि ल्याउन थालेका छन् । तर उद्योगहरु आफैंले विदेशबाट खरिद गरेर ल्याउनेभन्दा पनि आयातकर्ता (इम्पोर्टर) मार्फत किन्ने गरेका छन् ।’

कोइला अभावबाट सिर्जित समस्या अहिल्यै बजारमा नदेखिए पनि केही समयपछि त्यो देखिने उनको भनाइ छ । अहिले देशभर १ हजारभन्दा बढी इँटा उद्योग छन् । प्रतिगोटा औसत ८ देखि १२ रुपैयाँमा बिक्री भइरहेको इँटाको मूल्यमा कोइला संकटका कारण लागत बढ्ने अनुमान गरिएको छ ।

कोइला आयातमा निजी क्षेत्र असफल भएमा सरकारी तवरले पहल गर्नेबारे पनि छलफल भइरहेको चित्रकारको भनाइ छ । ‘अन्तर्राष्ट्रिय बजारमै अभाव छ । हामीले कोइला खरिदमा निजी क्षेत्र असफल हुन सक्ने पनि अनुमान गरेका छौं । त्यसकारण सरकारी निकायसँग पनि सहयोगका लागि छलफलको तयारी छ,’ उनले भने । यसअघि सरकारी लगानीको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि कोइला आयात गर्ने गरेको थियो । तर अहिले ल्याउन बन्द गरेको कर्पोरेसनका बजार प्रबन्धक ब्रजेश झाले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिना अवधिमा करिब ५ करोड रुपैयाँ बराबरको मात्रै कोइला आयात भएको भन्सार विभागको तथ्याङ्क छ । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले २७ अर्ब २५ करोड १३ लाख रुपैयाँ बराबरको कोइला आयात गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा यस्तो आयात २७ अर्ब २५ करोड १३ लाख रुपैयाँ बराबर रहेको देखिन्छ । यसरी नेपालमा वार्षिक २५ देखि ३० अर्ब रुपैयाँ बराबरको कोइला आयात भइरहेको छ । तर अहिले अन्तर्राष्ट्रिय बजारमा देखिएको अभाव र मूल्यवृद्धिले नेपालमा पनि प्रत्यक्ष असर पर्ने देखिन्छ ।


प्रकाशित : कार्तिक ८, २०७८ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?