कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अनलाइन सेयर कारोबार गर्ने लगानीकर्ता झण्डै ११ लाख पुगे

दैनिक कारोबारमा ८० देखि ९० प्रतिशत अनलाइनमार्फत 
कान्तिपुर संवाददाता

काठमाडौँ — विद्युतीय प्रणाली (अनलाइन)मार्फत सेयर कारोबार गर्ने लगानीकर्ता संख्या झण्डै ११ लाख पुगेको छ । यो गत शुक्रबारसम्मको तथ्यांक हो । १० लाख ८१ हजार ९ सय ८ जनाले अनलाइनमार्फत सेयर कारोबार गरिरहेका छन् ।

अनलाइन सेयर कारोबार गर्ने लगानीकर्ता झण्डै ११ लाख पुगे

शुक्रबारसम्म ११ लाख ३२ हजार ३ सय ७४ जना लगानीकर्ता (व्यक्तिगत र संस्थागत)ले अनलाइन कारोबारका लागि ‘लगइन’ (युजर नेम र पासवर्ड) सुविधा लिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । ‘लगइन’ लिएकाको तुलनामा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या साढे ९५ प्रतिशत हो । गत असारसम्म दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता ८ लाख ७७ हजार थिए । २०७७ असारमा यस्तो संख्या २ लाख ४५ हजार थियो ।

दोस्रो बजारमा महिला सेयर लगानीकर्ताको संख्या ४ लाख नाघेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष सेयरको दोस्रो बजारमा करिब साढे २ लाख महिला लगानीकर्ता थपिएको नेप्सेले बताएको छ ।

आइबार (कात्तिक ७ गते) सम्म करिब ४५ लाख ४० हजार लगानीकर्ताले डिम्याट (अभौतिकीकरण) खाता खोलेका छन् । भदौ पहिलो सातासम्म यस्तो संख्या ४० लाख ८७ हजार थियो । उल्लेखित तथ्यांकका आधारमा गत भदौयता सेयर बजारमा ४ लाख ५३ हजार लगानीकर्ता थपिएको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा मात्र सेयर बजारमा २० लाख १३ हजार लगानीकर्ता थपिएका थिए । २०७७ असारमा डिम्याट खाता संख्या १७ लाख २३ हजार ६ सय मात्र थियो । पछिल्ला साता सेयर कारोबार घटे पनि प्राथमिक सेयर (आईपीओ)मा लगानी गर्ने लगानीकर्ता बढिरहेको डिम्याट खाता संख्या बढ्नुले पुष्टि हुन्छ ।

डिम्याट खाताको संख्याका आधारमा बजारको कुल लगानीकर्ता संख्या पत्ता लगाउन सकिन्छ । हाल (प्राथमिक र द्वितीय) बजारमा लगानी गर्न डिम्याट खाता अनिवार्य हुनुपर्छ ।

पहिलो र दोस्रो चरणको निधेषाज्ञाका कारण पछिल्ला दुई वर्षमा अर्थतन्त्रका धेरै क्षेत्र ठप्प रहे । नागरिक घरमै बस्नुपर्ने अवस्था आयो । सो समयमा सेयर बजार भने सञ्चालन भइरह्यो । कार्यालय जानु नपर्ने, लगानीकर्ताले आफू रहेकै स्थानबाट अनलाइनमार्फत कारोबार गर्न सक्नेलगायत कारण सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको नेपाल पुँजी बजारका जानकारहरु बताउँछन् ।


प्रकाशित : कार्तिक ७, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?