१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

वर्षाले सडक–पुलमा मात्र साढे तीन अर्बको क्षति

विमल खतिवडा

काठमाडौँ — बर्खा सुरु भएयता सडक र पुलमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । यो प्रारम्भिक क्षति अनुमान हो । सबैभन्दा बढी सडकमा क्षति भएको सडक विभागको आकलन छ । कात्तिकमा परेको बेमौसमी वर्षाका कारण मात्र १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यसअघि बर्खाले २ अर्ब ३५ करोड रुपैयाँको क्षति भएको विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।

वर्षाले सडक–पुलमा मात्र साढे तीन अर्बको क्षति

‘बझाङ र मनाङमा सडक अझै सुरु हुन सकेको छैन,’ महानिर्देशक थापाले भने, ‘बेमौसमी बर्खाले अन्य सडकका विभिन्न खण्डमा पनि अझै समस्या निम्त्याएको छ ।’ मध्यपहाडी र कोसी राजमार्गका विभिन्न खण्डमा पहिरो गएको छ । १८ वटा राजमार्गका २४४ स्थानमा पहिरो खसेको विभागको तथ्यांक छ । यसमध्ये ६ ठाउँमा अझै सडक अवरुद्ध छ । १३९ स्थानमा एकतर्फी र ९९ स्थानमा मात्र दुईतर्फी सडक सञ्चालनमा छ । मनाङ जोड्ने डुम्रे–बेंसीसहर–चामे सडकअन्तर्गत निगालाघारीमा पहिरो खस्दा कात्तिक २ देखि बाटो अवरुद्ध छ ।

बर्खापछि अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालन हुन नपाउँदै कात्तिक पहिलो साता भएको बेमौसमी वर्षाले सडक र पुलमा क्षति पुर्‍याएको हो । यसले देशभर करिब १० किमि सडक बगाएको विभागको प्रारम्भिक अनुमान छ । २५ वटा पुलमा क्षति भएको छ । यसमध्ये १५ वटा निर्माण सम्पन्न भई हस्तान्तरण भएका र १० वटा पुल निर्माणाधीन हुन् । ‘निर्माणाधीन पुलको क्षति जोडिएको छैन, बाढीले क्षति गरेको भए पनि उक्त पुल निर्माण व्यवसायी आफैंले बनाउनुपर्छ,’ थापाले भने, ‘पुलको बिमा गरिएको हुनाले निर्माण व्यवसायीलाई समस्या भने हुनेछैन ।’

क्षति भएका १५ मध्ये ५ वटा काठे पुल छन् । ती पुल बनाउन धेरै बजेट नलाग्ने महानिर्देशक थापाको भनाइ छ । ‘क्षति त सानाठूला सबै पुलमा भएको छ,’ उनले भने, ‘जति क्षति भएको छ, त्यसलाई पुनःस्थापित गर्दै लैजान्छौं ।’ सडकतर्फ मध्यपहाडी र कोसी राजमार्गमा बढी क्षति छ । मनाङ र बझाङमा गरी एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको उनले बताए । ‘मध्यपहाडी राजमार्गमा ‘क्रोनिक’ पहिरो तीन वटा छन्, यो सडकको दिगो समाधानका लागि अनुसन्धान गर्नुपर्नेछ ।’

‘बर्खा सकिएर निर्माणका काम सुरु हुंदै गर्दा अचानक भएको वर्षाले नसोचेको क्षति पुर्‍याएको छ,’ उनले भने, ‘अहिले प्रारम्भिक विवरण मात्र आएको हो, यो क्षतिको तथ्यांक तलमाथि हुन सक्छ ।’ बर्खामा जस्तो अहिलेको पानीले पुलमा ठूलो क्षति नगरेको थापाले जानकारी दिए । तर पुलसम्म पुग्ने पहुँच सडक बगाउँदा आउजाउ बन्द भएको उनको भनाइ छ । संसद्को विकास तथा प्रविधि समितिले आइतबार बाढीपहिरो तथा डुबानका कारण क्षतिग्रस्त सडक पूर्वाधार र मध्यपहाडी राजमार्गबारे छलफल गरेको थियो । समितिले बन्द सडक सञ्चालन गर्न विभागलाई निर्देशनसमेत दिएको छ ।

प्रकाशित : कार्तिक ८, २०७८ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?