कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

महँगोमा खाद्यान्न ढुवानी ठेक्का बदर गर्न सार्वजनिक खरिद पुनरावलोकन समितिको फैसला 

पुन: मूल्याङ्कन गरेर प्रक्रिया अघि बढाउन निर्देशन
राजु चौधरी

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लामा खाद्यान्न ढुवानी गर्न सस्तो दरमा टेन्डर हाल्नेलाई पन्छाई महँगोमा ठेक्का लगाउन खोजेपछि सार्वजनिक खरिद पुनरावलोकन समितिले अनाधिकृत ठहर गर्देै बदर गरिदिएको छ । समितिले हुम्लामा खाद्य ढुवानी प्रक्रिया पुन: मूल्याङ्कन गरेर अघि बढाउन समेत आदेश दिएको छ ।

महँगोमा खाद्यान्न ढुवानी ठेक्का बदर गर्न सार्वजनिक खरिद पुनरावलोकन समितिको फैसला 

खाद्य कम्पनीले प्रचलित कानुनविपरित बढी रकम कवोल गर्नेको बोलपत्र छनोट गर्ने आशयको सूचना प्रकाशित गरेको भन्दै समिट एयरको तर्फबाट मनोज कार्कीले सार्वजनिक खरिद अनुगमन कार्यालयलमा निवेदन दर्ता गराएका थिए । समितिका अध्यक्ष भीम कुमार ओझा र सदस्य महेन्द्रबहादुर गुरुङको इजलासले कात्तिक ४ गते पुन: मूल्याङ्कन गर्न आदेश आदेश दिएको हो ।

‘बोलपत्रको प्रक्रियामा हवाई सेवा र एयर कार्गो सेवाको प्रतिस्पर्धामा एयर कार्गो सेवाको पक्ष लिएको भनी हवाई सेवाले गुनासो गरेको देखियो । विशेषगरी १२ करोड बराबरको हवाई ढुवानी गरेको अनुभवको आंकलन र मूल्याङकनको लागि प्रतिबन्धात्मक शर्त थपिएको गुनासो देखियो । नयाँ कार्यविधिमा थप गरिएका केही प्रावधान जस्तै कस्तो सेवालाई अनुभवमा गणना गर्ने, कस्तोलाई नगर्ने भन्नेमा स्वार्थ बाझिएको महसुस भएको छ,’ समितिले गरेको निर्णयमा भनिएको छ, ‘बोलपत्रमा मूल्याङकनको दौरानमा यसरी नयाँ शर्त थप गरिदिँदा सार्वजनिक निकायबाटै अस्वस्थ वातावरणलाई प्रश्रय दिने प्रयत्न भएको देखियो । यस प्रावधानबाट एयर कार्गोले गरेको काम पुुरा अंक पाइने तर हवाई सेवाले गरेका कमहरुको लागि भने अंकमा प्रतिबन्धात्मक शर्त लागू हुन गई प्रतिस्पर्धाको दायरा बढ्नुको साटो संकुचित हुन गएको देखियो । यस्तो गर्नु अनुचित हुन्छ ।’

समितिले प्रमुख कार्यकारी अधिकृतको भूमिकामा पनि प्रश्न उठाएको छ । हाल खाद्य कम्पनीका कार्यकारी अधिकृत मोहन प्रकाश चन्द छन् । उनले अध्ययन बिनै कार्यविधि स्वीकृत गरेको समितिले जनाएको छ ।

‘कानुनी आधार स्पष्ट खुलाई तयार गर्नुपर्ने र सो कार्यविधि सार्वजनिक खरिद अनुगमन कार्यालयको सहमति लिई स्वीकृत गर्नु, गराउनु पर्नेमा करिब बोलपत्र दर्ता गर्ने चरणमा आइपुग्दा भदौ ९ गते संक्षिप्त निर्देशन तथा कार्यविधि २०७८ स्वीकृतिका लागि फाइल उठेको देखिन्छ । सोही दिन प्रमुख कार्यकारी अधिकृतबाट पर्याप्त अध्ययनको व्यवस्थाबिना नै स्वीकृत गरेको नमिलेको देखिन्छ,’ समितिको निर्णयमा भनिएको छ, ‘यसको आधारमा बोलपत्र मूल्याङकन समितिबाट असोज १ गते गरिएको सिफारिस र सार्वजनिक खरिद ऐन २०६३ को दफा (५०) को उपदफा( ५) को खण्ड (ख)(२) बमोजिम अनधिकृत ठहर गरी बदर गरिदिएको छ । कार्यविधि स्वीकृत हुनुअघिको अवस्थाको मूल्याङ्कनको आधारमा प्रतिस्पर्धालाई संकुचन हुन नदिन पुन: मूल्याङकन गरी नियमानुसार खरिद प्रक्रिया अघि बढााउनू ।’

हाल खाद्य कम्पनीले दुर्गममा हरेक वर्ष सरदर १ लाख ६६ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्दै आएको छ । खाद्य ढुवानी गर्न ४६ करोड रुपैयाँ छुट्याइएको छ । यो वर्ष हुम्लामा नेपालगन्जबाट ४ हजार र सुर्खेतबाट ६ हजार गरी १० हजार क्विन्टल खाद्यान्न ढुवानी गर्न बोलपत्र आह्वान गरिएको थियो । प्रतिस्पर्धामा आएकामध्ये किलोमै ४२ रुपैयाँ बढी प्रस्ताव गर्ने कम्पनी श्रीर्मिका एयर कार्गोलाई ठेक्का दिने आशयको सूचना खाद्य कम्पनीले गत असोज ५ मा प्रकाशित गरेको थियो । त्यसको विरोध गर्दै वायु सेवा संचालक संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र कार्यालयमा उजुरी दर्ता गराएको थियो । खाद्यका कर्मचारीको मिलोमतोमा बढी कबोल गर्नेलाई ठेक्का दिने आशयको सूचना प्रकाशित गरेको भन्दै संघका महासचिव समेत रहेका कार्कीले उजुरी दर्ता गरेका थिए । ‘खाद्यको निर्णय पूर्वाग्रही थियो । कार्यविधि पनि नियमसंगत थिएन,’ कार्कीले भने, ‘समितिले यसअघिको निर्णय बदर गरी टेण्डर प्रक्रिया पुन: मूल्याङकन गर्न आदेश दिएको छ ।’

श्रीर्मिकाले नेपालगन्जबाट हुम्ला सदरमुकाम सिमकोट ढुवानीका लागि भ्याटबाहेक प्रतिकिलो १ सय १२ रुपैयाँ कबोल गरेको छ । सुर्खेतबाट सिमकोटसम्मको भने १ सय ५ रुपैयाँ कबोल गरेको छ । तर श्रीर्मिकाभन्दा सस्तो दरमा कबोल गर्ने सीता एयर, समिट एयर र तारा एयरलाई ढुवानी योग्यता नपुगेको भन्दै खाद्य कम्पनीले उनीहरूको प्रस्ताव अस्वीकार गरेको थियो ।

सीता एयरले सुर्खेत–सिमकोटका लागि प्रतिकिलो ६३ रुपैयाँ र नेपालगन्ज–सिमकोटका लागि प्रतिकिलो ७८ रुपैयाँ कबोल गरेको छ । त्यस्तै, समिट एयरले सुर्खेत–सिमकोटको प्रतिकिलो ९७ रुपैयाँ र नेपालगन्ज–सिमकोटको प्रतिकिलो ८९ रुपैयाँ भाडाको प्रस्ताव गरेको छ । अर्को कम्पनी, तारा एयरले सुर्खेतबाट प्रतिकिलो ७८.९० र नेपालगन्जबाट १ सय १० रुपैयाँमा सिमकोट ढुवानी गर्न सक्ने प्रस्ताव गरेको छ ।

खाद्यले आफूले गरेको निर्णयको बचाउका लागि श्रीर्मिका एयर कार्गोले निर्धारित सबै योग्यता पुरा गरेकाले बोलपत्रलाई स्वीकृतको लागि सिफारिस गरेको जनाएको छ । गत वर्ष श्रीर्मिका कम्पनीले शतप्रतिशत ढुवानी गरेकाले सिफारिस गरेको जवाफ पठाएको थियो ।

तर, सार्वजनिक खरिद पुनरावलोकन समितिका अनुसार खाद्य ढुवानी/कार्यविधिमा चार जना अधिकारीले दस्तखत गरेको कागजातमा मिति उल्लेख छैन । केही कागजातमा मिति उल्लेख गरिए पनि पदाधिकारीको दस्तखत छैन ।

सम्बन्धीत सामग्री–

चामल ढुवानी छानबिनमा

किलोमै ४२ रुपैयाँ महँगो कबोललाई १० हजार क्विन्टलको ठेक्का ?

दुर्गमको खाद्यान्न ढुवानीमा स्वार्थै स्वार्थ

‘खाद्यान्न ढुवानीमा बिचौलिया घुसाउने चलखेल’


प्रकाशित : कार्तिक ७, २०७८ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?